अर्जुनधाराले ०७७।०७८ का लागि तीन खम्बे आर्थिक नीति अगाडि सार्ने « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

अर्जुनधाराले ०७७।०७८ का लागि तीन खम्बे आर्थिक नीति अगाडि सार्ने


यलम्वर टाइम्स
२२ जेष्ठ २०७७, बिहीबार ०६:०२

अर्जुनधारा । कृषिमा आधारित अर्जुनधारा नगरपालिकाले आफ्नो क्षेत्रलाई समृद्ध नगर निर्माण गर्नका लागि तीन खम्बे आर्थिक नीति सञ्चालन गर्ने भएको छ ।

नेपाल सरकारले तय गरेको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थकता दिन तीन खम्बे अर्थ नीति ल्याउन आटेको नगर प्रमुख हरिकुमार रानाले बताए ।

तीन खम्बे अर्थ नीतिमा जनता, प्राइभेट लिमिटेड संस्था र स्थानीय सरकार (पीपीजी) को साझेदारीमा उक्त नीति ल्याउन लागिएको हो ।

नगरपालिकाले नगरमा रहेका सहकारी संस्था उद्योग वाणिज्य संघ, चेम्वर अफ कमर्शसँग पटक पटकको छलफलपछि उक्त नीति ल्याउन लागिएको जनाएका छन् ।

उक्त नीतिभित्र कृष उपज वस्तुको व्यवसायीकिकरण, उत्पादन, प्रवद्र्धन र औद्योगीकरण गराउन आवश्यक रहेको ठहर गर्दै एक अध्ययन समितिसमेत निर्माण भएको छ ।

उक्त समितिले नगरलाई अध्ययन गर्दै प्रतिवेदन पेश गर्न निम्नानुसार पदाधिकारी चयन गरेको छ ।

समितिमा पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदमलाल राई, नगर सहकारी महासंघका अध्यक्ष प्रेमसागर सापकोटा, सहारा साकोसका राजेन्द्रप्रसाद खरेल, कर्णली साकोसका टीएस प्रधान, महिला चेतना साकोसका उमा थापा, स्थानीय उद्योगीको प्रतिनिधि नविन गट्टानी र स्थानीय व्यपारीको तर्फबाट रुद्र श्रेष्ठलाई २० गते नगर कार्य समितिको बैठकले समेत अनुमोदन गरेको छ ।

व्यवस्थित उद्योगका लागि अर्जुनधारा–२ टाङटिङ नदी किनारमा रहेको १५ विगाह ऐलानी जग्गालाई प्रयोग गर्ने समेत निर्णय भएको छ ।

नगरवासीलाई आत्मनिर्भरतामा अगाडि सार्न तरकारी भण्डारका लागि सित भण्डार निर्माण गर्ने, ७० प्रतिशत प्रदेश र ३० प्रतिशत नगरपालिकाले संयोजन गर्ने, एक सय थान बोर्डिङ, ५० थान इनार बोडिङ निर्माणका लागि ७० प्रतिशत प्रदेश, १५ प्रतिशत नगरपालिका र १५ प्रतिशत उपभोक्ता समितिले व्यहोर्ने गरी कार्यक्रम अगाडि सारिएको छ ।

अर्जुनधारा अन्तर्गत बोयर बाख्रा स्रोत विकास कार्यक्रममा ५० प्रतिशत प्रदेश सरकार, २५ प्रतिशत नगरपालिका र २५ प्रतिशत उपभोक्ता रहने, लोकल कुखुरा प्रवद्र्धनमा ह्याचरी स्थापना गरी ८० प्रतिशत प्रदेश सरकार २० प्रतिशत नगरपालिका, माछा मासु पसल सुधारिकरण तथा बजारिकरणमा ५० प्रतिशत प्रदेश र ५० प्रतिशत नगरपालिका, रेविज रोग नियन्त्रणमा ५० प्रतिशत प्रदेश, ५० प्रतिशत नगरपालिका, पशु पकेट अन्तर्गत दूध व्यवस्थापन तथा चिस्यान केन्द्र स्थापनका लागि ५० प्रतिशत प्रदेश र ५० प्रतिशत नगरपालिका, धान, मकै, तरकारी बालीलाई उत्पादन, प्रसोधनसँगै बजारिकरणका लागि ५० प्रतिशत प्रदेश र ५० प्रतिशत नगरपालिका जस्ता कार्यक्रम अगाडि सारिएको छ ।

कृषिमा आत्मनिर्भर बनाउँदै लैजानका लागि नगरले निर्णय गरेकोलाई कार्यान्वयन गर्न स्थानीय वडा प्रमुखदेखि सबै सचेत नागरिक लाग्न सके अर्जुनधारा आर्थिक तथा कृषिमा अब्बल हुन सक्ने प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेले प्रतिक्रिया दिए ।

नगर प्रमुख हरिकुमार रानाको सभापतित्वमा भएको बैठकमा कार्यपालिका सदस्यद्वय खिनमान दास, दिलीप गुरुङ बाहेक ११ वटै वडाका अध्यक्ष र कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।