बन्ने भयो सशस्त्र प्रहरी शनिश्चरेको व्यारेकसहितको भवन « Yalambar Times
१७ बैशाख २०८१, सोमबार

बन्ने भयो सशस्त्र प्रहरी शनिश्चरेको व्यारेकसहितको भवन


यलम्वर टाइम्स
१६ चैत्र २०७५, शनिबार ०३:३१

अर्जुनधारा । लामो समयदेखि भाडाको घरमा रहँदै आएको सशस्त्र प्रहरी बल शनिश्चरेको भवनसहितको व्यारेक बन्ने भएको छ ।

शान्ति प्रक्रिया स्थापना पश्चात् शनिश्चरेमा आइ सेवा प्रदान गर्दै गरेको अर्ध सेना सशस्त्र प्रहरी बल कहिले शनिश्चरे बजारमा, कहिले नारायण चौक, हुँदै अहिले पुरानो दीपज्योति भवनमा बस्दै आएतापनि अबको ६ महिनाभित्र आफ्नै व्यारेकमा सर्ने गरि भवन निर्माण कार्य समिति बनेको छ ।

यस अघि वडा नम्वर १० का वडाध्यक्ष बलदेवसिंह गोम्देनको अध्यक्षतामा सशस्त्र प्रहरी व्यवस्थापन समिति गठन गरे पश्चात सशस्त्रको भवन बन्नका लागि जग्गा खोजी गर्दै निर्माण कार्य आधा पुर्याएको थियो ।

आर्थिक अभावले अधुरो रहेतापनि यस पटक निर्वाचित जनप्रतिनिधिले भवन निर्माणका लागि ७ लाख बजेट छुट्याएपछि भवन निर्माण समिति गठन हुन पुगेको हो ।

शुक्रबार अर्जुनधारा–८ का वडाध्यक्ष गोपीचन्द्र गौतम, वडा नं. १० का अध्यक्ष तथा सशस्त्र प्रहरी बल व्यवस्थापन समितिका अध्यक्ष बलदेवसिंह गोम्देनको अगुवाईमा भवन निर्माण समिति गठन भएको छ ।

६–६ महिनामा वेश प्रमुख परिवर्तन हुने भएको हुनाले वर्तमान वेश प्रमुख ओजेश ओलीकै कार्यकालमा भवन निर्माण गरिसक्ने लक्ष्य लिएको छ । भवन निर्माणमा आफ्नोतर्फबाट सक्दो सहयोगसँगै खट्ने प्रतिवद्धता वेश प्रमुख ओलीले दिए ।

३ वर्षअघि स्थानीय समाजसेवी पृथ्वी बुढाथोकी र भगिरथ लुइटेलले सशस्त्रलाई ५ कठ्ठा जग्गा प्रदान गरेका थिए । उक्त ठाउँमा विभिन्न दाताहरुबाट आर्थिक संकलन गरि ४ कोठे भवनसमेत निर्माण भइसकेको छ ।

घेराबारा र अफिसर कोठासँगै जवानहरु बस्ने व्यारेक भए वेश बस्न सक्ने निचोड निस्किएपछि शुक्रबार बसेको भेलाले निर्माण समिति गठन गरिएको हो ।

निर्माण समितिको संयोजकमा व्यवस्थापन समितिका उपाध्यक्ष इन्दिवर खड्का रहेका छन् भने सचिवमा वेश प्रमुख ओजेश ओली र कोषाध्यक्षमा केशव खड्का रहेका छन् ।

यसरी नै सदस्यहरुमा झुमा पोखरेल, देवीमाया भट्टराई, योगेन्द्र थापा, दिपीन राई, कुमार आचार्य र कुमार भट्टराई रहेका छन् ।

उक्त समितिले नगरपालिकाले दिने रकम र अन्य सहयोगी भावना बोकेका दाताहरु र सामुदायिक वनसँग आव्हान गर्दै भवन निर्माण कार्य आइतबारबाट सुरु गर्न भेलाले आग्रह गरेको छ ।

भेलाले भवन निर्माण समितिलाई सशस्त्र प्रहरी बलले हेर्ने आफ्नो क्षेत्र अन्तर्गत कनकाइ नगरपालिका, बिर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकासँग छलफल गर्दै भवन निर्माणमा सहकार्य गर्न सुझाव दिएका छन् ।

सशस्त्र प्रहरी वेश क्याम्प बन्नलाई जग्गा अभाव भएको कारण दाताहरुसँग पुनः आग्रह गर्दै ३ कठ्ठा जग्गा थपेर ८ कठ्ठाको क्षेत्रफलमा रहनुपर्ने वेश प्रमुख ओलीले आफ्नो भनाई राखेका थिए भने थप जग्गाको लागि दातासँग सम्पर्क गरी अगाडि बढ्नुपर्ने सुझाव वडाध्यक्ष गौतम र तामाङले सुझाव दिए ।

सशस्त्र प्रहरी वेश क्याम्प नजिक अर्जुनधारा नगरपालिकाले शनिश्चरे बजार सर्ने भएको हुँदा भवन चाँडै निर्माण गर्नुपर्ने जोड दिएका थिए ।