४० वर्षपछिको मुद्दा मिलाउँदा माकुरा समूहको प्रशंसा « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

४० वर्षपछिको मुद्दा मिलाउँदा माकुरा समूहको प्रशंसा


यलम्वर टाइम्स
१७ बैशाख २०७६, मंगलवार १०:२०

अर्जुनधारा । बाजे बिते, बुबा बित्नुभयो तर पनि मोही मुद्दा मिल्न सकेको थिएन, आज भने माकुरा समूहको उपस्थितिमा अर्जुनधारा ११ स्थित १८ घरे समुदायको ऐलेनी टोलको विवादीत जग्गाको मुद्दा मिलेको छ ।

मंगलबार मिलडाँडा स्थित स्थानीय जनप्रतिनिधि तथा संघसंस्था र सञ्चारकर्मीबीच भएको सर्वपक्षिय भेलामा प्रदेश सांसद बृख प्रधान र नगर उपप्रमुख कमला आचार्यको उपस्थितिमा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र माकुरा समूहले उक्त विवादलाई सदाका लागि साम्य पारेको प्रस्ट्याए ।

४० वर्षअघि १८ घरे समुदायसँग ऐलेनी जग्गा जोडिएको थियो । उक्त १८ घरे टोलमा ३६ घरभन्दा बढी मोहीहरु जोतभोग गर्दै आएका थिए । ४० सालमा जग्गाधनी मोतीबहादुर खड्काले १८ घरे टोलको ३६ विगाह जमिन एकलौटी धनीपूर्जा निकालेका थिए ।

उक्त ठाउँमा आधाभन्दा बढी घरधुरीले मोतीबहादुरसँग मुद्दा गर्दै न्यायको भिख मागिरहेका थिए ।

कुनै सरकार आउँदा पनि उक्त मुद्दा मिल्ने छाँटकाँटमा पुगेको थिएन । माननिय प्रेमबहादुर गिरीको अगुवाईमा पनि छलफल नगरेको होइन तर पनि मिल्न सकेन ।

अन्तोतगतः छलफल र सम्वादबाटै १८ घरे टोलका ३६ जनालाई कमाउँदै आएका आधा जमिन दिने शर्तमा जग्गा धनी र जोतपोत गरेकाबीच छलफल भएर निकास निकालिएको उपस्थित माकुरा समूहका जगत राना मगरले जानकारी दिए ।

वडा नं. १० का वडा सदस्य फिपराज कुरुम्बाङ पनि मोहीको रुपमा कमाउँदै आएका थिए । आफूले उक्त जग्गा जोत्दा ३५ साल थियो । तर कसरी हो थाहा नपाइ खड्काहरुले ४० सालमा धनीपूर्जा निकाल्नुभएछ, रै पनि हामीले जोतपोत गर्न भने छाडेनौं ।

पटक–पटकको छलफलबीच कमाउँदै आएका आधा भाग हामी जस्ता ३६ जनालाई दिलाउने प्रयास माकुरा समूहले गरेको हुँदा उक्त समूह धन्यवादको पात्र भएको बताए ।

विभिन्न राजनीतिक दलबीच जग्गा धनी खड्का र जोतभोग गर्नेबीच माकुरा समूहले दुवैलाई सयपत्रीको माला पहिर्याएर द्वन्द समाधान भएको शंखघोष गरे ।

विवाद समाधान कार्यक्रममा वडा नं. १० का अध्यक्ष बलदेव गोम्देनले ४० वर्षपछि प्राप्त अधिकारलाई बेचेर नमास्न अनुरोध गर्दै मोहीका दाबेदार र जग्गा धनी दुवै समूहलाई धन्यवाद प्रदान गरेका थिए ।

वडा नं. ११ का अध्यक्ष भैरव खड्काले धेरै पटक छलफल र बहसपछि विवाद साम्य भएको महसुस गर्दै यसलाई पूर्ण रुपमा दुवैतर्फबाट पालना गरे राम्रो हुने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि नगर उपप्रमुख कमला आचार्यले दीगो शान्ति निर्माणमा माकुरा समूहले खेलेको भूमिका समय सापेक्ष भएको बताउँदै यस्ता कार्य अन्य ठाउँमा पनि गर्दै जानुपर्नेमा जोड दिए ।

प्रमुख अतिथि प्रदेश सांसद बृख प्रधानले सम्बन्ध सुमधुर बनाए समाज द्वन्दमा नफस्ने भएको हुँदा सुमधुर सम्बन्ध बनाउन स्थानीय सरकार संघसंस्था जरुरी भएको बताउँदै द्वन्दलाई प्रस्वय दिने जो कोही व्यक्ति वा समूह समाजका निर्गुणी हुन् ।

सांसद प्रधानले प्रदेश सरकार विवादरही समाज निर्माणमा जुटेको जानकारी दिँदै समाधान खोज्न सबै खोज्न लाग्नु पर्ने बताए ।

कार्यक्रममा सिजलाल चौधरी, श्याम घिमिरे, बुद्धिलाल चौधरी, भोला गौतम र रामबहादुर खड्का आदिले आ–आफ्नो विचार राखेका थिए ।

उक्त सहमतिलाई कार्यान्वयनतर्फ लैजानका लागि बोलप्रसाद कोइरालाको संयोजकत्वमा ११ सदस्यीय र अनुगमनका लागि माननिय बृख प्रधानलगायत ६ सदस्यीय समिति रहेको छ ।

सहमति पत्रमा जग्गा धनी पक्षका मोतीबहादुर खड्का, हरिकुमारी खड्का, राम खड्का, गोपाल खड्का रहेका छन् भने जग्गा उपभोग गर्ने समुदायमा अम्बिका मैनाली, चन्द्र जवेगू, भिष्मराज पौडेल, सन्तबीर तामाङ, अम्मर पुलामी लगायत रहेका छन् ।

सरोकारवाला पक्षमा प्रेमसागर सापकोटा, हेमराज खरेल लगायत रहेका छन् भने रोहवरमा माननिय बृख प्रधान, पूर्व माननिय शेरबहादुर इङनाम, नगर प्रमुख हरिकुमार राना लगायत रहेको माकुरा समूहका जगत रानाले जानकारी दिए ।

पक्ष–विपक्षमा रहेकाबीच १० बुँदे सहमति अनुसार काम अगाडि सारिएको उपस्थित भेलामा जानकारी गराएका थिए ।