शनिश्चरे बजार बनाउन सबै सकारात्मक « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

शनिश्चरे बजार बनाउन सबै सकारात्मक


यलम्वर टाइम्स
२८ बैशाख २०७६, शनिबार ०७:०८

स्थानीय व्यापारी र नगरपालिकाबीच छलफल

अर्जुनधारा । अर्जुनधारा नगरपालिका र शनिश्चरे बजारका व्यापारीहरु बीच शनिश्चरे बजार निर्माण गर्ने विषयमा सकारात्मक छलफल भएको छ ।

अर्जुनधारा नगरपालिकामा रहेका शनिश्चरे बजारका व्यापारीहरुले आफूहरु ‘विकास विरोधी’ नभएकोले सकारात्मक रुपले बुझ्न छलफलमा बताएका थिए ।

नगर प्रमुखको सभाकक्षमा करिब ५ घण्टा सञ्चालन भएको छलफलपछि शनिश्चरे बजारलाई गौरवको योजना अन्तर्गत निर्माण गर्न सकारात्मक भएको बताएका थिए ।

नगर प्रमुख हरिकुमार रानासँग भएको कुराकानीमा व्यापारीहरुले हार्दिकतापूर्ण र सौहार्दपूर्ण कुराकानी भएको बताएका छन् ।

शनिश्चरे बजारको विविध समस्या कसरी समाधान गरी अगाडि बढ्ने भन्नेबारे खुलेर नगर प्रमुखमाझ आफ्नो धारणा राखेँको छलफलमा सहभागि व्यापारीहरुले बताए ।

नगरपालिकाले नगर गौरवको योजनाअनुसार शनिश्चरे चौकमा व्यवस्थित पार्क निर्माण गर्दै सदियौँदेखि लाग्दै आएको साप्ताहिक हाट सारिएको विषयमा केही व्यापारीले विरोध गरिरहँदा घनिभूत भएको छलफलमा व्यापारीहरुले आफू विकास विरोधी नभएको बताएका थिए ।

अर्जुनधारा उद्योग वाणिज्य संघले व्यापारीसँग वार्ता, संवाद नगरेको, द्वैध चरित्र बोकेर नगरपालिका र व्यापारीसँग व्यवहार गरेको, नगरपालिकाले पनि कुनै विकल्पबिना नै हटिया सारेको र स्थायी व्यापारीका हितमा सम्बोधन नभएको भन्दै बजारक्षेत्रका व्यापारीले संघर्ष समिति गठन गरेर केही दिनदेखि विरोध जनाउँदै आएका छन् ।

यसैबीच, वाणिज्य संघको पदाधिकारीले स्थानीय व्यापारी विकास विरोधी हुन् भन्ने संकेत गर्दै सामाजिक सञ्जालमा लेख्ने गरेकोप्रति असहमति जनाउँदै सरगम होटलका सञ्चालक विनोद श्रेष्ठले व्यापारी विकास विरोधी नभएको आफ्ना भनाइ राखे ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा भएको छलफलमा बोल्दै श्रेष्ठले बजार व्यवस्थापनमा नगरले समन्वय नगरे पनि वाणिज्य संघले सहकार्य गर्नुपर्नेमा कुनै पहल नगरेको गुनासो गरे ।

वाणिज्य संघ र वडा कार्यालयले व्यापारीको समस्यामाथि सम्बोधन नगरेको दोहो¥याएका उनले सरोकारवालासँग छलफल र प्रक्रियामा नगएकाले समस्या सिर्जना भएको बताए ।

‘हटिया सारिएकोमा हाम्रो विरोध होइन’, उनले भने, ‘व्यापार घटेकोमा चिन्ता हो, विगत ६ महिनाको कारोबार डरलाग्दो छ ।’ नगरसँग त्यस्तो कुनै विकल्प वा सोच भए व्यापारी स्वागत गर्न तयार रहेको उनको भनाइ थियो ।

नगर गौरवको योजनाअनुरुप शनिश्चरे बजारमा कसरी पर्यटक आकर्षित गर्ने भन्नेबारे सरोकारवालासँग सहकार्य गर्न अनिवार्य रहेको बताउँदै उनले बजारमा ग्राहक घटेकोप्रति फेरि चिन्ता व्यक्त गरे ।

नगर प्रमुख रानाले राम्रो र आधुनिक बजार बनाउनका लागि स्थानीय व्यापारीले केही कुरामा त्याग गर्नुपर्ने बताए ।

