अर्जुनधारामा प्रभातफेरी गर्दै लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

अर्जुनधारामा प्रभातफेरी गर्दै लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न


यलम्वर टाइम्स
२४ मंसिर २०७६, मंगलवार १२:१४

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समुदाय, प्रहरी र स्थानीय संघसंस्थासँगको सहकार्यमा प्रभातफेरी कार्यक्रम गर्दै सम्पन्न गरेको छ ।

मंगलबार अर्जुनधारा नगरपालिकाको कार्यालय परिषरबाट सुरु गरिएको प्रभातफेरी कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धका विभन्न सचेतनामूलक नारा लगाउँदै शनिश्चरे ज्येष्ठ चौतारीमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नगर प्रमुख हरिकुमार रानाले अर्जुनधारा नगरपालिकालाई सुखी, समृद्ध खुशीयाली नगर निर्माणका लागि यथेष्ट नीतिहरु बनाउँदै जानुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रानाले गत वर्ष अर्जुनधारा नगर क्षेत्रमा लैङ्गिक हिंसाका घटनाले भयाभयको अवस्था सृजना गरेको स्मरण गरे ।

‘नौ महिने बालकदेखि भिन्न क्षमता भएका महिलामाथि बलात्कारका घटनाहरु भए’ प्रमुख रानाले अगाडि भने, ‘यो अभियान सुरु भए पश्चात नेपाल प्रहरीको तथ्याङ्क अनुसार अर्जुनधारामा यस्ता घटना नदोहोरिएको जानकारी दिए ।’

उनले यस्ता घटना निर्मूलनका लागि लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय अभियानमा नगर होमिदै चेतनामूलक कार्यक्रम अगाडि ल्याउँदै गर्दा त्यस यता यस्ता घटनामा न्यूनिकरण हुँदै आएको बताए ।

नगर प्रमुख रानाले विकासका गतिविधिलाई प्राथमिकता दिँदै जाँदा कतिपय हिंसाहरु देखिदै आउँछन् । त्यसलाई तपाई हामी सबै मिली न्यूनिकरण गर्नुपर्ने बताए ।

कार्यक्रममा नगर उपप्रमुख कमला आचार्यले हिंसा विभिन्न क्षेत्रबाट हुने भएको बताउँदै त्यसको न्यूनिकरणका लागि सबै क्षेत्रबाट पहल गर्नुपर्नेमा जोड दिइन् ।

उपप्रमुख आचार्यले लिङ्गकै आधारमा कसैले कसैलाई भेदभाव गरिनुहुन्न भन्ने प्रावधान नेपालको संविधानमा रहेका हुँदा यदी कसैले विभेद गरे कानूनले तोके बमोजिमको सजाय दिनुपर्ने बताइन् ।

त्यस्तै अर्का वक्ता इलाका प्रहरी चौकी अनारमनी प्रमुख डीएसपी मोहनकुमार थापाले अपराधिकरणमा राजनीतिकरण र राजनीतिकरणमा अपराधिकरण भएको बताए ।

डीएसपी थापाले समाजमा देखिएको यस्तो अवस्थालाई हटाउन सके अपराधिक घटनामा न्यूनिकरण आउने बताए ।

सोही अवसरमा मानव अधिकार समूह अर्जुनधाराले लैङ्गिक हिंसा विरुद्ध हस्ताक्षर संकलन गरि नगर प्रमुख हरिकुमार रानासहित उपप्रमुख कमला आचार्य, डीएसपी मोहनकुमार थापा लगायतलाई हस्तान्तरण गरेको छ ।

‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यबद्धता’, ‘घर शान्ति नै विश्व शान्तिको आधार, पुनः निर्माण, शिक्षा र समान व्यहार’, ‘हामी सबैको अभियान सभ्य समाजको निर्माण’ लगायतका नारा उल्लेखित प्लेकार्ड सहित भएको प्रभातफेरी कार्यक्रममा जनप्रतिनिधिहरु, नगरपालिकाकी प्रवक्ता शकुन्तला बराल, कार्यपालिका सदस्य दिलीप गुरुङ, रमेश त्रिखत्री, फोजिन प्रदेश नं. १ का इन्चार्ज दिपीन राई, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई लगायतको सहभागिता रहेको थियो ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य हरिमाया भण्डारीले गरेकी थिइन् ।