शनिश्चरे माविको ७२ औं वार्षिक उत्सवमा उषा विमोचन « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

शनिश्चरे माविको ७२ औं वार्षिक उत्सवमा उषा विमोचन


यलम्वर टाइम्स
१५ माघ २०७६, बुधबार १२:०७

अर्जुनधारा । शनिश्चरे माध्यमिक विद्यालयको ७२ औं वार्षिक उत्सवमा उक्त विद्यालयको मुखपत्र उषा नामक पुस्तक विमोचन गरिएको छ ।

बुधबार पुस्तक विमोचन गर्दै सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेयरले स्थानीय सरकार बनिरहँदा शिक्षाको गुणस्तर वृद्धि भएर जानु आवश्यक रहेको बताइन् ।

प्रमुख अतिथि समेत रहेकी मन्त्री गजमेयरले शिक्षा क्षेत्रबाट नै मुलुकको भविष्य निर्माण हुने हुँदा आउने सन्ततिका लागि अब बन्ने शिक्षा मानवीयतालाई छुने, आत्मनिर्भर हुनुपर्ने बताइन् ।

७२ औं वार्षिक उत्सवको दीप प्रज्वलित गर्दै अधिकार मात्र होइन, बाँच्ने र बचाउने नीति राज्यले लागू गरेर जाने हुँदा इमान्दारीता आवश्यक रहेको बताइन् ।

विद्यालय व्यवस्थान समितिका अध्यक्ष युवराज नेपालको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रअ चेतामणि खनालले विद्यालयको गतिविधि र विकास गर्नुपर्ने कार्यका बारे जानकारी गराएका थिए ।

कार्यक्रममा स्काउट तथा विद्यालयका सदनले प्रमुख अतिथि मन्त्री गजमेयरलाई सलामी अर्पण गरेका थिए ।
सलामी अर्पण गर्नका लागि मन्त्री गजमेयरलाई पिर्कामा राख्न खोज्दा समानताको अधिकार आइसकेको समयमा पञ्चायती तानाशाह जस्तो पिर्कामा बस्न जरुरी छैन भन्दै मैदानबाटै सलामी अर्पण गरेकी थिइन् ।

कार्यक्रममा विभिन्न दाताहरुले छात्रावृद्धि प्रदान गरेका थिए भने विद्यालयका विद्यार्थीहरुले नृत्य तथा गीत पस्केका थिए ।

सदा गरिने वार्षिक उत्सवभन्दा भिन्न ढंगबाट सञ्चालन गरिएको कार्यक्रममा विद्यालयका शिक्षक रोहित खपाङ्गी
लगायत विद्यार्थीहरुले काला र गोरा नामको राष्ट्रिय गीत पस्केका थिए ।

कार्यक्रममा पूर्व वन राज्यमन्त्री बीरमणी ढकाल, नगरपालिकाकी उपप्रमुख कमला आचार्य, पूर्व प्राध्यापक लोकनाथ पौडेल, भैरव पौडेल, अर्जुनधारा माविका प्रअ टंक बस्नेत विद्यालयका पूर्व प्रअ तथा व्यवस्थापन समितिका अध्यक्ष, अर्जुनधारा क्षेत्रमा रहेका विद्यालयका प्रअ लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा शिक्षक भवानी गौतम र स्काउट शिक्षिका तारा विश्वकर्माद्वारा प्रशिक्षण गराईको पीटी प्रदर्शन गरिएको थियो ।

विद्यालयका शिक्षक तथा शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष पुण्य सुवेदीको स्वागत रहेको कार्यक्रममा जगन्नाथ विश्वकर्मा र कपिल तिम्सिनाले सञ्चालन गरेका थिए ।

यसरी नै सरस्वती पूजाको अवसरसँगै शिक्षक, निर्वाचित जनप्रतिनिधि बीच भलिवल प्रतियोगिता हुने समेत विद्यालयले जानकारी दिएको छ ।