भ्रष्टाचारीलाई देश निकालासँगै उनको सम्पत्ती राज्यको स्वामित्वमा ल्याउनुपर्ने : जनमुक्ति « Yalambar Times
१७ बैशाख २०८१, सोमबार

भ्रष्टाचारीलाई देश निकालासँगै उनको सम्पत्ती राज्यको स्वामित्वमा ल्याउनुपर्ने : जनमुक्ति


यलम्वर टाइम्स
१७ चैत्र २०७५, आईतवार ०९:२०

ताप्लेजुङ । जनमुक्तिका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले निर्वाचित जनप्रतिनिधिमध्ये ३० प्रतिशत जनप्रतिनिधि ठेकेदारसँग संलग्न भई आन्तरिक आयआर्जनमा जुटेको बताएका छन् ।

ताप्लेजुङ पार्टी कार्यकर्ताहरुमाझ अध्यक्ष पालुङ्वाले यसरी जनप्रतिनिधि नै ठेकेदार भएर आयआर्जनमा लाग्ने हो भने त्यस्ता जनप्रतिनिधिबाट गाउँ वा नगरको विकास कसरी हुन सक्छ ? भन्दै दुइ तिहाइको सरकार आन्तरिक भ्रष्टाचारमा फसेको हुँदा वडा वा टोलमा खबरदारी आवश्यक भएको बताए ।

आर्थिक भ्रष्टाचार हेर्ने निकाय नेकपाकै कब्जामा भएको हुँदा जसले जति मिलाएर आर्थिक उपार्जन गरे त्यसको रेखदेख र कारवाही नहुने भएकाले भ्रष्टाचार मौलाएको जोड दिए ।

‘हाम्रो पार्टी भ्रष्टाचारीलाई देश निकाला गर्नुपर्ने र तिनले कमाएको सम्पत्ती राज्यको स्वामित्वमा ल्याउनुपर्ने माग राख्दै आएको छ’ अध्यक्ष पालुङ्वाले भने ।

पहिचानको सवालमा सबैभन्दा पहिला आवाज उठाउने दल नै जनमुक्ति भएको हुँदा पहिचान पक्षधर दलहरुसँग सद्भावसँगै एकताको प्रयास भइरहेको बताउँदै पार्टी जस्तो कुरो एकले अर्कालाई मित लगाए जस्तो नहुँदो रहेछ, त्यसैले नीति र विधानसँगै कार्यदिशा एक हुन पुगे जस्तोसुकै पहिचानवादी दलसँग पनि मिलेर जाने जोड दिए ।

वर्तमान सरकार केन्द्रीकृत शक्ति प्रदान गर्न लालयीत छ । प्रदेश र स्थानीयलाई कठपुतली बनाएर संघीय अधिकारलाई कटौति गर्न लागेको आरोप लगाउँदै ओली सरकारको शासन संघीय विरोधी भएको ठोकुवा गरे ।

अध्यक्ष केपीले आदिवासी जनजाति, अल्पसंख्यक, दलितहरुलाई भोट बैंकको रुपमा अझै पनि प्रयोग गरेको हुँदा आउने दिन त्यसको विपरीत हुने विश्वास दिलाए ।

उनले ०७६ मंसीर मसान्तसम्म पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न लागिएको सबै जिल्ला तह र प्रदेशमा पार्टीले सांगठनिक परिवर्तनको ढाँचासँगै क्रियाशिल सदस्यताको विषयमा छलफल गर्दै अगाडि बढाइएको जानकारी दिए ।

प्रदेश नम्वर १ का अध्यक्ष प्रकाश येङ्देनले विचारबाट विचलन नभई अढिक रहनुभएका पार्टीका अग्रजहरुलाई सम्मान गर्दै जाने बताए ।

उनले पार्टीका जनवर्गीय संगठनलाई केन्द्रले ध्यान दिएर विस्तारसँगै गठन प्रक्रियामा अगाडि बढाए पार्टी एक कदम अगाडि उठ्ने जोड दिए ।

पार्टी जिल्ला अध्यक्ष इन्द्र थलङको सभापतित्वमा भएको कार्यक्रममा जिल्लाका ५० भन्दा बढी क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियो ।