पुरुषसँगै महिलाले लिए बिजुली मर्मत तालिम « Yalambar Times
१७ बैशाख २०८१, सोमबार

पुरुषसँगै महिलाले लिए बिजुली मर्मत तालिम


यलम्वर टाइम्स
१९ चैत्र २०७५, मंगलवार ०९:१४

[राजन साम्पाङ]

अर्जुनधारा । विद्युत मर्मत सम्बन्धि कार्यलाई जोखिमपूर्ण मानिन्छ । यस्तो कार्य पुरुषलेमात्र गर्छन् भन्ने मानसिकता समाजमा व्याप्त छ । समय–समयमा हुने यस्ता तालिमहरुमा पनि पुरुषलाई मात्र सहभागि गराइन्छ । तर, यसको ठीक विपरीत तालिममा यसपटक महिलालाई पनि सहभागि गराइएको थियो ।

कुरा हो अर्जुनधारा वडा नम्वर ७ को । गत विहीबारबाट वडाले आयोजना गरेको ५ दिने बिजुली मर्मत सम्बन्धि आधारभूत तालिममा महिलाहरुको पनि सहभागिता रहेको थियो । उनीहरु तालिममा सक्रिय रुपमा प्रस्तुत भएका थिए ।

‘बिजुली मर्मत सम्बन्धि कार्य जटिल हुन्छ’ तालिममा सहभागि मन्जु घिमिरे दाहाल भन्छिन्, ‘तर, इच्छा शक्ति र लगनशिलता देखायो भने असम्भव भने हुँदो रहेनछ ।’

तालिममा आउनु पूर्व बिजुलीका काम कसरी गर्ने होला भन्ने कौतुहलता भएको र त्यही कौतुहलताले नै तालिममा सहभागि हुन उत्सुक गराएको उनले सुनाइन् ।

‘घरमा बिजुलीमा सामान्य समस्या आउँदा पनि प्राविधिकलाई बोलाउनु पर्ने अवस्था थियो, अब आफै गर्न सक्ने भएका छु’ सहभागि दाहाल थप्छिन्, ‘यसले समयसँगै आर्थिकको बचत हुन्छ ।’

तालिम प्रभावकारी भए पनि महिलाहरु समय दिन गाह्रो र तालिमको अवधि पनि कम भएको उनको प्रतिक्रिया थियो ।

यस अघिका यस्ता किसिमका तालिममा महिलाहरुको सहभागिता नहुने वडा सदस्य तथा प्रशिक्षक देवकुमार राई बताए ।

उनी भन्छन् ‘बिजुली मर्मत सम्बन्धि तालिमहरु धेरै दिएँ, महिला सहभागिता हुँदैन थियो । वडा नम्वर ७ले प्रदान गरेको यस पटकको तालिममा महिलाको उपस्थिति रह्यो । उनीहरुको सक्रियताले यस्ता कार्यक्रममा महिलाको सहभागिता बढाउनु पर्ने देखाउँछ ।’

तालिममा महिला मात्र नभइ १७ वर्षदेखि ६४ वर्षसम्मको मानिसहरुको सहभागिता रहेको थियो ।
तालिममा सहभागि युवाहरुले तालिमलाई व्यसायिक रुपमा लिएका थिए भने वृद्धहरुले सुरक्षाको रुपमा लिएका थिए ।

वृद्ध अवस्थामा तालिममा सहभागि हुनुपर्ने आवश्यकता नभए पनि विद्युतबाट सुरक्षित रहनका लागि तालिममा उपस्थित वृद्धहरु बताउँछन् ।

‘अहिलको समयमा छोराछोरी काम विशेषले बाहिर रहने र घरमा बुढा–बुढी मात्र हुन्छन्’ तालिममा सहभागि हुन आएका वृद्ध टेकेन्द्र पौडेल भन्छन्, ‘घरमा लाइन बिग्रीयो भनेको बेला प्राविधिक भेटिदैन । अध्याँरोमा बस्नुपर्ने हुन्छ । तालिमबाट केही जानियो भने त्यो समस्या रहँदैन ।’

कार्यक्रममा वडाध्यक्ष नविन ढुंगानाले तालिममा युवादेखि वृद्ध तथा महिलाहरुको पनि सक्रिय सहभागिता रहेकोमा खुशी व्यक्त गरे ।

वडाध्यक्ष ढुंगानाले तालिमबाट प्राविधिकले नभ्याएको बेला के कारणले बिजुली गयो ? आफैले पहिचान गरेर सामान्य अवस्था बनाउन सक्ने भएको विश्वास व्यक्त गरे ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रशासकीय प्रमुख पंकज भुर्तेलले तालिम व्यवसायिक र सुरक्षात्मक गरी दुई तरिकाले प्रदान भएको बताए ।

इलेक्ट्रिसियनको अभाव रहेको बेलामा यो तालिम युवाहरुका लागि व्यवसायिक बन्न र वृद्धहरुका लागि सुरक्षाका लागि सहयोगी भएको प्रशासकीय प्रमुख भुर्तेलको प्रतिक्रिया थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख हरिकुमार रानाले तालिममा प्राप्त भएको ज्ञान व्यवहारमा उर्तान आग्रह गरेका थिए ।

कार्यक्रममा प्रमुख रानाले आफूले जानेको सीपबाट छिमेकीले पनि लाभ उठान सकेमात्र तालिम वास्तवमै सफल हुने बताए ।

वडाध्यक्ष ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा बोर्ड सदस्य सकुन्तला बराल, प्रशिक्षार्थी राजेन्द्र काफ्ले, टंकमाया दाहाल, टेकेन्द्र पौडल लगायतले बोलेका थिए ।

वडा सदस्य देवकुमार राईले सञ्चालन गरेको कार्यक्रममा स्वागत वडा सचिव मुना निरौलाले गरेकी थिइन् ।

२५ जनाको सहभागिता रहेको तालिममा कान्छा प्रशिक्षार्थीलाई नगर प्रमुख रानाले एकमुष्ट प्रमाणपत्र हस्तान्तरण गरेको अर्का वडा सदस्य ऐतराज नेम्वाङले जानकारी दिए । तालिम डम्बर पूर्वे र देवकुमार राईले प्रदान गरेका थिए ।