जान्ने बुझ्नेले नै खाँदैनन् हात्तीपाइलेको औषधी « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

जान्ने बुझ्नेले नै खाँदैनन् हात्तीपाइलेको औषधी


यलम्वर टाइम्स
१३ माघ २०७६, सोमबार ०६:५९

अर्जुनधारा । सरकारले अभियानको रुपमा सञ्चालन गरेको हात्तीपाइले रोगविरुद्धको औषधी गाउँका बासिन्दालेभन्दा बजारमा बसोबास गर्ने व्यक्तिले नै नखाने गरेको एक कार्यक्रमका सहभागीहरुले निस्कर्ष निकालेका छन् ।

अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले शुक्रबार आयोजना गरेको नगरपालिकास्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीमा सहभागी अधिकांशले आफ्ना धारणा राख्ने क्रममा जान्ने बुझ्ने र पढेलेखेका व्यक्तिले नै हात्तीपाइलेविरुद्धको औषधी सेवन नगर्ने गरेको उल्लेख गरे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले यसअघि औषधी खाँदा ज्यान जाने खतरा भएकाले आफूले पनि नखाएकोभन्दैै परिवारलाई पनि नखान सुझाव दिएको अनुभव सुनाए । ‘म जस्तो मान्छेले पनि नखाएपछि अरुले कसरी खान्छन् ?’, उनले आफैँमाथि प्रश्न गर्दै भने, ‘धेरै कुरा बुझेपछि गतसालदेखि खाँदैछु र परिवारलाई पनि खुवाएको छु ।’

उनले हात्तीपाइले रोगविरुद्धको औषधीका बारेमा राम्ररी बुझाउन नसकेका कारण सबै सहभागी हुन नसकेको बताए । अभियान सफल बनाउनका लागि नगरको वडामा गठित टोल विकास समितिका पाँच जना र तीन जना स्वास्थ्यकर्मी परिचालन गर्नुपर्ने सुझाव दिए ।

लेखा प्रमुख रामचन्द्र घिमिरेले औषधि खाँदा मान्छे नै मरेको खबर आएपछि द्विविधा सिर्जना गरेको बताए । उनले औषधिका कारण नभएर अन्य कारणबाट मृत्यु भएको भन्ने समाचार काम आएको र सम्बन्धित निकायले पनि यस्तो भ्रम चिर्ने किसिमको प्रतिक्रिया नदिएकाले पनि जनमानसमा त्रास यथावत रहेको स्पष्ट पारे ।

तल्लोस्तरबाट चेतनाको स्तर उकास्दै सबै क्षेत्रबाट खेलिने प्रभावकारी भूमिकाबाट मात्र अभियान सफल बन्ने उनको सुझाव छ ।

स्वास्थ्यकर्मी दुर्गा भट्टराईले औषधी सेवनमा आफूहरु ग्रामीणस्तरमा ९० प्रतिशत सफल भएको भन्दै बजारमा जान गाह्रो भएको अनुभव सुनाए ।

बजारका मान्छे जान्ने बुझ्ने भए पनि ढोका, गेट थुनेर बस्ने अनि नखाइ पनि खाएको भन्ने जवाफ दिने गरेको उनले सुनाए ।

खुदुनाबारी स्वास्थ्य चौकीका प्रमुख लक्ष्मण शाहले स्नोफेलिया र जुकाको औषधि सबैले खाने गरेको तर त्यसैको मिश्रण हात्तीपाइलेको औषधि भने खाने नगरेकोप्रति आश्चर्य व्यक्त गरे ।

सुरुमा विदेश संस्थाले परीक्षणका लागि नेपालमा हात्तीपाइलेको औषधि वितरण गरेको हल्ला फिजाइँएकाले पनि सबैले सहभागिता नजनाएको सेवाग्राही श्याम निरौलाले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्र शनिश्चरेका सिनियर अहेव डम्मरु मिश्रले हात्तीपाइलेको औषधिका बारेमा सरोकारवालाई असर र फाइदाका बारेमा राम्ररी बुझाउन नसकिएकाले पनि अपेक्षित सफलता मिल्न नसकेको बताए ।

त्यस्तै, स्वास्थ्यकर्मी अञ्जु साँवा लिम्बूले विद्यालयबाट अभियान सञ्चालन गर्नसके प्रभावकारी बन्ने धारणा राखिन् । गाउँका टाठा बाठाबाट सकारात्मक सन्देश प्रवाह गर्न जरुरी रहेको उनको सुझाव थियो ।प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. सुनिल यादवले आफूले डाक्टर पढिरहँदा पनि कलेजमा हात्तीपाइलेविरुद्धको औषधि सेवनका लागि कोही नआएको भन्दै दुःख प्रकट गरे ।

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थासम्म पनि अभियान पुग्न नसकेपछि गतसालबाट मात्र आफूले औषधि सेवन गर्न थालेको पनि उनले सुनाए ।

स्वास्थ्य शाखा प्रमुख मुकुन्द सिवाकोटीले बुझ्ने मान्छेले सेवन नगरेसम्म अभियान सफल नहुने दाबी गरे । सबैको सहयोगले मात्र सम्भव हुने बताएका उनले मातहतका स्वास्थ्यकर्मीलाई टोल विकास समिति, जनप्रतिनिधि, शिक्षकलाई अनिवार्य अभियानमा सहभागी गराउन निर्देशन पनि दिए ।

अर्जुनधारा नगरपालिकामा यसवर्ष ३० जना स्वास्थ्यकर्मीबाट दैनिक २५० जनालाई औषधि खुवाउने स्वास्थ्य शाखाको लक्ष्य रहेको उनले बताए ।

गतवर्ष ७८ प्रतिशत नगरबासीलाई औषधि खुवाइएको दाबी गरिएको छ भने ३०० जनामा गरिएको रगत परीक्षणबाट ६ जनामा संक्रमण फेला परेको बताइएको छ ।

अर्जुनधाराका नगर प्रमुख दीर्घ रोगीले खान नहुने भनिए पनि आफूले गतवर्ष सेवन गर्दा केही असर नगरेको भन्दै अभियान सफल बनाउन सबै लाग्न आग्रह गरे । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाकी कर्मचारी दुर्गा चापागाईले गरेकी थिइन् ।