अर्जुनधारामा ५८ करोड ५८ लाख ८१ हजारको बजेट विनियोजन हुँदै « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

अर्जुनधारामा ५८ करोड ५८ लाख ८१ हजारको बजेट विनियोजन हुँदै


यलम्वर टाइम्स
४ श्रावण २०७५, शुक्रबार ०३:५१

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले दोश्रो नगर सभामा आर्थिक वर्ष २०७५।०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ५८ करोड ५८ लाख ८१ हजारको बजेट सार्वजनिक गर्न लागेको छ ।

नीति तथा कार्यक्रम समितिका संयोजक तथा नगर उपप्रमुख कमला खतिवडाको नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकास निति, खानेपानी तथा सरसफाई नीति, विपद् व्यवस्थापन तथा राहत सम्बन्धि नीति, विद्युत तथा वैकल्पिक उर्जा सम्बन्धि नीति, सामाजिक विकास नीति, स्वास्थ्य नीति, वन तथा वातावरण नीति, कृषि तथा पशु विकास सम्बन्धी नीति, उद्योग, वाणिज्य एवम् बजार व्यवस्थापन नीति, पर्यटन विकास नीति, लौङ्गिक समावेशीकरण, युवा तथा खेलकुद सम्बन्धि नीति, राजश्व र वित्तिय सम्बन्धी नीति, सुशासन सम्बन्धी नीति नगर सभामा प्रस्तुत गरेकी छन् ।

आगामी आर्थिक वर्षका लागि कुल आन्तरिक आय २ करोड ५० लाखसहित जोड्दै ५८ करोड ५८ लाख ८१ हजार विभिन्न शिर्षकमा विनियोजन गरेको उप–प्रमुख कमला खतिवडाले बताइन् ।

अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा भएको नगर सभामा आर्थिक विधेक र विनियोजन विधेक २०७५ सर्वसम्मत स्विकृत गरी सभाले विशेष निर्णहरु समेत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत खतिवडाले बताए ।

प्रस्तुत नीति तथा कार्यक्रम नगर प्रमुख रानाले प्रमाणिकरण गरेपछि कार्यान्वयनमा आउने व्यवस्था रहेको खतिवडाले जानकारी दिए । प्रमुख रानाले प्रमाणिकरण गरेपछि त्यसको सात दिनमा बजेटका शिर्षकहरु सार्वजनिक गरिने बताएका छन् ।

सुत्रका अनुसार बजेट साउन १५ भित्र सार्वजनिक गरिने भएको जनाइएको छ । बजेटभित्र वडा नं. ८ कृषि पकेट क्षेत्र, वडा नं. २ पशु पकेट क्षेत्र र वडा नं. ५ शैक्षिक पकेट क्षेत्रको रुपमा ल्याउन लागिएको जनाइएको छ । यसपाली सार्वजनिक हुन लागेको बजेट नगरपालिकाले भन्दा पनि वडालाई बढी बजेट तर्जुमा गरिएको छ ।

बजेट विकास मैत्री, शिक्षा मैत्री, महिला मैत्री त्यतिमात्र होइन समग्र नगर मैत्री रहेको उल्लेख छ । प्रत्येक वडालाई एक करोड ११ लाख ५० हजारको बजेट छुट्टिएको छ ।

सुत्रका अनुसार नगरपालिकालाई समृद्धि बनाउन आधुनिक मकै चिउरा मिल उद्योग समेत तयार पारेर जाने, भव्य प्रवेश गेट निर्माण गर्ने, ५० किलोमिटरको नगर रिङरोड, ११ किलोमिटरको मिनी नगर रिङरोड निर्माण गरेर जाने भएको छ भने शनिश्चरे बजारलाई व्यवस्थित र उज्यालो बनाउन नगरको बजेट उल्लेख भएको जनाएको छ ।

बजेटले मानव संसाधन, संस्थागत विकाससँगै स्वास्थ्य, पशु र विषादीमुक्त नगर निर्माणका लागि समेत जोड दिएको छ ।