रिहाले ‘आहा ! म हिड्ने भएँ’, भन्दा आमा र हजुरआमाको आँखा रसाए « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

रिहाले ‘आहा ! म हिड्ने भएँ’, भन्दा आमा र हजुरआमाको आँखा रसाए


यलम्वर टाइम्स
१५ मंसिर २०७६, आईतवार ०८:०२

अर्जुनधारा । शनिबार अर्जुनधारा जलेश्वरधाममा विकलाङ्गहरुको निकै घुइचो थियो । कोही विकलाङ्गहरु आफन्तसँग आएका थिए, कसैले बोकेर ल्याएका थिए । करिब ४ः३० बजेको समय थियो । श्रवण हलबाट ८ वर्षे बालिका रमाउँदै, हाँस्दै ‘आहा ! म हिड्ने भएँ’ भनेपछि उनको आमा र हजुरआमाको मात्र आँखा रसाएनन् अन्य उपस्थितहरुको पनि मन छोएको थियो ।

३७ औं अनुष्ठानको उद्घोषले मानव सेवामा समर्पित हुने भनाइ राखेपछि यो वर्ष नेत्र रोगी र हात, खुट्टा नहुनेहरुका लागि निःशुल्क शिविर राखिएको थियो । शिविरमा ८ वर्षे बालकमात्र होइन, ८० पार गरेका विकलाङ्ग वृद्धहरुको उपस्थिति थियो ।

त्यही शिविरमा रिहा कार्की खुट्टा लगाएपछि दौडिदै बाहिर निस्किन । छोरी लड्छिनकी भनेर आमा र हजुरआमा पनि पछिपछि आए । छोरी सग्लो मानिस जस्तै हिड्दै नजिकैको हनुमान मन्दिरलाई एक राउण्ड लगाउँदा आमा भीमा गहभरी आँशु झार्दै यो जुनीमा जलेश्वर बाबाले मेरो छोरीको खुट्टा बनाइदिनुभएकोमा मन्दिरतर्फ दुई हात प्रणाम गर्दै धन्यवाद दिइन् ।

रिहाको उमेर बढ्दै जाँदै थियो । उनलाई खुवाउने समस्या थिएन । तर, दिसापिसाब अनि साथीसंगीनीसँग हिड्न निकै समस्या थियो । आर्थिक अवस्था कम भएकै कारण उनको उपचारलाई पूर्णता दिन कठिन नै थियो । तर, अर्जुनधारा जलेश्वरधाम समितिसँगै माता हेमानन्द गिरीजीको उपस्थितिले छोरी हिड्न सक्ने भएको आमा भीमाले बताइन् ।

उनीमात्र होइन, कनकाई नगरपालिका वडा नम्बर ७ बस्ने शंकर विकको खुट्टा बनाइदिएपछि म त ठीक भएँ भन्दै श्रीमती कहाँ आउँदा दुवै जना भक्कानिएर रोए । शंकरका श्रीमती सीमाले भनिन्, ‘दुई भाइ छोरा, दुई बहिनी छोरी हुँदा पनि श्रीमान लङ्गडो भएर बस्नुपर्दाको क्षण साह्रै नरमाइलो थियो हामी दुई बुढाबुढीमा तर जलेश्वर धामले मानवताको सेवा गरेर हामी जस्ता असाहयहरुलाई सहायता दिएको धाम समितिलाई मुरी मुरी धन्यवाद छ ।’

खुट्टा बनाउन जति पनि विकलाङ्गहरुको उपस्थिति थियो । खुट्टा बनिसकेपछि हर्षले सीमा नाघेको चुलाचुलीका श्याम राई बताउँछन् । यस्तो सेवा अन्य धार्मिक संघसंस्थाले गर्दै जाने हो भने त्यस क्षेत्रको विकासमा सधै टेवा पुग्ने बताए ।

पढेलेखेका श्याम शारीरिक रुपमा असक्त भएपछि असक्त जीवन बिताउँनेहरुको भावना र आवाज राज्यले त्यति सुन्दो रहेनछ तर जलेश्वरधामले पूरा गरिदिँदा कोठी–कोठी सेवा छ भन्दै आफ्नो घर फर्केका थिए ।

उद्घाटन कार्यक्रममा शंकराचार्य हेमानन्द गिरीजी महाराजले यो जुनीमा सेवाको भाव फैलाउन सकिएन भने मानव रुपी राक्षसहरुको संख्या बढ्ने छ । आज अर्जुनधारा जलेश्वर धाम र भारतका समाजसेवी विनोद बगडियाको पहलमा जुन कार्य भएको छ, विनोद बगडिया कलियुगका देवता भएर आएको बताए । उनले आफ्नो जीवन सधैभर समाजसेवामा र असाहयको पक्षमा रहने बताए ।

बिर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रब शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत धामका उपाध्यक्ष चन्द्रकला भण्डारीले गरेकी थिइन् ।

धामका अर्का उपाध्यक्ष अम्बिका खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा सल्लाहकार सन्तनु ढकाल, जुना अखडा, माता ब्रम्हेश्वरी गिरी, डक्टर ग्रिसा थापा, लगायतको आतिथ्य रहेको थियो ।

विकलाङ्गहरुको लागि खुट्टा बनाइदिन डा. मुकेशकुमार पाण्डे, संजीव शिख्धर, रञ्जीत राय, प्रविण पाडेँ, त्रिदिलु दास, जयन्तु पाल, महारु क्यार लगायतका टिमले सेवा प्रदान गर्दै आएको सचिव शिवलाल खतिवडाले जानकारी दिए ।

विकलाङ्गहरुका लागि बस्ने व्यवस्था समेत गरिएको धामका कोषाध्यक्ष मनोज जोशीले बताए भने सेवा २० गतेसम्म रहने जानकारी दिए ।

कार्यक्रममा हातका लागि भने अझ राम्रो ढंगबाट दाताको खोजी गरी अर्को बर्ष प्रदान गरिनेसमेत धामका उपाध्यक्ष भिमचन्द्र भट्टराईले बताए ।