प्रदेश नं. ४ को नाम गण्डकी राख्दा जनमुक्तिद्वारा विरोध « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

प्रदेश नं. ४ को नाम गण्डकी राख्दा जनमुक्तिद्वारा विरोध


यलम्वर टाइम्स
२५ असार २०७५, सोमबार ०५:५६

[प्रेमध्वज गाहा कावासोती]

नवलपरासी । बहुसंख्यक जनताको मागलाई बेवास्ता गर्दै प्रदेश नम्बर चारको नाम गण्डकी प्रदेश राखिएको प्रति राष्ट्रिय जनमुक्ति पार्टी सुस्ता पूर्व नवलपरासीले विरोध जनाएको छ ।

आइतबार कावासोती स्थित जिल्ला प्रशासन कार्यालयको परिषरमा कालो झण्डा प्रदर्शन गरी पार्टीले बिरोध जनाएको हो ।

जिल्ला अध्यक्ष तिलबहादुर झेँडीले नेतृत्व गरेको बिरोध कार्यक्रममा, संघीय परिषद सदस्य नरबहादुर ठाडा मगर, जिल्ला उपाध्यक्ष तिलक थापा मगर, सचिव ओमबहादुर थापा मगर, संगठन सचिव शत्रुुघन थापा मगर, कोषाध्यक्ष बुद्धिबहादुर सारु मगर, जिल्ला सदस्य हेमबहादुर बाचे मगर लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै संघीय परिषद सदस्य नरबहादुर ठाडा मगरले सरकारले पञ्चायतकालीन हुकुमी शासन लाद्न खोजेको आरोप लगाए ।

ऐतिहासिकता तथा जातीय पहिचानका आधारमा प्रदेश नम्बर चारको नाम तमुवान मगराँत हुनुपर्नेमा बहुमतको दम्भ देखाउँदै प्रदेश सरकारले गण्डकी नाम राखेकोमा यसप्रति जनमुक्तिको आपत्ति रहेको संघीय सदस्य ठाडाले बताए ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमुक्ति पार्टी पूर्वी नवलपरासीका अध्यक्ष तिलबहादुर झेंडीले प्रदेश नम्बर चारका अधिकांश जनतालाई गण्डकी प्रदेश स्वीकार्य नभएको बताए ।

‘गण्डकी प्रदेश स्वीकार गर्दैनौँ, ऐतिहासिक र थातथलोका आधारमा प्रदेश चारको नाम तमुवान मगराँत हुनुपर्छ’ अध्यक्ष झेंडीले भने ।

उनले अधिकांश तमु र मगर समुदायको भावना माथि ठेस पु¥याउँदै गण्डकी प्रदेश घोषणा गर्ने काम प्रदेश सरकार आफैलाई प्रत्युत्पादक हुने चेतावनी समेत दिए ।

आदिवासी जनजातिको सघन बसोबास रहेको प्रदेशको नाम गण्डकी घोषणा भएको भन्दै उनले प्रदेश सरकारको निर्णय तुरुन्त फिर्ता लिन समेत आग्रह गरे ।

बिरोध कार्यक्रममा उपस्थित पार्टी कार्यकर्ता तथा नेताहरुले कालोझण्डा देखाउँदै हातमा कालो पट्टी समेत बाँधेका थिए ।

प्रदेश सरकारले गत शुक्रबार बहुमतको आधारमा गण्डकी प्रदेश घोषणा गरेको थियो ।