नक्कली राष्ट्रवादको भण्डाफोर गर्न महासचिव सूर्यवंशी झापा आउँदै « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

नक्कली राष्ट्रवादको भण्डाफोर गर्न महासचिव सूर्यवंशी झापा आउँदै


यलम्वर टाइम्स
२४ मंसिर २०७६, मंगलवार ११:०४

अर्जुनधारा । नक्कली राष्ट्रवादका विरुद्धमा भण्डाफोर गर्न राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशी प्रधानमन्त्री निर्वाचित क्षेत्र दमकमा आउने भएका छन् ।

मंसीर २७ गते दमकमा हुने राष्ट्रिय सांस्कृतिक मोर्चाको महाधिवेशन उद्घाटन गर्दै राष्ट्रियतामा हालसम्म भएका प्रधानमन्त्रीको नक्कली राष्ट्रियता विरुद्धको शंखघोष गर्ने जमर्को रहेको पार्टी संघीय सदस्य राज खम्बूले जानकारी दिए ।

पूर्व आउन लागेका महासचिव सूर्यवंशीले यलम्बर टाइम्ससँग कुराकानी गर्दै भारत–चीन बीचको ५७ वर्षअघि भएको युद्ध शान्त भइसके पनि नेपालले कालापानीमा भारतीय सेनालाई किन बस्न दियो ? त्यस विषयमा कुरा राख्ने बताए ।

५७ वर्ष यता कति प्रधानमन्त्री भए, ति सबैलाई लिपुलेक, कालापानी र लिम्पुवाधुरामा भारतीय सेना बसेर अतिक्रमण भएको प्रष्ट हुँदाहुँदै त्यसयताका प्रधानमन्त्री कालापानी अतिक्रमणको विषयमा किन मौन रहे ? महासचिव सूर्यवंशीले उजार गर्ने भएका छन् ।

त्यतिमात्र होइन, पूर्वी इलामको पशुपतिबाट दक्षिण सीमानासँगै कालापानीसम्म भारतीय अतिक्रमण हुँदा पनि नेपाल सरकार नबोल्नुको पछाडि नक्कली राष्ट्रवाद भएको उनले बताए ।

बढ्दो भ्रष्टाचारसँगै अनावश्यक जग्गामा स्वामित्व निर्माण गरेर रातारात लालपूर्जा निकाल्नु, अनावश्यक फर्जीबिल अगाडि राखेर अकुत सम्पत्ति कमाउनु, दुइ तिहाइको बलबाट कार्यकर्ता भर्ति गर्नु नेपालको सन्दर्भमा शोभायमान नभएको बताउँदै यसतर्फ सचेत गराउँन जनमुक्ति सातै प्रदेशमा नक्कली राष्ट्रवादको विषयमा भण्डाफोर गर्दै आएको समेत महासचिव सूर्यवंशीले जानकारी दिए ।

उनले उपनिर्वाचनमा आफ्नो दलले सचेतना अभियानसँगै सान्तवना मत प्राप्त गरेकोमा आफ्ना कार्यकर्ता तथा मतदाताहरुलाई धन्यवाद दिएका थिए ।

पूर्व क्षेत्रको दौडानपछि अन्य जिल्लामा पनि भ्रमण रहेको महासचिव सूर्यवंशीले बताए ।