लकडाउनभित्र कालो बजार फस्टायो, अनुगमन नहुँदा सर्वसाधारण जनता मारमा « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

लकडाउनभित्र कालो बजार फस्टायो, अनुगमन नहुँदा सर्वसाधारण जनता मारमा


यलम्वर टाइम्स
२५ जेष्ठ २०७७, आईतवार ०५:४६

फायल फोटो

अर्जुनधारा । कोरोना संक्रमणका कारण राज्यले लकडाउन गरेसँगै बजार अभाव देखाएर व्यापारीहरुले आफू खुशी मुल्य बनाई सामान बिक्री गरेको उपभोक्ताहरुको गुनासो छ ।

अर्जुनधारा नगरपालिकाभित्रका बजारहरुमा अनुगमन नभएको कारण उपभोक्ताहरुले यस्तो मार खेप्नु परेको गुनासो सञ्चार माध्यममा पोख्न आएका छन् ।

अर्जुनधारा नगरपालिकाले उपभोक्ताहरुलाई खाद्य तथा जिन्सी सामानमा सजिलो होस् भनी व्यापारी र तिनले प्रयोग गर्ने सवारी साधन समेत प्रदान गर्दै आएको थियो । तर साधन प्राप्त गर्ने व्यापारीले आफू खुशी सामान ओसार पोसार गरेको र केहीले आफ्नो गोदाममा राखेर मूल्य बढाएको हुँदा नगरले कडाईका साथ अनुगमन गर्नुपर्ने उपभोक्ताहरुको माग छ ।

बजारभन्दा पनि गाउँका पसलहरुमा बढी कालो बजार हुने गरेको गुनासो आउने गरेको छ ।

उपभोक्तासँग २५ प्रतिशत बढी मूल्य बढाई सामान बिक्री वितरण गरेको देखिन्छ । लकडाउनका कारण वडामार्फत पसल खोल्न अनुमति दिएको व्यापारीले सामान्य लक्स साबुन ४० रुपैयाँसम्म बिक्री वितरण गरेको, सलाईको बट्टा रु ५ र रु. १०० को रिचार्जलाई रु. ११० लिएको, ईसेवाबाट रिचार्ज गर्दा १५ रुपैयाँ बढी लिने गरेको उपभोक्ताहरुको भनाई छ ।

विशेष गरी बजारका दोकानभन्दा गाउँबस्तीका दोकानमा वडामार्फत अनुगमन नगर्दा गरिब उपभोक्ताहरु व्यापारीले आफू खुशी तोकेको मूल्यमा सामग्री खरिद गर्न बाध्य हुनुपरेको छ ।

अर्जुनधारा नगरका उपप्रमुख कमला खतिवडा आचार्यले यस्तो बेला कालो बजारी गर्ने व्यापारीलाई नियम अनुसार कारवाही गरिने प्रतिक्रिया दिए ।

वडालाई दिएको निर्देशन अनुसार र वडाले नै वडाध्यक्ष नेतृत्वमा अनुगमन समिति निर्माण गरि आफ्नो वडामा पर्ने बजार तथा स्थानीय पसलहरुमा अनुगमन गरे समस्या समाधान हुने उपप्रमुख आचार्यले बताइन् ।

बजारमा विभिन्न नाम गरेका अखाद्य वस्तुहरु समेत खुलेआम बिक्री वितरण भइरहेको छ । केही व्यापारीहरु कालो बजारीयाबाटै उस्किरहेको देखिन्छ । विभिन्न नामका सुर्तिजन्य सामग्री खुलेआम बिक्री वितरण भइरहेको छ ।

यस्तो बेला उद्योग वाणिज्य, चेम्वर अफ कर्मश र उपभोक्ता मञ्च सक्रिय हुनुपर्नेमा कानमा तेल हालेर बसे जस्तै भएको हुँदा सम्बन्धित निकाय चनाखो हुनुपर्ने सचेत उपभोक्ताहरुको भनाई छ ।

तथ्य र यकीन प्रमाण देख्न नसकिए पनि व्यापारी–व्यापारी बीचको भनाईबाट लकडाउनका समयमा केही कालो व्यापार भएको व्यवसाय गर्दै आएका एक व्यापारीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।