व्यापारीको समस्या वाणिज्यसँग बसेर छलफल गर्नसके समाधानमा पुग्न सकिने बताएका प्रमुख रानाले के विषयमा छलफल नगर्ने भन्ने विषय पनि अन्योल नै रहेको सुनाए ।

‘के ठिक, के बेठिक भन्ने नछुट्टिएसम्म करेक्सन गर्न पनि सकिन्न’, उनले भने, ‘समर्थन गरेर जाने ठाउँ पनि देखिन्न ।’ नगरले अघि सारेको नीति गलत वा त्रुटि भए सुझाव लिन तयार रहेको बताउँदै उनले समृद्ध नगर बन्नेमा सबै व्यापारीको साथ रहेको आशा व्यक्त गरे ।

असन्तुष्ट व्यापारीले वाणिज्यमा तालाबन्दी गरेको भन्दै वाणिज्यले नगरमा निवेदन दिएको बताउँदै मेयर रानाले दुई दिनभित्र छलफलको माध्यमबाट निकास निकाल्नुपर्नेमा जोड दिए ।

सोही निर्णयका आधारमा बजार व्यवस्थापनको स्थायी प्रक्रिया अघि बढाइने पनि उनले जानकारी गराए ।

छलफलमा बोल्दै बजारबासी गौरीशंकर श्रेष्ठले चोकका होटल तथा चिया पसललाई सकेसम्म नसार्न आग्रह गर्दैै बरु चोकमै व्यवस्थित गर्नुपर्ने धारणा राखेँ ।

सकेसम्म हटिया पनि नसारौँ भन्ने विचार राखेका उनले कृषि बजार चाहिँ सार्नै नमिल्ने जिकिर गरे ।

त्यस्तै, व्यवसायी राजु दाहालले वाणिज्य संघको दोहोरो भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै आक्रोस पोखे ।

अर्का व्यवसायी, विमल भट्टराईले व्यापार नचल्ने अवस्था आइसकेकाले विकल्पसहितको स्मार्ट सिटी बनाउन स्थानीय सरकारले पहल गर्नुपर्ने बताए ।

उनले सर्भे गरेर सडक, बजारलाई कति क्षेत्र चाहिन्छ छुट्याउन आग्रह पनि गरे । अर्का व्यापारी प्रकाश श्रेष्ठले शनिश्चरेको बजार खुद्रा बजार भएको, बजार भनेको भीडभाड नै हो भन्दै सकिन्छ भने चोकको वरिपरि नै बजार लगाउन आग्रह गरे ।

बजार व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा प्रेस क्लका अध्यक्ष कुमार भट्टराईले सातै दिन बजार लाग्ने सब्जी हट्टीलाई सबै व्यापारीले नसार्न मनसाय व्यक्त गरेकोमा समर्थन जनाउँदै नगरले साविककै स्थानमा व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

बजार सारिएको भन्दा पनि सब्जी हट्टी सारिनेमा व्यापारीको चिन्ता रहेको भन्दै उनले सब्जी बजारलाई दिगोरुपमा व्यवस्थित बनाउन पनि सुझाव दिए ।

छलफलमा नेकपाका नगर सचिव राजु शेर्मा, नेपाली कांग्रेसका नगर सभापति हेमराज खरेल, ७ नम्बर वडाध्यक्ष नविन ढुंगाना लगायतले आफ्ना धारणा राखेका थिए ।

नगरको मुख्य सडक निर्माणाधीन अवस्थामा रहेकाले त्यसको व्यवस्थापन एक वर्षभित्र हुने नगर प्रमुख रानाले बताए ।

पर्यटक आकर्षणका निम्ति व्यापारीले सेवा सुविधामा ध्यान दिनु पर्ने बताउँदै प्रमुख रानाले स्तरीयता, अग्र्यानिक वस्तु, अखाद्य वस्तुको प्रयोगमा कमि, म्याद गुज्रेका सामानको बिक्री गर्न नहुनेप्रति व्यापारी सचेत हुनुपर्ने बताए ।

बजारको फोहोर बाहिरको मानिस आएर बनाउने नभइ बजारबासी, व्यवसायीबाटै उत्पन्न हुने भएकाले त्यसको सहज विसर्जन कसरी गर्ने भन्नेबारे पनि व्यापारी मानसिकरुपमा तयार हुनुपर्नेमा उनले जोड दिए ।

छलफल सकारात्मक भएको र सबै बसेर सिङ्गो शनिश्चरे बजारको साझा समस्यालाई मिलेर हल गर्नुपर्छ भन्नेबारे एक मत रहेको बताइएको छ ।