कृषिथोक बजारलाई कसले ध्यान दिने ? « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

कृषिथोक बजारलाई कसले ध्यान दिने ?


यलम्वर टाइम्स
१८ श्रावण २०७६, शनिबार ०३:०८

बिर्तामोड नपा ५ का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन कृषिथोकमा अनुगमन गर्दै ।

बिर्तामोड । शुद्ध तरकारीहरुको बिक्री केन्द्रको रुपमा खोलिएको कृषिथोक बजारमा यो बेला समितिको पूर्ण ध्यान पुग्न नसक्दा र स्थानीय सरकारको स्वामित्वमा नआउँदा अन्योलमा सञ्चालन भएको देखिन्छ ।

बिगत २२ वर्ष अघिदेखि कृषि मन्त्रालय अन्तर्गत सञ्चालनमा आएको कृषिथोक बजारमा स्थानीय व्यापारीहरु प्रवेश गरी मापदण्ड विपरित सञ्चालन गर्दै आएको देखिन्छ ।

करिब ४ विगाह क्षेत्रफलमा सञ्चालित उक्त कृषिथोक बजारमा नेपाल बाहेक ४ वटा देशको तरकारीहरु भित्रिने गरेको वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बताए ।

कृषिथोकमा भारत, बंगलादेश, भुटान लगायत स्वदेशका गरी करोडौं मूल्य बराबरको तरकारी व्यापार हुने गरेको छ । तरकारी मात्र होइन, फलफुल पनि त्यतिकै मात्रामा भित्रिने गरेको देखिन्छ ।

बाहिरबाट आउने तरकारी र फलफुलमा विषादी प्रशस्त भएको राज्य पक्षबाट कुरा उठेपछि बाहिरबाट आउने तरकारी तथा फलफुलमा विषादी मापन गरिँदै आएको अध्यक्ष लिङ्देनले बताए ।

‘हाल कृषिथोक बजार व्यवस्थापनको लागि संयोजकमा चन्द्र डाँगी फर्मका धनबहादुर थापा हुनुहुन्छ । उहाँ फर्ममै व्यस्त देखिने हुँदा कृषि मन्त्रालयले स्थानीय सरकारलाई स्वामित्व हस्तान्तरण गरे कृषि बजार पूर्वकै उत्कृष्ट हुने छ’, अध्यक्ष लिङ्देन भन्छन् ।

उक्त बजारमा साना–ठूला गरी ३२० भन्दा बढी पसलहरु सञ्चालनमा छन् । बजारमा पछिल्लो समय आफू खुशी पसल राखेर कृषि बाहेकका व्यापार हुन थालेपछि कृषिथोकले गति लिन नसकेको हो कि भन्ने अध्यक्ष लिङ्देनको ठहर छ ।

कृषि बजारमा उत्पन्न भएको फोहोरलाई व्यवस्थापन गर्न नसक्दा पनि कृषि बजार दुर्गन्धित हुन पुगेको छ । आफू स्वयम पनि यसको पदेन सदस्य भएको कारणले यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा चिन्ता छाएको अध्यक्ष लिङ्देनले बताए ।

कृषिथोक बजारमा हिजोआज मदिरापान बिक्री वितरण गर्ने होटलदेखि प्रशस्त मासु पसल पनि खोलिएको छ । कृषि मन्त्रालयको मापदण्ड विपरीत खोलिएको हुँदा मन्त्रालयले स्थानीय सरकारलाई हस्तान्तरण गरे कृषिथोक बजारको स्वरुप भिन्न भएर आउने थियो ।

स्थानीय सरकारले कृषि मन्त्रीलाई कृषि बजारको विषयमा अवगत गराएपछि नीति र नियम बनाएर अगाडि बढाउने बताएका थिए ।

२०५४ सालमा बिर्तामोडको अस्तव्यस्तालाई ध्यानमा राखि कृषिथोक बजारमा ठेलाबाट तरकारी भित्र्याउने काम भए लगत्तै कृषिथोक बजारले स्थान पाएको थियो ।