आर्थिक समृद्धितर्फ अगाडि बढ्न सके मात्र शहीदप्रति उच्च सम्मान हुने « Yalambar Times
१५ बैशाख २०८१, शनिबार

आर्थिक समृद्धितर्फ अगाडि बढ्न सके मात्र शहीदप्रति उच्च सम्मान हुने


यलम्वर टाइम्स
१६ माघ २०७६, बिहीबार ०८:४३

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शहीद दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले प्रजातन्त्र स्थापना एवम् पुःनस्थापना तथा विभिन्न कालखण्डका लागि जीवन आहूति दिने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुको सम्झना गर्दै शहीद दिवसको अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।

‘नेपालका सबैखाले आन्दोलन सफल बनाउन नेपाली वीर सपुतको बलिदानी रहेको छ’ मुख्यमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘स्वतन्त्रताको पक्षमा निरंकुशताविरुद्ध उभिएर प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने महान शहीदहरुको योगदान सधै स्मरणीय रहनेछ । आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण ज्ञात अज्ञात महान शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा उच्च सम्मान अर्पण गर्दछु ।’

नेपालमा प्राप्त लोकतन्त्र र अग्रगमन हाम्रा महान् शहीदहरुका त्याग तथा बलिदानको परिणाम हुन् । शहीदहरुको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आर्थिक विकास र समृद्धिका लागि अगाडि बढ्न सकेमा मात्र शहीदहरुप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुने मुख्यमन्त्री राईको विश्वास छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयन गर्दै देशलाई समृद्ध बनाउन शहीदहरुको सपना तथा योगदान सधै प्रेरणादायी हुने मुख्यमन्त्री राईले विश्वास लिएका छन् ।

देशलाई दिगो आर्थिक विकास सहितको समृद्ध राष्ट्र बनाउँदै शहीदहरुको सपना साकार पार्नका लागि एक भएर लाग्न मुख्यमन्त्री राईले सबैलाई आग्रह गरेका छन् ।