खेलाडीलाई सम्मान गर्दै अर्जुनधाराको चौथो नगरसभा सुरु « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

खेलाडीलाई सम्मान गर्दै अर्जुनधाराको चौथो नगरसभा सुरु


यलम्वर टाइम्स
१९ चैत्र २०७५, मंगलवार १२:२९

स्वर्ण पदक विजेता दिपेन धिमाललाई कदरपत्र हस्तान्तरण गर्दै प्रमुख हरिकुमार राना र प्रदेश सांसद बृख प्रधान ।

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाउन सफल खेलाडीहरुलाई सम्मान गर्दै आफ्नो चौथो नगरसभा सुरु गरेको छ ।

पदक जीत्दै खेल क्षेत्रको माध्यमबाट नगरको शीर उच्च राखेकोभन्दै नगरसभाको उद्घाटन सत्रमा उनीहरुलाई सम्मान गरिएको हो ।

यसरी सम्मानित हुनेहरुमा सन् २०१८ को डिसेम्बरमा चीनमा सम्पन्न द वल्ड हिरो कप तेक्वान्दो प्रतियोगिताको उमेर समूहमा स्वर्ण पदक प्राप्त दिपेन धिमाल, ४२ केजी तौल समूहमा स्वर्ण पदक दिलाउन सफल एन्किला राई रहेका छन् ।

उनीहरुलाई प्रदेश सांसद बृख प्रधान, नगर प्रमुख हरिकुमार राना, उपप्रमुख कमला आचार्य लगायतले जनही २५ हजार रुपैयाँसहित दोसल्ला र कदरपत्रले सम्मान गरेका थिए ।

यसै गरी जुनियर समूहबाट स्वर्ण पदक विजेता विवेक गिरीलाई पनि नगद रु २५ हजारसँगै दोसल्ला र कदरपत्र प्रदान गरिएको थियो ।

नगरसभा सञ्चालन गर्दै प्रमुख हरिकुमार राना साथमा प्रदेश सांसद बृख प्रधान र उपप्रमुख कमला आचार्य ।

उनीसँगै ८औं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौंट चरणमा स्वर्ण पदक विजेता अरुण डाँगीलाई नगदसहित कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा एन्जिला र अरुण दुवै अनुपस्थित थिए । एन्जिलको प्रशंसापत्र उनका कोच दिपेन धिमाल र अरुणको उनका आमा गीता डाँगीले ग्रहण गरेकी थिइन् ।

सम्मान कार्यक्रम पश्चात बोल्दै प्रदेश सांसद प्रधानले नयाँ संरचनामा मुलुक प्रवेश गरेको र केही कानूनी जटिलता रहेको हुँदा त्यसलाई फुकाउँदै अघि बढ्नुपर्ने बताए ।

सांसद प्रधानले स्थानीय सरकार नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको बताउँदै पारदर्शी र दीगो ढंगले विकास योजना ल्याइ अगाडि बढ्नुपर्ने बताए ।

नगरसभामा प्रमुख रानासहित उपप्रमुख आचार्य, प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, सम्पूर्ण वडाध्यक्षहरु, वडा सदस्यहरु, बोर्ड सदस्यहरुको सहभागिता रहेको थियो ।

सम्मानितहरु क्रमशः अरुणकी आमा गीता डाँगी, दिपेन धिमाल र विवेक गिरी ।