सहारा नेपाल बेसहाराका लागि बरदान « Yalambar Times
१७ बैशाख २०८१, सोमबार

सहारा नेपाल बेसहाराका लागि बरदान


यलम्वर टाइम्स
२५ चैत्र २०७५, सोमबार ११:०५

अर्जुनधारा । सहारा नेपाल बेसहारा जीवनका लागि सहारा बनेर आएको नगर प्रमुख हरिकुमार रानाले बताए ।

आज आयोजित शनिश्चरे शाखाले नयाँ सदस्यहरुको स्वागत गर्ने कार्यक्रममा नयाँ सदस्यहरुलाई अविर र सहारा लोगो प्रदान गर्दै उक्त कुरा बताएका हुन् ।

अर्जुनधारा–७ गुरागाई भवनमा आयोजित स्वागत कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रानाले विषादी रहीत खानपानले जीवनशैली कमजोर बनाउँदै गएको र नसर्ने रोगले सताइरहेको बेला सहाराले ल्याएको जीवन बरदान कार्यक्रमले आर्थिक अवस्था नाजुक भएका जनताको लागि शेयर सदस्य बने सहारा बन्ने रणनीतिसँगै गरेको कार्य उपयुक्त भएको बताए ।

उनले नगरमा रहेको सहाराको केन्द्रले नगरबासीको जीवनस्तर उकास्न र अग्र्यानिक कृषि उत्पादनमा महत्वपूर्ण भूमिका खेल्न सहारा नेपाललाई आग्रह गरेका थिए ।

घर नहुनेलाई घर, काजकिरिया खर्च र शैक्षिक कर्जा जस्ता कार्य जीवन उपयोगी हुन् ।

कर्जा लिने ऋणीहरुलाई बेसहाराबाट मुक्त गर्न सीप र सकारात्मक सोचसहितको ज्ञान प्रदान गर्न प्रमुख रानाले जोड दिए ।

स्वागत कार्यक्रममा हालै दिवांगत शेयर सदस्य रामकुमार अछामीको धर्मपत्नी कुमारी विशुङ्खेलाई रु. एक लाख परिवार राहत वितरण गरेका थिए भने उद्यमी टीकादेवी राई र टंकमाया ढुंगानालाई पनि सम्मान गरिएको थियो ।

सोही दिन विशेष अतिथि वडा नं. ८ का अध्यक्ष गोपीचन्द्र गौतमले जीवन बरदान राहत कार्यक्रम अन्तर्गत नसर्ने रोगबाट थलिएकी नन्दादेवी आचार्यलाई ६३ हजार २ सय ४५ रुपैयाँ प्रदान गरिएको थियो ।

कार्यक्रममा नयाँ शेयर सदस्यहरुलाई सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संस्थाको संक्षिप्त परिचय र वस्तु तथा सेवा सम्बन्धि जानकारी गराएका थिए ।

उनले ज्येष्ठ सहायक पोषण कार्यक्रम, परिवार राहत कार्यक्रम, दीर्घायु जीवन कार्यक्रम, एकल महिला पोषण कार्यक्रम, सुत्केरी पोषण कार्यक्रम, राहत परिवार स्मृति कार्यक्रम, खान पुगोस्, दिन पुगोस् जस्ता कार्यक्रमका विषयमा अवगत गराएका थिए ।

उनले सहारा नेपाल कालझैं रहने भएको हुँदा सम्पूर्ण कारोबार यसैमा रहेर गर्न आफ्ना शेयर सदस्यहरुलाई आग्रह गरेका थिए ।

प्रबन्धक गिरीले सहारा नेपाल निजी क्षेत्रको सबैभन्दा ठूलो सहकारी संस्था भएको जानकारी गराउँदै शेयर सदस्यहरुको जीवनस्तरका लागि विभिन्न रचनात्मक कार्यक्रमहरु अगाडि ल्याइने समेत जानकारी दिए ।

सहारा नेपाल अध्यक्ष ताराप्रसाद सञ्जेलको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत केन्द्र सञ्चालन सहायता समितिका सदस्य गीता अधिकारीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन केन्द्र अध्यक्ष शंकर सुवेदीले गरेका थिए ।

कार्यक्रममा महिला नेतृ सरस्वती सिटौला गोले, वडा नं. ७ का अध्यक्ष नवराम ढुंगाना, पूर्व शिक्षक कृष्ण पौडेल, छविलाल शिवाकोटी लगायतको आतिथ्य रहेको थियो ।

बीचबीचमा मनोरञ्जन भएको कार्यक्रमको व्यवस्थापन सेवा केन्द्रका प्रबन्धक लक्ष्मीप्रसाद रिजालले गरेका थिए ।

निःशुल्क स्वास्थ्य परीक्षण

नयाँ सदस्य स्वागत कार्यक्रमसँगै सहारा नेपाल सेवा केन्द्र शनिश्चरेले निःशुल्क पाठेघर जाँचको शिविर आयोजना गरेको थियो ।

नेपाल परिवार नियोजन संघ चारआलीको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरमा ६५ जनाको चेकजाँच भएको थियो ।

ति मध्ये ४ जना संक्रमित फेला परेको प्रबन्धक लक्ष्मीप्रसाद रिजालले जानकारी दिए ।

डा. प्रकृति बास्तोला र भिममाया शिवाकोटीको सहयोगमा गरिएको शिविरमा ३० देखि ६० वर्षका महिलाहरुलाई सेवा दिएको थियो ।