कालो झण्डा खोसियोस्, टाउको लगियोस् तर पनि यो संविधान मान्दैनौंः नेता पालुङ्वा « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

कालो झण्डा खोसियोस्, टाउको लगियोस् तर पनि यो संविधान मान्दैनौंः नेता पालुङ्वा


यलम्वर टाइम्स
३ आश्विन २०७५, बुधबार १०:१७

झापा । बहुल राष्ट्रिय मुक्ति मोर्चाका नेता सञ्जुहाङ पालुङ्वाले जारी संविधान कुनै हालतमा पनि मान्य नहुने बताएका छन् ।

असोज ३ लाई कालो दिवसको रुपमा बहुल राष्ट्रिय मुक्ति मोर्चाले मनाउने र ३ गतेबाटै देशव्यापी आन्दोलनमा जाने निणर्य अनुसार झापाको बिर्तामोडमा आज भएको कोणसभालाई सम्बोधन गर्दै मोर्चाका नेता पालुङ्वाले संविधान पुर्नलेखन हुनुपर्ने दोहोर्याए ।

उनले अगाडि भने, ‘कालो झण्डा खोसियोस्, हाम्रो टाउको लगियोस् रै पनि यो संविधान मान्न सक्दैनौं । त्यसैले संविधान पुर्नलेखन हुनैपर्छ ।’

संविधान पुर्नलेखनको माग गर्दै अगाडि बढेको कोणसभालाई हस्तक्षेप गर्न आएका प्रहरीमाथि नेता पालुङ्वाले भने, ‘हामीले कसैको श्रीसम्पती खोसेका होइनौं, हाम्रो अधिकार मागेका मात्र हौं ।

यो सञ्जुहाङको मात्र होइन नेपालमा रहेका आदिवासी जनजाति, अल्पसंख्यक, मधेस, महिला, दलितहरुको हो । सरकार संविधान संशोधन गर्न डराउँछ भने अब मुलुक तेस्रो जनआन्दोलनको दिशामा ढल्कने छ ।’

कार्यक्रममा अर्का नेतृ मीना पन्धाकले बहुल राष्ट्रिय मुक्ति मोर्चाले तयार गरेको ३९ बुँदे ज्ञापनपत्र सम्बन्धित प्रशासनलाई बुझाइसकिएको छ, त्यो माग अनुसारको ज्ञापनपत्र राज्यले अक्षसर पालना गर्न सकेन भने मुलुक दुइतिहाई सरकारले थाम्न नसक्ने बताइन् ।

दिनहुँ बलात्कार, हत्या, महिला हिंसा र महंगीले नेपाली जनताको ढाड सकेको बताउँदै संविधान संशोधन प्रक्रियामा सरकार सक्रिय हुन सकेन भने यो सरकारको आयु लम्बिएर जान नसक्ने बताए ।

लिम्बूवान राज्य परिषद्को अगुवाईमा भएको कार्यक्रममा परिषदका अध्यक्ष लाजेहाङले अब आन्दोलन अगाडि बढेको उद्घोष गरे । कार्यक्रममा युवा नेता मिसेकहाङले लिम्बूवान प्राप्ति एकमात्र विकल्प भएको हुँदा त्यसतर्फ सरकारको गम्भीर ध्यान जानुपर्ने बताए ।

‘संविधान संशोधन गर’ भन्ने नाराका साथ अगाडि बढेको कार्यक्रममा प्रहरीले कार्यक्रमलाई तितरवितर पार्न व्यानर, कालो झण्डा समेत नियन्त्रणमा लिन कोशिस गरेको थियो ।


असोज ३ बाट तेस्रो जनआन्दोलनको सुरुवात

बहुल राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले तेस्रो जनआन्दोलनको सुरुवात आज असोज ३ बाट भएको बताएका छन् ।

संविधान पुर्नलेखन, कर वृद्धि, मुल्य वृद्धि, व्यापक भ्रष्टाचार र मुलुकी ऐन संशोधनका विषयलाई लिएर आन्दोलन अगाडि बढेको बताएका छन् ।

त्यसै अनुरुप बहुल राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय नेता डव पुनको नेतृत्वमा प्रधानमन्त्रीको कार्यालयमा ३९ बुँदे ज्ञापनपत्र बुझाएको समेत जानकारी दिए ।

बहुल राष्ट्रिय मुक्ति मोर्चा एक महिना अघि राष्ट्रिय जनमुक्ति पार्टी, लिम्बूवान राष्ट्रिय मञ्च, लिम्बूवान क्रान्तिकारी पार्टी र कोचिला बिच एकतासँगै आन्दोलनका लागि गठन भएको मोर्चा विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।