परनिर्भताका कारण महिलाहरु हिंसामा: राज्यमन्त्री गजमेयर « Yalambar Times
१५ बैशाख २०८१, शनिबार

परनिर्भताका कारण महिलाहरु हिंसामा: राज्यमन्त्री गजमेयर


यलम्वर टाइम्स
२० माघ २०७६, सोमबार ०९:१७

विर्तामोड । प्रदेश नं. १ का सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले हिंसा अन्त्यका लागि महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्ने बताएकी छिन् । ।

नारी सञ्चार गृह झापाको आयोजना र मेचीनगर नगरपालिका कार्यालयको सहयोगमा धुलाबारीस्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित लैङ्गिक हिंसा र सुरक्षित सञ्चार सम्बन्धी एक दिने कार्यक्रममा बोल्दै मन्त्री गजमेरले परनिर्भरताका कारण महिला बढी हिंसामा पर्ने गरेको उल्लेख गर्दै महिलालाई आत्मनिर्भर बनाउनका लागि योजना बनाएरै आफू अघि बढ्ने बताएकी हुन् ।

आफ्नो चेतना रहेसम्म कहिले पनि आर्थिक प्रलोभनमा नफस्ने प्रतिवद्धता जनाउनु भएका मन्त्री गजमेरले आम महिला र दलितको शिर उच्च रहने गरी पाएको जिम्मेवारी पूरा गर्ने दृढता व्यक्त गरिन् ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले महिला हिंसाको अन्त्य चुनौतिपूर्ण भएको बताउँदै समाजमा जरो गाडेर बसेको लैङ्गिक विभेद र हिंसालाई उखेलेर फाल्न सञ्चार जगतको भूमिका आवश्यक भएको धारणा व्यक्त गरिन् ।

कानून बनाएर मात्र नहुने बताउँदै मन्त्री गजमेर कानूनमा भएका व्यवस्था बारे नागरिकलाई बुझाउनु पनि राज्यको दायित्व भएको बताउँनु भयो । प्रविधिमैत्री समाज निर्माणमा दिनुभएका उहाँले अबको समाजलाई सुरक्षित प्रविधितर्फ जोड्नेपर्नेमा जोडदिंदै आफूले उक्त क्षेत्रमा केही गर्ने योजना रहेको बताइन् ।

हिंसा न्यूनिकरणका लागि लागु पदार्थ नियन्त्रण जरुरी रहेको बताउँदै उहाँले लागु पदार्थ सम्बन्धी बनेको कानून कार्यान्वयनमा जोड दिइन् ।

कार्यक्रममा विशेष अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीले लैंङ्गिक हिंसाका विषय उठान हुन थाले पनि अझैपनि बढीजसो महिलाहरु नै हिंसामा पर्ने गरेको आफूले पाएको बताइन् ।

मेचीनगर नगरपालिकाको न्यायिक समितिका संयोजक समेत रहनु भएका उपप्रमुख पछिल्लो समय पुरुष हिंसाका उजुरी आउने गरेको भएपनि ८० प्रतिशत महिला हिंसाको चपेटामा परेको पाइएको जानकारी दिइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा समाजमा देखिएका हिंसाका प्रकृति, समाजको परम्परागत सोच विश्वमा महिला हिंसाको अवस्था लगायतका विषयमा सहजीकरण गरेका थिए भने झापा जिल्लामा हिंसाको अवस्था र साइवर अपराधबारे झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिएका थिए ।

कोइरालाका अनुसार ६७ प्रतिशत हिंसाका घटनाको कारण मदिरा रहेको छ भने अधिकतम घटनामा महिला पीडित रहेको पाइएको तथ्याङ्क प्रस्तुत गरे ।

सो अवसरमा मेचीनगर नगरपालिकाका न्यायिक समिति सदस्य इन्द्र प्रधान एबीसी नेपालकी कञ्चना ढकाल, उमा भण्डारी, सविता भण्डारी, यमनाथ बराल, शुष्मा भण्डारी, शर्मिला अधिकारी, विष्णु मैनालीले हिंसा न्यूनिकरणका लागि आगामी दिनमा गर्नुपर्ने कार्यबारे सुझाव प्रस्तुत गरेका थिए ।  

सोही कार्यक्रममा झापाकी पहिलो महिला पत्रकार राधा शर्माले नारी संचारगृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी संचार प्रोत्साहन अक्षयकोषका लागि पठाएको ४० हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

पत्रकार शर्माका दाजु कणाखर चौलागाँई र रञ्जु प्याकुरेलले संस्थाका अध्यक्ष अम्बिका भण्डारी, अक्षयकोषका संयोजक भीमा शिवाकोटी, कोषाध्यक्ष शुशिला संग्रौलालाई संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका हुन् । बाहुनडाँगी निवासी शर्मा हाल अमेरिका बस्दै आएका छन् ।

नारी सञ्चार गृहकी अध्यक्ष अम्बिका भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष भिमा शिवाकोटी र सञ्चालन सचिव रेजिना गौतमले गरेकी थिइन्