मुलुक तेस्रो जनआन्दोलनतर्फ: आदिवासी नेता लेखी « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

मुलुक तेस्रो जनआन्दोलनतर्फ: आदिवासी नेता लेखी


यलम्वर टाइम्स
१७ भाद्र २०७५, आईतवार १०:५०

अर्जुनधारा । आदिवासी नेता राजकुमार लेखीले मुलुक अब तेस्रो जनआन्दोलनतर्फ मोडिन लागेको बताएका छन् ।

थारु कल्याणकारी सभा झापाको ११ औं अधिवेशनलाई सम्बोधन गर्दै आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका लेखीले संघीय लोकतान्त्रिक गणतन्त्रमा आदिवासी जनजातिका अधिकार कुण्ठित भएको हुँदा त्यसको विरुद्धमा तेस्रो जनआन्दोलन उठ्न लागेको बताएका छन् ।

उनले पटक–पटक स्वतन्त्रता र अधिकारका लागि यहाँका आदिवासी जनजातिले ज्यानको आहुति दिए तर, नश्लवादी चिन्तन बोकेकाले अधिकार कटौती गरी आदिवासी आन्दोलनलाई तुहाउने खेल रचेको हुँदा तेस्रो जनआन्दोलनको विकल्प बाहेक अर्को बाटो नभएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लेखीले तीन वटै तहको संरचनामा आदिवासीका अधिकार निर्माणमा बन्देज लगाएको, स्थानीय तहबाट प्रदान गरिँदै आएको अर्थ समेत केन्द्रीय नीतिभन्दै रोक लगाएको हुँदा यो सरकारसँग के आशा गर्ने ? अब सबै अधिकार बिहिन हुन पुगेका जातिहरु अधिकारका लागि लड्नुपर्ने दिन आएको जोड दिए ।

उनले अगाडि भने आदिवासी जनजातिले त अधिकारका लागि लडेका हुन् ता कि नश्लवादीहरुलाई सत्तामा पुर्याएर मोजमस्ती गर्न भने होइन ।

हामीले पहिला नै भन्यौ र भन्दै पनि आएका छौं जातीय जनसंख्याको आधार, हरेक तहमा पूर्ण समानुपातिक एकमात्र विकल्प हो । त्यतिमात्र होइन संघीयतामा सरकार गएकै हो भने केन्द्रले संघीय अधिकार खोस्ने रणनीतिमा नजाओस् ।

तर, नश्लवादी सरकार संघीयता असफल हुने भयो भन्दै कुण्ठित गर्न खोजेको हुँदा त्यसको प्रतिकारका लागि थारु समुदाय सशक्त रहनेछ । नेता लेखीले अगाडी भने, ‘वर्तमान सरकार थारु विरोधी छ । आदिवासी जनजाति विरोधी छ । दुई सयभन्दा बढी थारुलाई झुटा मुद्दा लगाइएको छ । एक सयभन्दा बढी थारुको बासस्थान उडाइदिएको छ । एक निर्वाचित सांसद सहित २६ जनालाई झुटा मुद्दा लगाई थुनामा राखिएको छ । अब तपाईहरु नै भन्नुहोस् यो सरकार थारु विरोधी नभए के हुन सक्छ ?’

अंक गणितमा गन्ने हो भने प्रत्येक कारागारमा आधीभन्दा बढी आदिवासी जनजाति नै विभिन्न मुद्दामा थुनिएका छन् । के यो सरकार आदिवासीप्रति समर्पित सरकार हो र ? लेखीले प्रश्न गरे । त्यसैले अधिकारका लागि उठ्न बाहेक अर्को विकल्प नरहेको बताए ।

कार्यक्रममा अर्का नेता जयराम पञ्जियारले नेपालको जनगणनामध्ये चौथो स्थानमा रहेको थारुलाई जिस्काएर लामो समय राज्य टिक्न नसक्ने बताउँदै अब आन्दोलनको विकल्प नरहेको बताए ।

जिल्ला कार्यवाहक अध्यक्ष पुष्पलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य हरिनारायण चौधरी, विरेन्द्र चौधरी, कृष्णमाया चौधरी, पूर्व केन्द्रीय सदस्य श्रीप्रसाद चौधरी, दमकका अध्यक्ष तेजनारायण चौधरी, क्षेत्री अध्यक्ष रामनारायण चौधरी, बिर्तामोड अध्यक्ष सुरेन राजवंशी चौधरी, कुसुम चौधरी, धिमाल जाति विकासका अध्यक्ष नरेशमान धिमाल, जनजाति महासंघ उपाध्यक्ष पर्शुनारायण ताजपुरिया, पत्रकार इन्द्रसिंह राजवंशी लगायतले राज्यबाट आदिवासी अधिकारलाई कुण्ठित पारेको बताए ।

कार्यक्रममा संस्कृतिक विभागका जिल्ला अध्यक्ष पाण्डपलाल चौधरीको अगुवाईमा विभिन्न सांस्कृतिक नाच प्रस्तुत गरिएको थियो भने दिपा चौधरीको अगुवाईमा थारु मोडलिङ प्रदर्शन गरिएको थियो ।

हरि चौधरीको स्वागत रहेको कार्यक्रमको सञ्चालन लय चौधरीले गरेको पूर्व सचिव इन्द्रकुमार चौधरीले बताए ।