मर्ने–मार्ने काम बन्द होस् « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

मर्ने–मार्ने काम बन्द होस्


यलम्वर टाइम्स
३१ असार २०७६, मंगलवार ०४:२०

सँगै हिड्ने, सँगै लड्ने, साह्रै मिल्ने साथी पेशाले अलग भएपछि कर्तव्य पालना गर्दा दुवैको एउटै चिहान बन्न पुगेको छ । भोजपुरमा यस्तो घटना भएपछि अब कहिले यस्तो घटना नदोहोरियोस् भन्दै चारैतिरबाट विरोधसँगै आलोचना हुन थालेको छ । दश वर्षे जनयुद्धको असरले मुलुकलाई उधोगतिमा पु¥याइरहेको बेला एक्कासी मर्ने र मार्ने खेलमा मुलुक दौडिंदा अब आउने पिढीको अवस्था के होला ? कस्तो बन्ला ? चिन्ताको विषय बनेको छ ।

हिजो राज्य एकिकरणको अभ्यासमा धेरै मानिसहरुले अनाहकमा ज्यान गुमाए । पूर्वको एकिकरण अभ्यासमा हजारौं किरातीहरुले जीवनको कुर्वानी गर्नुप¥यो । त्यसपछिको प्रजातन्त्र हुँदै १० वर्षे जनआन्दोलनले पनि त्यस्तै इतिहासले सम्झना गराएको छ । हिजो एकिकरण गर्दै पूर्व आउँने क्रममा पृथ्वीनारायण शाहका वफादार फौजी प्रमुख रघु राना मगर र पूर्व किराती लडाकु प्रमुख काङसोरे बीचको युद्धले धेरै किरातीहरु एकिकरणको नाममा नासिएका थिए । गत बुधबार बिहान ८ बजे भोजपुर जिल्लामा भएको घटनाले त्यहि दर्शायो ।

जनताको बलिदानी पूर्वक आएको लोकतन्त्र र त्यसलाई गोडमेल गरी ल्याएको संविधानसँगै राज्य व्यवस्थाले नेपाली जनतालाई शान्तिको सास फेर्ने अवसर दिने छ भनि दुई तिहाई सरकारसँग भरोसा गरिरहेको बेला मार्ने मराउने खेलमा सरकार पुग्छ भने अब नेपाली जनताले कस्को भरोसा गर्ने ? भोजपुरको घटना पछिल्लो समयको प्रतिनिधि पात्र मात्र हो । यस्तै घटना खोटाङ, उदयपुर, पूर्व धनकुटा तर्फ धकेलिंदै गयो भने तेस्रो जनआन्दोलनको सूत्रपात हुन बेर छैन । त्यसपछिको मुलुकको अवस्था कस्तो होला ? कल्पना गरौं । त्यसमा पनि सत्ता पक्ष र युद्धमा देखिंदै आएका नेत्रविक्रम पक्षले जातीयताको नश्लमा एकअर्कालाई मार्न जुटायो भने मुलुक कुन अवस्थामा पुग्छ ? त्यसलाई बिचार पु¥याइ दुवै पक्ष वार्तामा जान जरुरी छ । त्यस तर्फ ध्यान दिनु आजको आवश्यकता पनि हो ।