रुकुम हत्या काण्डः पूर्वबाट आन्दोलनको तयारी « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

रुकुम हत्या काण्डः पूर्वबाट आन्दोलनको तयारी


यलम्वर टाइम्स
१८ जेष्ठ २०७७, आईतवार ०८:०७

बिर्तामोड । पश्चिम रुकुममा जातीय भेद्भावका कारण भएको हत्याको विरुद्धमा पूर्वबाट आन्दोलन उठाउने तयारी भएको छ ।

त्यसका लागि झापामा सबै राजनीतिक दल संबद्ध दलित संघ संगठन, दलित अधिकारकर्मी, संघ संस्था र विभिन्न सार्वजनिक निकाय एकजुट भएको नेकपाका युवा नेता टिकाराम मंग्रातीले जानकारी दिए ।

उनले रुकुममा नवराज विक सहित अन्य ६ जनाको हत्याको विरोध र दोषीमाथि कारवाहीको माग गर्न व्यापाक आन्दोलनको तयारी गरेको बताए ।

शनिबार सम्वद्ध सरोकारवाला बीच बिर्तामोडमा भएको छलफलले संयुक्त राजनीतिक दलित संघर्ष समिति बनाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी झापाका सचिवालय सदस्य एवम् युवा नेता हुकुमसिंह नेपालीको संयोजकत्वमा संघर्ष समिति बनेको छ ।

समितिको सहसंयोजकमा भोला परियार, सुरेश बराइली, दल बहादुर विश्वकर्मा, गोपाल गजमेर, सचिव छविलाल विश्वकर्मा, सदस्यहरुमा वीरबहादुर दर्नाल, रञ्जित परियार, हर्कमाया विक, निरु परियार, निता घतानी, हरि नेपाली, सागर पोर्तेल, लक्ष्मी मोते, तिलक गजमेर, अशोक राम लगायत गरी ३५ सदस्यीय संघर्ष समिति बनाइएको छ ।

सो संघर्ष समितिले आन्दोलनका कार्यक्रम तयार गरीअघि बढ्ने संयोजक हुकुमसिंह नेपालीले जानकारी दिए ।

जातीय भेदभावको घटना साझा मुद्दा भएकाले आन्दोलनमा सबैको सहभागिता गराउने उनको भनाई छ ।