‘जनताको भावनाबाटै नगरको विकास गरिने’ « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

‘जनताको भावनाबाटै नगरको विकास गरिने’


यलम्वर टाइम्स
२ बैशाख २०७६, सोमबार ०९:०४

चौथो सभाले गरेको महत्वपूर्ण निर्णय सार्वजनिक

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले ४ दिनसम्म चलेको चौथो नगरसभाको महत्वपूर्ण निर्णय शुक्रबार सार्वजनिक गरेको छ ।

निर्णय सार्वजनिक गर्दै नगरका प्रशासकीय प्रमुख पंकज भुर्तेलले सार्वजनिक भएका ९ वटा शीर्षक नगरवासीका लागि अत्यन्तै महत्वपूर्ण भएको बताएका छन् ।

प्रशासकीय प्रमुख भुर्तेलले बहुवर्षीय योजना सञ्चालन सम्बन्धमा नगरको वडा कार्यालय १, २, ५, ६, ९ र ११ का ६ वटा भवन निर्माणका लागि ५ करोड १५ लाख ८ हजार ६ सय ९० रुपैयाँ छुट्याइने जानकारी दिए ।

उक्त रकम विभिन्न पूर्वाधारका लागि जिससबाट ६० प्रतिशत र नगरपालिकाबाट ४० प्रतिशत खर्च गरिने उल्लेख छ ।

यसरी नै डीपीआर बनाउने सम्बन्धमा अर्जुनधारा–१ विरीङ नदी कटान रोक्न र ड्याम बनाउन यसै वर्ष थालनी गर्ने र साठ्ठीमुरेमा पर्यटकीय स्थल निर्माण गर्ने निर्णय भएको बताए ।

उनका अनुसार उक्त ठाउँमा विरीङ नदीको उत्खनन्बाट प्राप्त रकम खर्चिने भएको छ । नगरले नगर चक्रपथ निर्माण र सडक मर्मत सम्भारलाई प्राथमिकता दिने भएको छ ।

उक्त कार्यका लागि नगरको स्रोत साधनको प्रयोग गरिने बताइएको छ । भित्री चक्रपथका लागि वडा नं. ६ को कप्तनबारी, ९ को प्रमाणी टोल, ८ को राना गाउँ, नारायण चोक हुँदै ७ को वडा कार्यालय छोएर ५ को कप्तनबारी जोड्ने उल्लेख छ ।

बाहिरी चक्रपथका लागि अर्जुनधारा १० को सेतीपानी, वडा नं. ८ उत्तर बुद्धशान्ति, वडा नं. १ सिस्ने, १, २, ३ को दक्षिण पश्चिम दुर्गापुर दानाबारी, ४ को दहिझोडा, ५ को पाण्डापुर, ११ को महेन्द्र राजमार्ग पूर्व र १० को कालिझोडासम्म छुने गरी रहने छ ।

यसरी नै शनिश्चरे साप्ताहिक हाट बजारलाई व्यवस्थित गर्नका लागि जग्गा खोजी गर्ने, निःशुल्क प्राप्त गर्नका लागि नगरले प्रयास जारी राख्ने, निःशुल्क प्राप्त हुन नसके नेपाल सरकारसँग खरिदका लागि अनुरोध गर्ने समेत भएको छ ।

भूमि सम्बन्धमा नगरले नगरपालिकाभित्रका भूमिहिन तथा सुकुम्बासीको लगत संकलन गरी लगत संकलन कार्यविधि नगरपालिकाले निर्धारण गरेर अगाडि बढ्ने पारित गरेको छ ।

युवा समिति गठन सम्बन्धमा नगरभित्रका २१ देखि ४० वर्षका युवाहरुलाई समेटेर युवा समन्वय समिति, युवा वडास्तरीय समन्वय समिति तथा कार्यसमिति गठन गर्ने छ ।

नगर प्रमुखको संरक्षणमा रहने उक्त समितिले विभिन्न कार्य गर्दै अगाडि बढ्ने उल्लेख छ । नगरले खेलकुद समिति र सांस्कृतिक समिति समेत गठन गर्ने भएको छ ।

खेल क्षेत्रलाई प्रोत्साहित गर्ने लक्ष्यले र कला संस्कृतिलाई जर्गेना गर्ने उद्देश्यले नगर प्रमुखको अध्यक्षतामा गठन गरेर अगाडि बढ्ने भएको छ ।

नगरवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै आधारभूत स्वास्थ्य चौकीलाई चुस्त–दुरुस्त र सेवा प्रदान गर्नका लागि जनशक्तिको व्यवस्थापन गर्दै अपुग भए प्रदेश सरकारसँग माग गर्ने सभाले निर्णय गरेको छ ।

नेपाल सरकारको नीति अनुसार वडा नं. ४ मा निर्माण सम्पन्न स्वास्थ्य भवनमा वडा नं. ७ का स्वास्थ्य कर्मचारीहरु खटाइने भएको छ ।

वडा नं. ७ मा थप कर्मचारी व्यवस्थापन गर्दै वडा नं. २ र ११ मा फर्निचर एवम् कर्मचारी व्यवस्थापन गर्ने निर्णय भएको छ ।

शनिश्चरे प्राथमिक स्वास्थ्य चौकी नेपाल सरकारको निर्णय अनुसार १५ सैय्याको अस्पताल स्तरोन्नति भएको आवश्यक उपकरण तथा जनशक्तिका लागि प्रदेश सरकारसँग माग र्ने निर्णय भएको छ ।

सभाले विशेष प्रस्ताव पारित गर्दै अर्जुनधारा नगरपालिका–११ अन्तर्गत महेन्द्र राजमार्गसँग जोडिएको अन्दाजी १० विगाह क्षेत्रफलमा सालबारी पोलिटेक्नीकल इन्टिच्युट निर्माण गर्ने भएको छ ।

उक्त इन्टिच्युट निर्माणका लागि प्रदेश सरकार र संघीय सरकार माग गरिने निर्णय भएको छ ।

उक्त निर्णय शुक्रबार नगर प्रमुखको सभाकक्षमा पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको हो ।

सम्मेलनमा यी सबै निर्णय जनताको भावनाबाटै नगरको विकास गरिदै लाने नगर प्रमुख हरिकुमार रानाले बताए ।

कार्यक्रममा उपप्रमुख कमला आचार्य खतिवडाले विकासको काममा नगर सदैव अगाडि बढेर जाने जोड दिए ।