कोरोना नियन्त्रणका लागि फरक नीति अवलम्बन « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

कोरोना नियन्त्रणका लागि फरक नीति अवलम्बन


यलम्वर टाइम्स
३० बैशाख २०७७, मंगलवार ०९:५६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पहिलेकोभन्दा अलि फरक नीति अवलम्बन गरेको बताएका छन् ।

सोमबार चीन सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण समारोहमा बोल्दै मन्त्री ढकालले पहिला कोरोना नेपालमै प्रवेश गर्न नदिने नीति अख्तियार गरेको भए पनि अहिले विस्तार हुन नदिने नीति अबलम्बन गरिएको बताए ।

उनले भने, ‘पहिले प्रवेश गर्न नदिने नीतिमा थियौं, अहिले हामी यसको विस्तार सीमित गराउने अभियानमा लागेका छौँ ।’

मन्त्री ढकालले मावनीय क्षति विना नै कोरोना रोकथाम र नियन्त्रणका लागि प्रयास भइरहेको उल्लेख गरे । स्वास्थ्य सामग्री र अनुभव दुबैको अभावका बीचमा पनि राम्रो प्रयास भइरहेको भन्दै मन्त्री ढकालले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको प्रशंसा गरे ।

उनले कोरोना नियन्त्रणका लागि चीनले अवलम्बन गरेका नीति र बाटोलाई विश्वका जुन–जुन राष्ट्रले अनुशरण गरे उनीहरूले जोखिम निन्त्रयणका लागि महत्वपूर्ण शिक्षाप्राप्त गरेको बताए ।

उनले चीनकातर्फबाट विभिन्न मोडलमा भइरहेको चिकित्सकीय छलफल र अन्तरक्रियाले पनि नेपालमा कोरोना रोकथामका लागि महत्वपूर्ण काम गरेको बताए ।

मन्त्री ढकालले अभावको समयमा चीनले अत्यावश्यकीय स्वास्थ्य सामग्री अझै उन्नतस्तरमा पठाएर धेरै राम्रो सहयोग गरेको बताए ।

उनले नेपाल र चीनको मित्रता महत्वपूर्ण रहेकोभन्दै हिजोका दिनमा चीनमा दुःख पर्दा नेपालले पनि सहयोग गरेकोभन्दै एकअर्कालाइ सहयोग गरेर अघि बढिएको बताए ।

सो अवसरमा नेपालका लागि चिनयाँ राजदूत हौ यान छीले कोरोना भाइरससँग लड्न नेपाललाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

उनले केही महिना पहिला चीनलाई संकट पर्दा नेपालले सहयोग गरेको उल्लेख गर्दै चीन संकटमा सदैव नेपालको साथमा रहने प्रतिबद्धता जनाए ।

चीनले नेपाललाई दिएका स्वाथ्य सामग्रीमा ४० हजार पीसीआर टेस्ट कीट, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख, पीपीई सेट १० हजार थान रहेका छन् ।

यसअघि पनि चीनको विभिन्न प्रान्तीय सरकार र विभिन्न संस्थाले पनि स्वास्थ्य समाग्री हस्तान्तरण गरेका थिए ।