अर्जुनधारामा हिंसा न्यूनिकरण सचेतना « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

अर्जुनधारामा हिंसा न्यूनिकरण सचेतना


यलम्वर टाइम्स
२१ भाद्र २०७६, शनिबार ०३:५८

अर्जुनधारा । मानव बेचबिखन तथा ओसार पसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसरमा यस क्षेत्रका विद्यार्थीहरुमाझ सचेतनामूलक कार्यक्रम गरिएको छ ।

समुदाय प्रहरी नगरपालिका समिति अर्जुनधाराको आयोजनामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख तथा समुदाय प्रहरी नगरपालिका समितिका अर्जुनधारा संयोजक हरिकुमार रानाले महिला हिंसा र मानव वेचविखनको अन्त्य गर्न आफू र सिङ्गो नगरपालिका लागि परेको बताए ।

गत वर्ष आफ्नो नगरपालिकामा सचेतना अभियानसँगै महिला हिंसा न्यूनिकरणबारे कार्यक्रम गरेपछि हिंसा केही न्यून भए पनि निर्मूल पार्न सचेतना, छलफल र विभिन्न रचनात्मक गतिविधि गर्दै जानुपर्ने अनुभव सुनाए ।

प्रमुख रानाले अझै पनि महिला हिंसा न्यूनिकरण हुन नसकेकाले प्रदेश उत्कृष्ट हुनबाट बञ्चित भएकोमा दुःख व्यक्त गरे ।

‘अर्जुनधारा नगरपालिका सबै कार्यमा अब्बल भई प्रदेश नम्बर १ उत्कृष्ट हुन लागेका थियो तर हाम्रै नगरमा बलात्कारका घटना देखिन थालेपछि हामी चुक्यौं र हाम्रो नपा उत्कृष्ट हुन सकेन’ प्रमुख रानाले भने ।

उनले यो वर्ष महिला हिंसा र मानव बेचबिखन नभएको समेत जानकारी गराए । प्रमुख रानाले विद्यार्थीलाई सचेत, सहयोगी, इमान्दार र क्रियाशील भएर आफ्नो दायित्व पूरा गर्न समेत अनुरोध गरे ।

ईलाका प्रहरी कार्यालय अनारमुनीका प्रमुख डीएसपी मोहनकुमार थापाले यौन दासता, बलपूर्वक श्रम शोषण, व्यवसायिक यौन शोषण, मानव अंग झिक्ने उद्देश्यले मानव बेचबिखन तथा ओसारपसार जस्ता अपराधिक घटनाहरु हुँदै आएको बताए ।

डीएसपी थापाले तथ्याङ्क प्रस्तुत गर्दै गरिबी, माया नपाएका, आत्मविश्वासको कमी, परिवारबाट छाडिएका व्यक्तिहरु सजिलैसँग बेचबिखनमा पर्ने गरेको जानकारी गराए ।

उनले यस्ता क्रियाकलाप न्यूनीकरण गर्न प्रहरीमात्र नभई समाज पनि सचेत हुनुपर्नेमा जोड दिए । मानव बेचबिखन गर्नेहरुमा चिनजानका स्थानीय दलाल, परिवारका सदस्य तथा नातेदार, वेश्यवृत्तिमा संलग्न स्थानीय व्यक्तिहरु नै हुने गरेको तथ्य सार्वजनिक गरे ।

कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष गोपीचन्द्र गौतम, वडा नं. १० का वडाध्यक्ष बलदेवसिंह गोम्देन अर्जुनधारा नगरपालिकाका कार्यपालिका सदस्य दिलमाया शिवा, शनिश्चरे माविका प्रधानाध्यपक चेतामणि खनाल लगायतले भौतिक विकासले मात्र समाज समुन्नत नहुने बताउँदै समय समयमा मानव चेतनाका कार्यक्रमहरु गर्नुपर्ने बताए ।

अर्जुनधारा नगरपालिकाका प्रमुख तथा समुदाय प्रहरी नगरपालिका समितिका अर्जुनधारा संयोजक हरिकुमार रानाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन इन्सेकका झापा प्रतिनिधि नरेश खातीले गरेको थिए ।