‘पीसीआर नेगेटिभ आए पनि घर जान मन छैन’ « Yalambar Times
१६ बैशाख २०८१, आईतवार

‘पीसीआर नेगेटिभ आए पनि घर जान मन छैन’


यलम्वर टाइम्स
२३ जेष्ठ २०७७, शुक्रबार ०३:४६

झिलझिले । झापाको शिवसताक्षी स्थित झरना प्राविको क्वारेन्टिनमा बसेका मध्ये २९ जनाकोे पीसीआर विधिबाट कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको छ । कोरोना रिपोर्ट नेगेटिभ आउँदा खुसी देखिएका उनीहरु घर जानुपर्दा भने निकै भावकु थिए ।

क्वारेन्टिनमा बसेका बेला स्वास्थ्य कर्मी, सुरक्षा कर्मी र कर्मचारीको व्यवहारले उनिहरुको सम्बन्धलाई निकै नजिक बनाएको थियो ।

क्वारेन्टिन भनेको जेल अर्थात प्रहरीको हिरासत जस्तै हुन्छ भन्ने सुनेका शिवसताक्षी ९ का नरेन लिम्बूले घर जानुपर्दा निकै पीडा भएको बताए ।

‘४ पटक खान पाईन्थ्यो, ईन्टरनेटको व्यवस्था थियो, क्वारेन्टिनका कर्मचारी र स्थानीय गाउँलेले दिएको आत्मबलले रिपोर्ट नेगेटिभ आए पनि घर जान मन पटक्कै छैन । गाँउमा गएपछि सवैले कोरोना लिएर आयो भन्लान । कोरोना रिपोर्ट सबैलाई थाहा छैन । यहि बस्न पाएपनि हुन्थ्यो ।’ लिम्बूले भने ।

मंगलबारै घर गएका तारा कुमार श्रेष्ठ भारतको दिल्लीबाट जेठ ११ गते आएका थिए । भारतमा पनि उनी क्वारेन्टिनमा बसेका थिए ।

१७ घण्टामा एक पटक खाना दिने गरेको उनले सुनाए । झरना प्राविको क्वारेन्टिनमा ९ दिन बस्दा निकै मोटाएको अनुभव उनले गरेका छन् ।

भन्छन्, यहाँको दाल, भात, तरकारी, अचार, वाइफाई, शौचालय, नुहाउने र लुगाधुने सुबिधा मेरो घरमा पनि छैन ।’

साविकको झरना प्राविको क्वारेन्टिनमा नेपाल लगायत भारतका विभिन्न ठाँउबाट घर फर्कने बसेका छन् । उनीहरु सबै सुरक्षा निकायलाई छल्दै यहाँ आईपुगेका हुन् । केहीलाई शिवसताक्षी नगरपालिकाले उद्दार गरि क्वारेन्टिनमा ल्याएको थियो ।

शिवसताक्षीमा हालसम्म ४५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएपछि नगर प्रमुख चन्द्रकुमार शेर्माले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र स्थानीय पत्रकारलाई धन्यवाद दिँदै भने, तपाईहरुको सपोर्टले शिवसताक्षीमा कोरोना भाइरस भाइरल हुन पाएको छैन ।’

उनले भारतीय सिमा क्षेत्रमा थप कडाइ गरे कोरोना भित्रन नपाउने बताए ।

आईतबार स्वाब संकलन गरी १ नम्बर प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । मंगलबार कोरोना नभएको रिपोर्ट आएपछि क्वारेन्टिनबाट बिदाइ गरिएको छ’, नगर प्रमुख शेर्माले भने, ‘उनीहरुलाई घरमा समेत सावधानी अपनाउन भनिएको छ ।’

दैनिक रूपमा जिल्ला भित्रिनेको संख्या बढिरहेकाले क्वारेन्टिन व्यवस्थापनमा चुनौती थपिएकोभन्दै शिवसताक्षीका सर्वसाधरणले स्थानीय तह र सरोकारवाला निकायले व्यवस्थापन गर्न अनुरोध गरेका छन् ।

क्वारेन्टिनको र बेड क्षमता विस्तार नगरे हालसम्मको उपलब्धि गुम्न सक्ने उनीहरुले बताएका छन् ।