पुरानो स्थानमै बजार लगाउन शनिश्चरे व्यापारीहरुको माग « Yalambar Times
१७ बैशाख २०८१, सोमबार

पुरानो स्थानमै बजार लगाउन शनिश्चरे व्यापारीहरुको माग


यलम्वर टाइम्स
१२ बैशाख २०७६, बिहीबार १०:३०

अर्जुनधारा । शनिश्चरे बजारलाई नगर गौरवको कार्यक्रम अन्तर्गत पर्यटकीय बजार बनाउन लागिरहेको बेला शनिश्चरे बजार क्षेत्रमा पसल खोलेर बसेका व्यापारीहरुले शनिश्चरेमै बजार व्यवस्थित गर्न माग गरेका छन् ।

आईतबार बजार क्षेत्रका व्यापारीहरुले होटल छहारीमा पत्रकार सम्मेलन गर्दै पहिला जहाँ बजार थियो, त्यही ठाउँमा हाटबजार लगाउनुपर्ने आवाज उठाएका थिए ।

पत्रकार सम्मेलनमै अरु बजार बाहिर स्थानमा लगिएतापनि सब्जी बजार भने अहिलेकै स्थानमा रहनुपर्ने कुरा उठाएका थिए । यता नगरपालिकाले बाहिरबाट आउने व्यापारीहरुका लागि बजार सातपत्रे स्थित स्थानान्तरण गरे पनि सब्जी बजार भने नसार्ने जनाएका छन् ।

सम्मेलनमा साना व्यापारीहरुका तर्फबाट प्रतिनिधित्व गर्दै आएका पूर्व माननिय सिद्धार्थ सोमानीले पनि ठूला बजारलाई राम्रो व्यवस्थापन गरे पनि सब्जी बजार यथास्थानमा रहनुपर्नेमा जोड दिए ।

उनले भने, ‘बजार रुपान्तरण गर्दै जाँदा स्थानीय व्यापारीहरुसँग पनि सरसल्लाह लिन जरुरी थियो । त्यसो नगर्दा हाम्रो चित्त दुखाई हो ।’

यसरी नै पुराना व्यवसायी पुष्प रेग्मी बजारलाई सुन्दर बनाउन तपाई हाम्रो कर्तव्य भए पनि स्थानीय व्यापारी वर्गको सल्लाह लिन जरुरी रहेको बताए ।

यसरी नै होटल व्यवसायी विनोद श्रेष्ठले बजारवासीको भावना बुझेर काम अगाडि बढाउन नगरपालिकालाई सुझाव दिएका थिए ।

बजार व्यवस्थापन समिति पूर्व अध्यक्ष कुमार भट्टराईले बढ्दै गरेको बजारलाई व्यवस्थित गर्न र नगरले ल्याएको गौरवको योजनालाई तपाई हामी सबैले सम्मान गरे शनिश्चरेको भविष्य बन्नमा दुइमत हुने छैन । त्यसैले सब्जी बजारलाई व्यवस्थित गर्दै बाहिरबाट आउने व्यापारीहरुका लागि नयाँ स्थान आवश्यक भएकोमा जोड दिए ।

कार्यक्रममा लवकुश गिरी, प्रकाश बुढाथोकी आदिले व्यापारीहरुको भावनाबाट बजार निर्माण गर्नुपर्नेमा जोड दिए ।

स्थानीय व्यापारी प्रकाश श्रेष्ठ, विमल भट्टराई, पशुपति भट्टराई, विनोद पाचकोटी आदिले शनिश्चरे बजारलाई राम्रो बनाउन सबै जुट्नुपर्छ तर व्यापारीहरुलाई व्यवस्थित गरेर मात्र बजार बनाउन उपयुक्त हुने बताए ।

पत्रकार सम्मेलनपछि सिद्धार्थ सोमानीको संयोजकत्वमा संघर्ष समिति गठन गरेका छन् । समितिले बजार बन्द, वडा नं. ८ को कार्यालय र नगरपालिकामा ज्ञापनपत्र बुझाउने भएका छन् ।

शनिश्चरे बजारमा व्यवसाय गर्न बाहिरबाट आउने व्यापारीहरुको उचित व्यवस्थापन गर्दै शनिश्चरे बजारलाई पर्यटकीय नगरीको रुपमा रुपान्तरण गर्न स्थानीय राजनीतिक दल, संघसंस्था, वाणिज्य संघ र नगरपालिकाबीच भएको छलफलपछि नगर गौरव कार्यक्रम अन्तर्गत सुन्दर पर्यटकीय नगर बनाउन नगरपालिकाले गौरवको योजना अनुसार काम अगाडि बढाएको हो ।

बजार यथा स्थानमा लगाउन भनी २३९ जनाले हस्ताक्षर समेत गरेको संयोजक सोमानीले बताए ।