अर्जुनधारामा कोरोनाभन्दा खतरानाक बन्दै दुव्र्यवसनी « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

अर्जुनधारामा कोरोनाभन्दा खतरानाक बन्दै दुव्र्यवसनी


यलम्वर टाइम्स
२४ बैशाख २०७७, बुधबार ०८:०५

अर्जुनधारा । कोरोना संक्रमणकाललाई रोक्न राज्यले लकडाउन लागू गर्याे । लकडाउनले सबैलाई छेक्छ भन्ने सोच राज्यको थियो तर ठीक विपरीत बन्यो ।

कडा लकडाउनका बावजुद पनि समाज र त्यसभित्रका सचेत वर्गलाई झुक्याउँदै लागू पदार्थ दुव्र्यवसनी सञ्जाल फैलाएर लकडाउनलाई नै अर्काे चुनौती गरेको देख्न सकिन्छ ।

राज्य कोरोना भाइरसभन्दा पनि दुव्र्यवसनीलाई नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने अर्काे चिन्ता थपिएको हामी पाउँछौ ।

राज्यले कोरोना संक्रमितहरुलाई राख्ने ठाउँ क्वारेन्टाईन सँगसँगै लागू पदार्थ प्रयोगकर्ता राख्ने ठाउँ पनि पहिल्याउँदै छ ।

अर्जुनधाराको वडा नम्वर ४ मा लागू पदार्थ प्रयोगकर्ता दुई युवती सहित ५ जना युवालाई क्वारेन्टाईनमा ५ दिन राख्दा तिनीहरुले देखाएको हर्कतले त्यहाँ डियुटी बस्ने प्रहरी र स्वास्थ्यकर्मी छक्क मात्र परेनन् तिनीहरुलाई थाम्न नसकिने रिपोर्ट आ–आफ्नो विभागमा पेसे ।

रातभरी कराउने, चिच्याउने अनि अनेकौं अफर र लोभ्याउँने जस्ता कुरा राख्थे । अर्जुनधारामा जनपथ, सशस्त्र र टोल सुरक्षा समिति रहँदा पनि दुव्र्यवसनीको सञ्जालले समाजलाई आक्रान्त पार्दै गएको डर लाग्दो तथ्याङ्क छ ।

झापामा मात्र कोही डाक्टरको भेषमा त कोही शिक्षक र व्यापारीको भेषमा दुव्र्यवसनी गाउँ बस्तीमा फैलिदै गरेको देखिन्छ । विशेष गरि १६ देखि ३० वर्षका युवाहरु यसमा लिप्त भएको भेटिएको छ ।

अर्जुनधारा क्षेत्रमा ३ सयभन्दा बढी कुलतमा फसेका युवाहरुको नाम प्रशासनमा छ । केही युवतीहरु पनि छन् ।

तिनीहरुलाई राख्न नगरपालिकाले कोठाको व्यवस्था मिलाउँदै गएको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए ।

कुलत फैलिएको ठाउँ अर्जुनधारा र शनिश्चरेको नाम त थियो तर अहिले आएर खुदुनाबारीमा पनि कुलतमा फसेको युवाहरुको तथ्याङ्क निक्कै बढ्दै आएको प्रहरीले जनाए ।

नगरमा दुव्र्यवसन न्यूनिकरण गरिएन भने अझ डर लाग्दो अवस्था सिर्जना हुने निश्चित छ । दुव्र्यवसनी बढेसँगै दुलेचोरहरुको संख्या पनि बढ्दै गएको छ ।