कोरोनाका कारण गाउँवासी पनि त्रसित « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

कोरोनाका कारण गाउँवासी पनि त्रसित


यलम्वर टाइम्स
२४ फाल्गुन २०७६, शनिबार ०४:०२

[लीला राई]

अर्जुनधारा । २ महिना अघिबाट सनसनी भई त्रासमय बनाएको कोरोना भाइरसका कारण गाउँबासी पनि त्रसित भएका छन् ।

चीनको हुवेइ प्रान्तको वुहानबाट डिसेम्बर २०१९ बाट शुरु भएको यो महामारी विश्वका विभिन्न भु–भागमा फैलिएको छ । यो कसरी शुरु भयो अझै पत्ता लाग्न सकिरहेको छैन । पछिल्लो जानकारी अनुसार चीनमा मात्रै ३ हजार मानिसको ज्यान लिइसकेको छ ।

त्यसपछि दक्षिण कोरिया प्रभावित बनेको छ । दक्षिण कोरियामा ४० जनाको मृत्यु भइसकेको छ भने ६ हजारमा उक्त संक्रमण देखिएको छ । युरोपको इटलीमा ३ हजार संक्रमित, १ सय ७ जनाको मृत्यु भएको छ भने अमेरिकामा मात्र ९ जनाले ज्यान गुमाएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार ८३ राष्टूमा प्रभाव पार्ने देखिन्छ ।

छिमेकी राष्ट्र भारतमा २५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले होली पर्व नमनाउने घोषणा गरेका छन् ।

विश्व इतिहास अनुसार १०२ वर्ष पहिले अर्थात् सन् १९१८ मा पृथ्वीमा देखिएको भाइरस स्पेनिस फ्लुका कारण ५ करोड मानिसले ज्यान गुमाउनु परेको तथ्याङ्क छ । त्यसबेला विश्वमा मानिसको जनसंख्या २ अरब मात्र थियो ।

कार्यक्रम स्थगित

२ महिना अघि देखा परेको कोरोना भाइरसका कारण धेरै महत्वपूर्ण कार्यहरु स्थगन भएको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विकास निर्माणका काम ठप्प हुन पुगेको हो भने खेलकुद कार्यक्रम समेत प्रभावित भएको छ । चैत्र १ देखि शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) प्रतियोगिता स्थगित गरिएको छ ।

यसरी नै नेपाल चलचित्र निर्माण संघले पनि हुँदै आएको चलचित्र सुटिङ स्थगित गरेको छ भने सरकारले विभिन्न सभा समारोह नगर्न उर्दि जारी गरेको छ । सत्तासिन पार्टी नेकपाले पनि सभा समारोह नगर्ने भएको छ ।

गाउँ–गाउँमा त्रास

कोरोनाको महामारी नेपालमा नदेखिएतापनि त्यसको त्रास गाउँ–गाउँमा देखापरेको छ । सञ्चार माध्यम अन्तर्गत युट्युब च्यानेलले कोरोना भाइरस सम्बन्धि समाचार सम्प्रेसण गरेपछि त्यसको त्रास गाउँसम्म पुगेको हो ।

अर्जुनधारा–४ निवासी समाजसेवी अमर कटुवालका अनुसार मरिमराउमा समेत कोरोनाको चर्चा चल्ने हुँदा क्रियापुत्री रुँङ्न जानेहरु त्रसित बनेका छन् । गाउँबाट राजधानी पढ्न गएका आफन्त, सन्ततीहरु प्रतिको चिन्ता पनि त्यतिकै छ ।

विदेशबाट नयाँ मान्छे आए भने बोल्न डराउने र सम्पर्कमा जान समेत अप्ठ्यारो मान्ने परिस्थिति सिर्जना भएको छ ।

हात नमिलाऔं

कोरोना भाइरस सर्ने डरले आफन्त, इष्टमित्र तथा नातागोतासँग हात मिलाउनको सट्टा परैबाट नमस्ते गर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

