तीज कार्यक्रम हुँदा माईती गाउँमा बालन गाएको झझल्को « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

तीज कार्यक्रम हुँदा माईती गाउँमा बालन गाएको झझल्को


यलम्वर टाइम्स
१६ भाद्र २०७६, सोमबार ०८:४९

अर्जुनधारा । तीज नेपाली नारीहरुका लागि मीठो मसिनो खाने मात्र नभई श्रीमान र सन्तानको दीर्घायुको कामना गर्ने पवित्र पर्व पनि हो ।

यसै अवसरलाई मध्यनजर गर्दै आज अर्जुनधाराको देवकोटा चोकमा नेपाल उद्यमशील महिला संघ अर्जुनधाराले हर्षोउल्लासका साथ तीज पर्व मनाएको छ ।

व्रत र मनोरञ्जन दुवै लिएर देवकोटा चोकमा चेलीका भाव बोकेका अनगिन्ती गीतमा ५ वर्षे बालिकादेखि ६५ वर्षे वृद्ध महिलासमेत तीजका गीतमा नाच्दै रमेका थिए ।

महिला नेतृ कुसुम राई, देवकला प्रसाई र मिश्रकुमारी राई लगायतले कार्यक्रम उद्घाटन अघि बालन गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

सुरु–सुरुमा उल्लेखिय जमघट त थिएन, कुसुम राईले माइक समातेर आफ्नो कला प्रस्तुत गर्दा हेर्नेहरुको संख्या जमेको थियो ।

उनको घर खोटाङ हो । खोटाङ्गे राईहरुको घरमा विवाह, पर्व हुँदा स्थानीय क्षेत्री, बाहुन समुदायकालाई बोलाएर बालन नचाउने चलन छ ।

त्यसैलाई स्मरण गर्दै राईले तीज कार्यक्रम सुरु हुनुअघि माईती गाउँलाई सम्झदै बालन गीत गाएको स्मरण गरिन् । उनले तीज पर्वको समयमा माईती गाउँमा हुने कार्यक्रमको समेत स्मरण सुनाइन् ।

प्रमुख अतिथि नगरपालिकाकी उपप्रमुख कमला आचार्यलाई आमन्त्रणा थियो । उनको ढिलो उपस्थितिले विशेष अतिथि वडा नं. ८ का अध्यक्ष गोपीचन्द्र गौतमले व्यानर पढेर उद्घाटन गरेका थिए ।

संघकी अध्यक्ष सरु बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा जानुका प्रसाई, महेश ढकाल, उमा बुढाथोकी, बुद्धिलाल कटुवाल, कमल न्यौपाने, डम्बरकुमारी खरेल, चतुर्भुज काफ्ले, देवकला प्रसाई, दिपीन राई, राधिका बुढाथोकी, किरण कटुवाल लगायतको आतिथ्य रहेको थियो । उपस्थितहरुलाई संघका उपाध्यक्ष देवीमाया पोखरेलले स्वागत गरेकी थिइन् ।

सोही समयमा महिला उद्यमी मीनादेवी सार्कीलाई विशेष अतिथि गोपीचन्द्र गौतमले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सम्मानित मीनादेवीले श्रीमान अस्वास्थ्यका कारण जुत्ता बनाएर व्यवसाय सञ्चालन गरेको भन्दै सम्मान गरेको सचिव गीता अधिकारीले बताइन् ।

कार्यक्रममा नृत्य प्रस्तुत गरेका १५ जनालाई संघले उत्पादन गरेका विभिन्न सामग्रीहरु उपहार स्वरुप प्रदान गरिएको थियो ।