गैर नेपालीलाई नागरिकता दिएको भन्दै खरिदार न्यौपाने सहित ५ पाँच पक्राउ « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

गैर नेपालीलाई नागरिकता दिएको भन्दै खरिदार न्यौपाने सहित ५ पाँच पक्राउ


यलम्वर टाइम्स
१६ भाद्र २०७६, सोमबार ०७:४४

झापा । १६ जना गैर नेपालीलाई नेपाली नागरिकता दिएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपाने सहित पाँच जना पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपाने, भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज बराल, प्रेमराज तिमल्सिना र भीमबहादुर लिम्बू छन् ।

पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

गैरनेपालीलाई नागरिकता दिएको भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृतसहित तीन कर्मचारीलाई निलम्बन गरी यसअघि नै छानविन शुरु गरेको थियो ।

निलम्बनमा पर्ने कर्मचारीमा जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुङ्गेल, नायबसुुब्बा मेगराज निरौला र खरिदार तेजिन्द्र न्यौपाने छन् । उनीहरुले आर्थिक प्रलोभनमा परी ‘सेटिङ’मा गैरनेपालीलाई नागरिकता दिएको आरोप छ ।

गैरनेपालीलाई नागरिकता दिन सिफारिश गर्ने भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष शनिलाल राजवंशीमाथि समेत छानविन थालिएको प्रहरीले जनाएको छ ।

प्रशासन स्रोतका अनुसार वि.सं २०७३ देखि २०७६ सम्ममा १६ गैरनेपालीलाई नागरिकता दिइएको छ ।