अर्जुनधारा धामको ३७ औं अनुष्ठानमा ५ लाख बढीले गरे अवलोकन « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

अर्जुनधारा धामको ३७ औं अनुष्ठानमा ५ लाख बढीले गरे अवलोकन


यलम्वर टाइम्स
१० मंसिर २०७६, मंगलवार १३:०४

५५ लाखभन्दा बढी संकलन हुने अनुमान

अर्जुनधारा । अर्जुनधारा जलेश्वरधामको ३७ औं वार्षिक अनुष्ठानमा ५ लाखभन्दा बढी भक्तजनहरुले अवलोकन गरेको बताइएको छ ।

मंसीर २ गतेबाट ९ गते समापन भएको बालाचतुर्दशीका दिन पितृ मोक्षको लागि शतबीज छर्न आउने श्रद्धालु भक्तजनसहित ५ लाखले अवलोकन गरेको धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए ।

कोषाध्यक्ष जोशीका अनुसार यो वर्ष भक्तजनहरुको सहयोग ५५ लाख कट्ने अनुमान रहेको समेत बताए । यसै हप्ताभित्र आय–व्ययका सम्पूर्ण विवरण तमाम् भक्तजनमाझ जानकारी दिने समेत जनाए ।

पूर्वको पशुपतिनाथले प्रचलित अर्जुनधारा जलेश्वरधाम मानव सेवा अन्तर्गत ५ हजारले आँखा परीक्षणसँगै चस्मा समेत वितरण गरिएको हुँदा विभिन्न क्षेत्रबाट सेवा लिन समेत सहभागि भएका थिए ।

‘पुराण पनि सुनिन्छ, सेवा पनि लिइन्छ’ भन्ने उद्देश्यले आएका भक्तजनहरुले धामको प्रशंसा गर्दै लिन मात्र जानेन धामले गरिब असाहयहरुका लागि दिन पनि जानेको सहभागि ७५ वर्षीय चन्द्रा सुवेदीले बताइन् ।

धामले १३ गतेबाट हातखुट्टा नहुने विकलाङ्गहरुका लागि सेवा प्रदान गर्ने अध्यक्ष नविन गट्टानीले जानकारी दिए ।

खाद्य विभागका संयोजक सुरेन्द्र साहले २० हजारभन्दा बढीले महाप्रसाद सेवन गरेको र १६ हजारभन्दा बढीले खाना खाएको जानकारी दिँदै महाप्रसादको लागि समाजसेवी जगदिश मुन्डाले सहयोग उपलब्ध गराएको बताए ।

यसै पुराण अवधिभरि नै शनि मन्दिरको पनि भव्य उद्घाटन भएको र गंगा आरतीले मनोकांक्ष पुरा गरोस्भन्दै आरतीमा सरिक हुनेहरुको संख्या उल्लेखीय भएको धामका उपाध्यक्ष चन्द्रकला भण्डारीले जानकारी दिइन् ।

विभिन्न संघसंस्था तथा मठमन्दिरका प्रतिनिधिहरु उत्तिकै सहयोगी भएर खटेको समापन समयमा स्वयम्सेवक अन्तर्गत रेडक्रस, स्काउट, स्वस्तिका र इष्ट होराइजनका एनसीसी टिम, जुनियर रेडक्रस, सशस्त्र, जनपथ प्रहरीहरुको उत्तिकै सहभागिता रहेको थियो ।

सशस्त्र प्रहरी शनिश्चरेका प्रमुख द्रोण विष्ट, जनपथ बिर्तामोड प्रमुख मोहन थापाको टिमले शान्ति सुरक्षाको व्यवस्था कडा ढंगबाट गरेको धामका सदस्य चित्रसेन भण्डारीले जानकारी दिए ।

धामलाई शोभा बढाइदिन जगत गुरु शंकराचार्य हेमानन्द गिरी साथै नेपाली कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, नगर प्रमुख हरिकुमार राना, प्रशासकीय प्रमुख पंकज भुर्तेल, लगायत सबै क्षेत्रका सरकारी प्रतिनिधिहरुको बलियो सहभागिताले धामलाई पूर्णता प्रदान गरेको उपाध्यक्ष अम्बिका भण्डारीले जानकारी दिए ।

जागम बसेका तीर्थ यात्रीहरुको लागि अर्जुनधारा स्वास्थ्य सेवा केन्द्रले सेवा प्रदान गरेको कृष्ण प्रणामी मंगल धामले चिया, नास्ता साथै विभिन्न संस्थाले आर्थिक संकलनमा सहयोग पु¥याएको धामका अर्का उपाध्यक्ष भिमचन्द्र भट्टराईले जानकारी दिए ।

यसरी नै आकाशे पुल निर्माण गरेर शतबीज छर्न सजिलो भएको हुँदा वृद्धदेखि बालकसम्मकाले सजिलै ढंगबाट शतबीज छर्न सहज भएको सचिव शिव खतिवडाले प्रतिक्रिया दिए ।

सदाभन्दा यो वर्ष दुले चोरहरुलाई कडा निगरानी र सीसी क्यामेरा प्रयोग गरिएको हुँदा गहना हराउने कार्य कम भएको सदस्य शंकर सुवेदीले जानकारी दिए ।

चारैतिर शतबीज छर्ने कार्य भए पनि पर्यटन वर्ष २०२० लाई मध्यनजर गर्दै अनुष्ठान गरिएको हुँदा सदाभन्दा बढी धार्मिक व्यक्तित्वहरुको आगमन भएको धामले जनाएको छ ।

उद्घाटन समयमा किरात धर्म गुरु आत्मानन्द र गुरुआमा पवित्राहाङमाको देवासनसँगै आशिर्वचन प्रदान गरिएको हुँदाले पनि यो वर्ष दर्शन गर्नेहरुको संख्या उल्लेखीय भएको अनुमान गर्न सकिन्छ ।