शनिश्चरे बजारमा खेलाची नगर्न विभिन्न संघसंस्थाको सुझाव « Yalambar Times
१६ बैशाख २०८१, आईतवार

शनिश्चरे बजारमा खेलाची नगर्न विभिन्न संघसंस्थाको सुझाव


यलम्वर टाइम्स
२६ जेष्ठ २०७७, सोमबार ०७:३९

क्वारेन्टिनबाट निस्किएकालाई सबैबाट निगरानी हुनुपर्ने स्वास्थ्यकर्मीको भनाइ

अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा संक्रमण देखापरेपछि बजारलाई कसरी सञ्चालन गर्दा सहजता हुन्छ भन्ने विषयलाई लिएर सोमबार बृहत छलफल भएको छ ।

वडाध्यक्ष गोपीचन्द्र गौतमको अध्यक्षतामा भएको छलफलमा बजारलाई नियन्त्रणभन्दा पनि नियम संगत सञ्चालन गर्न उपस्थित वक्ताहरुले सुझाव दिएका थिए ।

राज्यले खुला नगरेको सैलुन व्यवसायलाई अर्जुनधारामा खुला गरिदिँदा जोखिम बढ्ने हुँदा हप्तामा २ दिन सैलुन खोल्नुपर्ने कुरा उठेको थियो ।

यसरी नै उपभोक्ता सामान खरिद गर्न आउनेले प्रयोग गर्ने सवारीसाधानलाई शनिश्चरे बजार बाहिर नै पार्किङ राखेरमात्र उपभोग्य सामान खरिद गर्नुपर्ने, मास्क लगाएर आउनुपर्ने, खाजा होटललाई निश्चित समय दिनुपर्ने, कपडा पसल लगायत अन्य पसलको अगाडि अनिवार्य घेराबारा गरि सामान बिक्री वितरण गरिनुपर्ने, क्रेता र बिक्रेताको हात अनिवार्य ग्लोब्स हुनुपर्ने, ७ बजेदेखि ११ बजेसम्म मात्र पसल खुला रहनुपर्ने जस्ता सुझाव दिएका थिए ।

वडा नं. ८ ले आयोजना गरेको भेलामा दुरी कायम गरेर बैठक बसेको नदेखिए पनि सचेत व्यापारी, राजनीतिक दल, र सहकारी अभियान्ताहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा अर्जुनधाराका स्वास्थ्य प्रमुख मुकुन्द बस्नेतले भौतिक दुरी कायम नगरी शनिश्चरे बजारमा व्यवसाय सञ्चालन भएको हुँदा दुःख व्यक्त गर्दै अब आफै सचेत भइएन भने प्रत्येक व्यक्तिलाई कोरोना देखिने बताए ।

बस्नेतले अगािड भने, ‘क्वारेन्टिनबाट निस्किएका मानिसहरुलाई होम क्वारेन्टिनमा १४ दिन राख्नु अनिवार्य छ । तिनको रेखदेख छरछिमेक र वडाले निगरानी गर्न सकिएन भने त्यहीबाट कोरोना फैलिने निश्चित छ ।’

बैठकमा वाणिज्य संघका अध्यक्ष बसन्त सोमानी, सचिव चतुर्भुज काफ्ले, चेम्वर अफ कमर्शका अध्यक्ष पुष्प रेग्मी, सहकारीका कुसुम राई, पम्फा विक, केशव खड्का, राजनीतिक दलबाट मुक्ति सुवेदी, मनोज रैका मगर, सामुदायिक विद्यालयबाट टंकप्रसाद आचार्य, टोल विकास समितिका संयोजक गौरीशंकर श्रेष्ठ, प्रहरीबाट घनश्याम पाण्डे, युवा व्यवसायी प्रकाश श्रेष्ठ, पुष्प ओझा लगायतले आ–आफ्नो विचार राखेका थिए ।

छलफलमा वडा सदस्य सुशिला सुवेदी, सेवन्त ढकालको समेत उपस्थित रहेको वडा सचिव सस्मिता लुइटेलले यलम्वर टाइम्सलाई जानकारी दिए ।

वडामा उठेका कुराहरु नगरमा राखेर छलफल गरिने भएको कुरा वडाध्यक्ष गौतमले बताए ।