करिब २० सेकेण्ड लगाएर हात धुनु पर्ने, कसैको मोवाइल तथा ट्याब एकअर्कामा साटेर नचलाउन समेत जानकारी दिएको छ । अर्जुनधारा नगरपालिकाले उच्च सर्तकता अपनाइरहेको बेला त्रासमा नबस्न समेत अनुरोध गरेको छ ।

नगरले प्रत्येक वडामा जनचेतना र प्रत्येक विद्यालयमा कोरोना भाइरस सम्बन्धि जानकारी दिने भएको जनाएको छ ।

यसरी नै शुक्रबार वडा नम्वर ३ अन्तर्गत स्वास्थ्य चौकी खुदुनाबारीले कोरोना भाइरस सम्बन्धि एक अन्तरक्रिया गरेको थियो ।

अन्तरक्रियामा स्वास्थ्य चौकीका लक्ष्मण कुमार साहले मनोबल उच्च राखेर अगाडि बढ्न आग्रह गरेका छन् । कोरोना के हो ? र कसरी सर्छ ? भन्ने विषयमा सन्देश दिँदै नआतिन समेत सर्वसाधारणलाई आग्रह गरे ।

स्थानीय जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु बीच उक्त कार्यक्रम भएको थियो ।

कोरोना भाइरसबारे सचेतना

कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलन सक्ने सम्भावना भएको संकेत डब्लुएचओले दिइरहँदा संक्रमण प्रभावित स्थानबाट फर्केका यात्रुले घर वा बासस्थानमा आएको १४ दिनसम्म आफैंले अपनाउँनु पर्ने अत्यावश्यक क्रियाकलाप तल उल्लेख गरिएको छ ।

१. स्वास्थ्य सेवा बाहेक अन्य समयमा घर वा बसेको स्थानबाट बाहिर नजाने । कार्यालय, विद्यालय वा सार्वजनिक स्थानमा नजाने । सार्वजनिक यातायात वा ट्याक्सीको प्रयोग नगर्ने ।

२. घर परिवारका अन्य सदस्यभन्दा छुट्टै कोठामा बस्ने र उपलब्ध भएसम्म छुट्टै शौचालय वा स्नानगृहको प्रयोग गर्ने ।

३. खाना खाएको भाँडा, गिलास, कप, काँटा, चम्चा, रुमाल, तन्ना जस्ता सामाग्री घरका अन्य सदस्यसँग साटफेर नगर्ने । आफूले प्रयोग गरेका सबै सामाग्री साबुनपानीले रामरी सफा गर्ने ।

४. साबुनपानीले मिचिमिची २० सेकेण्ड सम्म नियमित हात धुने । साबुनपानी उपलब्ध नभएमा वा हात धेरै फोहोर नभएमा हल्कोहलयुक्त स्यानिटाइजर पनि प्रयोग गर्न सकिन्छ । फोहोर हातले आफ्नो आँखा, नाक वा मुख नछुने ।

५. अन्य व्यक्तिसँग घरको एउटै कोठामा हुनुहुन्छ भने मास्क अनिवार्य लगाउने र परामर्शका लागि स्वास्थ्यकर्मीसँग बस्दा पनि लगाउने । यदि तपाई मास्क लगाउन सक्नुहुन्न भने सँगै रहेका अर्को व्यक्तिलाई मास्क लगाउन भन्ने ।

६. खोक्दा वा हाछ्युँ गर्दा नाक र मुख ढाक्ने । त्यसपछि तुरुन्तै कम्तिमा २० सेकेण्डसम्म साबुनपानीले मिचिमिची हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने ।

७. यदि १४ दिनभित्र रुघाखोकी लाग्ने, घाँटी दुख्ने, १००.४ डिग्रीभन्दा बढी ज्वरो आउने, सास फेर्न गाह्रो महसुस हुने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने । यस्ता लक्षण देखिएका बिरामीले लगातार मास्क प्रयोग गर्ने । कोरोना भाइरस फैलिएको देशबाट आएको भए त्यसको जानकारी स्वास्थ्यकर्मीलाई दिने । यसले अन्य व्यक्तिलाई कोरोना भाइरसको संक्रमण सर्नबाट बचाउन स्वास्थ्यकर्मीलाई सहयोग पु¥याउँछ ।