जनतासँगै केन्द्रीत : वडा नम्वर १० « Yalambar Times
१७ बैशाख २०८१, सोमबार

जनतासँगै केन्द्रीत : वडा नम्वर १०


यलम्वर टाइम्स
१७ चैत्र २०७५, आईतवार ०६:४९

अर्जुनधारा नगरपालिका वडा नं. १० मा वडास्तरीय योजनाअन्तर्गत आ.व. ०७५।०७६ मा जम्मा १,११,५०,०००।– (एक करोड एघार लाख पचास हजार) विनियोजन भएको छ । सो बजेटलाई भौतिक पूर्वाधार, कृषि, पशु, क्षमता विकास, शिक्षा लगायतका विकासमा वडाको समानुपातिक भौगोलिक प्रतिनिधित्व हुने गरी बाँडफाँड गरिएको छ । हालसम्म यस वडाका ९६ प्रतिशत योजनाहरुको सम्झौता भईसकेको छ भने ७८ प्रतिशत योजनाहरु सम्पन्न भईसकेका छन् र बाँकी योजनाहरु पनि निर्धारित समय सीमाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यस वडामा वडास्तरीय योजना मात्र नभएर नगरपालिका र विभिन्न निकायहरुबाट प्राप्त रकमहरुबाट समेत विकास निर्माणका कार्यहरु भइरहेका छन् । सहरी डिभिजन कार्यालय लगायतको लागतमा वडाका ४ वटा सडकहरु कालोपत्रे हुने प्रक्रियामा रहेको छ ।

यस वडाको तर्फबाट तालिम केन्द्र सहितको नमूना फार्म स्थापना तथा कृषि होमस्टे सञ्चालनका लागि कृषि मन्त्रालयमा प्रस्तावना पेश गरिएको छ, सो फार्म यसै क्षेत्रमा स्थापना गर्नका लागि वडा समिति निरन्तर प्रयासरत छ । सो फार्म स्थापना गर्न सकिएमा १० नं. वडा र अर्जुनधारा नगरपालिकाले नै कृषिमा ठूलो फड्को मार्नेछ ।

कृषिलाई प्राथमिकतामा राखी यस वडाले यसै बर्षको चैत्र महिनामा पशु परजीवी नियन्त्रण कार्यक्रम अन्तर्गत गाई, भैंसी, बाख्रा कुखुरा लगायतका पशुहरुलाई निःशुल्क नाम्लेजुका, जुम्रा, लगायतका औषधी खुवाउने तथा वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम अन्तर्गत २००० भन्दा बढी पशुलाई पशु प्राविधिकको निगरानीमा औषधी खुवाईएको थियो ।

५० प्रतिशत अनुदानमा ७० जना कृषकलाई जै घाँसको बीउ वितरण गर्ने कार्यक्रम पनि यसै बर्ष सम्पन्न भएको छ । त्यस्तै च्यापकटर (कुटी काट्ने मेसिन), पानी तान्ने वोरिङ पनि आवश्यकता अनुसार कृषकहरुको छनौट गरी वितरण गर्ने प्रक्रिया चलिरहेको छ । यस वडामा गाई भैसी, बाख्रालाई कृत्रिम गर्भाधान गराए वापत वडा कार्यालयले सो रकम फिर्ता गरिरहेको छ ।

युवा लक्षित कार्यक्रम अन्तर्गत खेलकुदलाई प्रोत्साहन गर्ने कार्यक्रम समेत यस वडाले राखेको छ । वडाको युवाहरुलाई सचेतना कार्यक्रम अन्तर्गत पञ्चकन्या मन्दिर परिसरमा मिति २०७५ चैत्र २ गते लागूऔषध विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । युवाहरुको मागलाई ध्यानमा राखी यसै आ.व.को बैशाख महिनामा लोकसेवा तयारी कक्षा सञ्चालनको तयारी समेत यस वडामा भइरहेको छ । यसै वडाको शुसेली टोलमा युवा तथा बालबालिकाको अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि निःशुल्क नृत्य कक्षा सञ्चालन भएको छ ।

महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि यस वडामा रहेका विभिन्न महिला समूहहरुसँगको समन्वय सहकार्यमा व्यवसायिक अचार बनाउने तालिम, अर्गानिक कृषि खेती, झोला बनाउने तालिम लगायतका विभिन्न तालिमहरु समेत यसै बर्ष सम्पन्न भएको छ । आगामी दिनहरुमा वडामा रहेका २० भन्दा बढी महिला समूहहरुलाई समेटेर महिलाहरुको क्षमता सीप विकासमा वडा कार्यालय निरन्तर लागिरहेको छ ।

वडामा यसै बर्षभित्र गाउँघर क्लिनिक राख्ने योजना रहेको छ, सो को लागि भवन समेत निर्माण भइसकेको छ । वडामा खानेपानीको सहजताका लागि खानेपानी ट्याङकी समेत निर्माण हुने प्रक्रियामा रहेको छ । वडामा रहेको विद्युतको समस्या समाधानका लागि वडाध्यक्ष बलदेव सिंह गोम्देनका पहलमा यसै बर्ष लगभग ३५ लाख बराबरको ट्रान्सफर्मर विद्युत प्राधिकरणले उपलब्ध गराएको छ । सो को जडान पश्चात १० नं. वडामा विद्युत सम्बन्धि सम्पूर्ण समस्या समाधान हुनेछ ।

जेष्ठ नागरिकलाई सम्मानका लागि इच्छुक ६० भन्दा बढी जेष्ठ नागरिकहरुलाई नेपालका विभिन्न तीर्थस्थलहरुमा यहि यहि बैशाख अन्तिममा तीर्थाटन गराउने योजना रहेको छ । वडामा रहेका सम्पूर्ण घरधुरीको यकिन तथ्याङक संकलनका लागि वडा कार्यालयले तथ्याङ्क संकलन सम्बन्धि कार्य पनि गरिरहेको छ ।

अर्जुनधारा नगरपालिका वडा नं. १० को विकास निर्माण र आगामी योजना सम्बन्धि वडा नं. १० का वडाध्यक्ष बलदेवसिंह गोम्देन तामाङ, वडा सदस्य शकुन्तला बराल, भोलानाथ गौतम, फिपराज कुरुम्वाङ र सीता परियारसँग गरिएको कुराकानीको सारांश ।