‘संविधान परिवर्तनकारीको पक्षमा’ « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

‘संविधान परिवर्तनकारीको पक्षमा’


यलम्वर टाइम्स
४ आश्विन २०७६, शनिबार ००:०६

[लीला राई]

अर्जुनधारा । माननिय सांसद धर्मशीला चापागाईले २०७२ को संविधान परिवर्तनकारीको पक्षमा भएको बताएकी छिन् ।

अर्जुनधारा नगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चापागाईले राजाबाट लालमोहर लगाएको संविधानबाट जनताले पाएको सास्ती कठोर पूर्ण र यातना पूर्ण भएको हामीले बिर्सेका छैनौं, त्यसैले जनताबाट अनुमोदित भएको संविधान २०७२ लाई सफल तुल्याउन तपाई हामी लाग्नु पर्ने बताइन् । उनले एक थरी शक्ति पुराना शक्तिलाई ब्यूझाँउने दाउमा लागेको हुँदा त्यस्ता शक्तिलाई हामी चुनौति दिन्छौं ।

कार्यक्रममा अर्का अतिथि नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले नेपाली जनताको भावनाबाट बनेको संविधान भए पनि धेरै कुरा समेट्न बाँकी रहेको बताए ।

परिवर्तनको सिलसिलामा आफू पनि यातना पीडित भएको बताउँदै नेपाली जनतालाई सर्वभौम सत्ता बनाउनका लागि संविधानमा धेरै कुरा समेट्नु पर्ने बताए ।

सभापति थापाले संविधान लेखनमा नेपाली कांग्रेसका झापा नेता कृष्ण सिटौला र पूर्व प्रधानमन्त्री स्वर्गीय सुशिल कोइरालाको योगदानलाई सम्मान गर्दै वर्तमान प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई आभार प्रकट गरे ।

अर्का वक्ता देवराज घिमिरेले जनताको बलिदानी पूर्वक आएको संविधानलाई सञ्चय गरेर अगाडि बढे नेपालीको भविष्य रहेको बताए ।

कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले शहीदको बलिदानीपूर्वक स्थानीय सरकार बनेको हुँदा शहीदका परिवारलाई सम्मान गरिएको समेत बताए ।

को–को भए सम्मानित ?

संघीय लोकतान्त्रिक संविधान निर्माणका लागि सहादत्त प्राप्त शहीदका परिवारलाई संविधान दिवसको अवसर पारेर अर्जुनधारा नगरपालिकाले सम्मान गरेको छ ।

जनयुद्ध तथा शाहीकालमा राज्यबाट चरम यातनासँगै अंगभंग भएकाहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा शहीदका परिवारतर्फ बेनुप राई, हस्त लिम्बू, चन्द्र भट्टराई, निर्माण आचार्य, पवित्रा दंगाल, पुण्यप्रसाद अधिकारी, लीलाकुमार खनाल, धनमाया प्रधान, नरहरि आचार्य, दुर्गाबहादुर डागी, प्रेमकुमारी पौडेल, मैया आचार्य, केदार गिरी, जितुमाया मगर रहेका छन् ।

यसरी नै बेपत्ताबाट कुशे धिमाल, केदार खनाल, खड्क लोकान्ते घाइते अपाङ्गमा सुजा लिम्बू, पूर्णबहादुर खड्का, खड्गबहादुर कन्दङ्वा रोशन, उद्धव थापा, दिपक तामाङ, जगत प्रधान, प्रदिप राई रहेका छन् ।

शहीद तथा घाइते र यातना पीडितहरुलाई कार्यक्रमका प्रमुख अतिथि माननीय धर्मशीला चापागाईं, विशिष्ट अतिथि प्रदेश सांसद बृख प्रधान, माननीय भक्त खपाङ्गी लगायतले दोसल्ला र सम्मानपत्रबाट अभिनन्दन गरेका थिए ।

नगर प्रमुख हरिकुमार रानाको सभापतित्वमा भएको कार्यक्रममा माननीय प्रेमबहादुर गिरी, नेपाली कांग्रेस झापा सभापति उद्धव थापा, नेकपा प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे, राप्रपा नगर कमिटी अध्यक्ष लवकुश गिरी, वडाध्यक्ष गजाधर खतिवडा, रघुनाथ खनाल, जीवनकुमार भण्डारी, दुर्गा दाहाल, ध्यानबहादुर भारती, लोकनाथ गौतम, नवराम ढुंगाना, गोपीचन्द्र गौतम, पुष्प प्रसाई, बलदेवसिंह गोम्देन, भैरव खड्का लगायतको आतिथ्य रहेको थियो भने बोर्ड सदस्य सकुन्तला बराल, हरिमाया भण्डारी, सारदा कुमारी भट्टराई, दिलमाया दास, लक्ष्मी राई, दिलीप गुरुङ, रमेश त्रिखत्री, खिनमान दास, नगर खेलकुद समितिका सदस्य अर्जुन मेचे, नगर कला संस्कृति प्रबन्ध समितिकी सुशिला सुवेदी लगायतको आतिथ्य रहेको थियो ।

यसरी नै नेकपा अध्यक्ष प्रेमसागर सापकोटा, सचिव राजु शेर्मा, शिक्षक महासंघ अध्यक्ष पुण्य सुवेदी, प्याव्सन अध्यक्ष रुद्रप्रसाद सिटौला, ज्येष्ठ नागरिक अध्यक्ष रामप्रसाद भट्टराई, आदिको आतिथ्य रहेको नगरले जनाएको छ ।

प्रशासकीय प्रमुख पंकज भुर्तेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर सदस्य होमनाथ दुलालले गरेका थिए ।

बिहान नगरपालिकाबाट प्रभात फेरि गरिएको कार्यक्रममा बीर शहीद अम्मर रहुन्, नेपालको संविधान–२०७२, जिन्दावाद !, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल– जिन्दावाद ! र राष्ट्रिय एकता कायम रहोस् भन्ने नाराका साथ परिक्रमा गरिएको थियो । परिक्रमा नगर प्रमुख हरिकुमार रानाको अगुवाईमा भएको थियो ।

अर्जुनधारामा शान्ति समितिले घाइते तथा हिरासतमा पीडा भोगेका नामहरु धेरै भए पनि उनीहरुका नाम सम्मान कार्यमा नआउँदा खल्लो महशुस भएको प्रतिकृया दिएका थिए ।

उक्त प्रतिकृयालाई सम्बोधन आयोजकले आउने समयमा बाँकी योद्धाहरुलाई सम्मान गरिदैँ लगिने भएको जनाइएको छ ।