‘बाहिरबाट आउने व्यापारीलाई नयाँ बजारमा व्यवस्थापन गरौं’ « Yalambar Times
१७ बैशाख २०८१, सोमबार

‘बाहिरबाट आउने व्यापारीलाई नयाँ बजारमा व्यवस्थापन गरौं’


यलम्वर टाइम्स
८ बैशाख २०७६, आईतवार ०६:२१

स्थानीय व्यापारी, राजनीतिक दल र वाणिज्यबीच छलफल

अर्जुनधारा । शुक्रबार नगर प्रमुखको कक्षमा भएको सर्वपक्षीय छलफललाई सम्बोधन गर्दै नगर प्रमुख हरिकुमार रानाले बाहिरबाट आउने व्यापारीहरुलाई नयाँ बजारमा व्यवस्थापन गर्न सबै जुट्नुपर्ने बताए ।

स्थानीय व्यापारी, वाणिज्य संघ र राजनीतिक दलबीच बजार व्यवस्थापन बारे छलफल पश्चात प्रमुख रानाले शनिश्चरे बजारलाई गौरवको योजना अन्तर्गत सुन्दर नगरीको रुपमा अगाडि बढाइरहेको बेला पुरानै ठाउँमा बजार राखिए आउने सन्ततिले शनिश्चरे बजारलाई हेर्ने दृष्टिकोण नराम्रो हुने भएको कारण बजारलाई पर्यटकीय नगरी बनाउन खोजिएकोमा जोड दिए ।

उनले १४ हजार शहीदको बलिदानीबाट स्थानीय तह निर्माण भएको छ, हाम्रै पालामा समृद्धि खोज्नुपर्छ । यो खोजाइमा वाणिज्य संघ उत्साहित बनेको छ । त्यसैले विरोध नगर्न आग्रह गरे ।

छलफल कार्यक्रममा नेकपाका अध्यक्ष प्रेमसागर सापकोटाले शनिश्चरेलाई पर्यटकीय नगरीको रुपमा विकास गर्न र बाहिरबाट आउने व्यापारीलाई स्वागत गर्न नयाँ बजारको आवश्यकता भएको हुँदा नगरले ल्याएको सोचलाई सम्मान गरेर जान स्थानीय व्यापारीलाई अनुरोध गरे ।

अर्का वक्ता नेपाली काँग्रेसका नगर सभापति हेमराज खरेलले नगरले ल्याएको गौरवको योजनामा प्रतिपक्षमा रहेर पनि स्वागत गरिरहेका छौं । त्यसैले नयाँ बजारलाई स्थायीत्व प्रदान गर्न आफ्नो पार्टीको साथ रहने बताए ।

गत सातादेखि व्यवस्थापन गरिएको झापाको पुरानो बजार शनिश्चरेको साप्ताहिक हाट लगाउने विषयमा स्थानीयले विमति गरिरहेका बेला वडा नम्वर ८ अध्यक्ष गोपीचन्द्र गौतमले साँघुरो, अप्ठ्यारोमा झेल्दै चलेको शनिश्चरेलाई रुपान्तरण गर्न नयाँ बजार स्थापना गरिएको बताए ।

उनले सब्जी बजार, तुरुन्तै हट्नुपर्छ भन्न खोजिएको छैन, तर बाहिरबाट आउने व्यापारी र केही स्थानीय व्यापारीलाई व्यवस्थित गर्न नयाँ बजार स्थापना गरिएको बताए ।

वडा नं. १० का अध्यक्ष बलदेव गोम्देनले दुःखको बाबजुत नयाँ बजार स्थापना गरिएको छ । जहाँ पुराना बजारको विषय छ, त्यहाँ भावी योजना बनाइ सुन्दर बनाउन नगर चुक्न हुँदैन ।

शनिश्चरे बजारको सडक पेटीमा लाग्दै आएको हाटबजारलाई अर्जुनधारा ८ कै बाह्रदशी खोला उत्तरमा बजार व्यवस्थापन समितिले गत साता सारेको छ । तर, शनिश्चरे बजारमा रहेका घरधनीहरुले बजार सारिँदा मर्कामा परेकोभन्दै अझै पनि विमति जनाएका छन् ।

सर्वपक्षीय भेलामा स्थानीयले सब्जी बजार सार्न नहुने भन्दै बजार सारिँदा बजार बढ्ने अवस्था नरहेकाले पछि घरधनीलाई असर पुग्ने स्थानीय गौरीशंकर श्रेष्ठले दुःखेसो गरे ।

उनले बजार राम्रो बनाउनमा सहमत भए पनि स्थानीयको गाँसबासको बारेमा पनि नगरले सोच्नुपर्ने धारणा राखे ।

पूर्व वडाध्यक्ष विनोद थापाले सब्जी बजार सारेर गाडी स्टेण्ड बनाउन नहुने धारणा राखे । उनले १४ कठ्ठा जग्गा नगरको त्यही भएकाले त्यसको सदुपयोग गर्न पनि सुझाए ।

वाणिज्य संघका सचिव चतुर्भुज काफ्लेले वाणिज्य संघको १८ बुँदे माग अनुसार नगरले ल्याएको योजनामा व्यापारीलाई पनि सम्मान गरेको हुँदा वाणिज्यले साथ दिएको बताउँदै वाणिज्यलाई नराम्रो दृष्टिकोणबाट लालक्षना नलगाउन अनुरोध गरे ।

संघका अध्यक्ष बसन्त सोमानीले ठाउँको मायाले शनिश्चरे छाड्न नसकेको बताउँदै व्यवसायबाटै केही आर्थिक घाटा भएतापनि शनिश्चरेलाई राम्रो बनाउन आफू जुटेको बताए । उनले शनिश्चरेलाई सातै दिन बजार लगाउनुपर्ने छलफलमा राखेका थिए ।

बजार व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईले बजारमा बस्ने स्थानीयले घरधनीका रुपमा लिएर मात्र पनि सोच्न नहुने भन्दै उपभोक्ताको माग बमोजिम बजार व्यवस्थापन गरेर स्तरीयतामा ध्यान दिनुपर्नेमा जोड दिए ।

नगरको सोचअनुरुप स्मार्ट सिटी बनाउन विकल्पसँगै अघि बढ्नुपर्नेमा जोेड दिएका उनले शनिश्चरे बजारक्षेत्रमा भएका पसलमा ब्राण्डेड सामान पाउने मार्केटको रुपमा विकास गर्न स्थानीय व्यापारी लाग्नुपर्ने बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी प्रमुख ओजेश ओली, नेकपाका नगर सचिव राजु शेर्मा, वडा नं. ७ का अध्यक्ष नवराम ढुंगाना ‘नविन’, प्रहरी चौकीका प्रसनी अमरबहादुर खड्का, सशस्त्र प्रहरी भवन निर्माण समितिका संयोजक इन्दिवर खड्का, नेपाली कांग्रेसका प्रतिनिधि सन्तोषकुमार श्रेष्ठ, योजना अधिकृत हेमराज सेडाईं, त्रिनेत्र बहुउद्देश्यका अध्यक्ष केशवकुमार खड्का, लालिगुराँसकी अध्यक्ष मेनुका पौडेल, वडा नं. ८ का सदस्य सुशिला सुवेदी लगायतको उपस्थिति रहेको थियो ।