दलहरु बीच सहकार्यको प्रतिवद्धता « Yalambar Times
१५ बैशाख २०८१, शनिबार

दलहरु बीच सहकार्यको प्रतिवद्धता


यलम्वर टाइम्स
१४ माघ २०७६, मंगलवार ०५:३६

बिर्तामोड । झापाका राजनीतिक दलका नेताहरुले एकै थलोमा भेला भएर दलहरुबीच आपसी सहमति र सहकार्यको संस्कारलाई निरन्तरता दिँदै आपसी सम्बन्ध अझ सुमधुर बनाएर अघि बढ्ने सामुहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

झापाका मुख्य दलका नेताहरु सोमबार बिर्तामोडमा भेला भएका उनीहरु असल र उत्कृष्ट राजनीतिक संस्कारलाई अंगिकार गरेर अघि बढ्न सहमत भएका हुन् ।

जिल्लामा भइरहेका र हुनसक्ने कुनै पनि द्वन्द्व, विवाद र समस्याका विषयमा दलहरु एकै ठाउँमा बसेर संवाद र छलफलको माध्यमबाट समाधान गर्ने उनीहरुको प्रतिबद्धता छ ।

दलहरुबीचको नियमित छलफल र भेटघाटलाई निरन्तरता दिँदै जिल्लाका साझा समस्यामा साझा रुपमै प्रस्तुत हुने दलहरुबीच सहमति बनेको छ ।

पछिल्लो समय प्राकृतिक स्रोत (ढुंगा, गिटी, बालुवा) उत्खनन्मा बढेको समस्या र विवादलाई समाधान गर्न जिल्ला समन्वय समिति झापा र राजनीतिक दलहरुबीच समन्वयात्मक ढंगले अघि बढ्ने समेत सहमति भएको छ ।

एकैथलोमा भेला भएका दलहरुले संघीयता कार्यान्वनयमा देखिएका जटिलता, जिल्लामा दलहरुबीच सहकार्यको अवस्था र भूमिका तथा जिल्लामा भइरहेका र हुनसक्ने द्वन्द्व, विवादका विषयमा दलहरुले गम्भीर छलफल गरेका छन् ।

दलहरुबीच संवादहीनताको अवस्थाले केही समस्या बढेको बताउँदै नेताहरुले अब संवादलाई निरन्तरता दिने बताए ।

नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले अनुभवको अभाव, कानूनको जटिलता र अधिकारको सही ढंगले प्रयोग नहुँदा संघीयता कार्यान्वयनमा जटिलता देखिएको बताए । पाठकले झापामा देखिएका सबैखाले समस्याको समाधान गर्न दलहरु सक्षम रहेको बताए ।

नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले सबै दल एक ठाउँमा उभिने हो भने सबै समस्याको समाधान हुने भन्दै संघीयता र कानूनलाई सुदृढ र संगठित बनाउनुपर्नेमा जोड दिए ।

संवादको कमीले कतिपय समस्या उत्पन्न भएको स्वीकार्दै उनले संवादलाई निरन्तरता दिन सके विश्वास बढ्ने र द्वन्द्व समाधान हुने बताए ।

छलफलमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष अनुत राजवंशी, समाजवादी पार्टी नेपालकी उपाध्यक्ष संगीता रौनियार, शान्ति समितिका पूर्व संयोजक सूर्यनारायण गणेश, नेकपा मालेका केन्द्रीय सदस्य नवराज खरेल, राप्रपाका अध्यक्ष अम्बरबहादुर बिष्ट, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष भवानीविक्रम सेलिङ, नेकपाका सचिव विजय साम्पाङ, राप्रपाका सचिव केशव ओझा, राजपाका नेता सन्तोषकुमार गणेश, संघीय लिम्बुवान मञ्चका अध्यक्ष धनबहादुर पन्धाकले दलहरुबीचको सहमति सहकार्यको संस्कारलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

दलका नेताहरुले स्थानीय सरकारमा जनप्रतिनिधिहरुबीच, कर्मचारीसँग, प्राकृतिक स्रोत उत्खनन्का सन्दर्भमा, संघ–संस्थाको निर्वाचन लगायतका विषयमा स्वार्थ बाझिएका कारण कतिपय ठाउँमा विवाद उत्पन्न भएको भन्दै त्यसलाई दलहरु एकै ठाउँमा बसेर समाधान गर्ने बताए ।

अधिकांश दलहरुले सत्ताधारी नेकपाको दुईतिहाईको एकल निर्णय र समन्वय नगरी अघि बढ्ने परिपाटीले तल्लो तहसम्म प्रभाव पारेको गुनासो व्यक्त गरे ।

नेकपाका नेताहरुले आपसी समन्वय र छलफलमा कमि भएको स्वीकार्दै अबका दिनमा समन्वयकारी भूमिका निर्वाह गर्ने बताए । छलफलको संयोजन संवाद समूह झापाले गरेको थियो ।