रुकुम घटना निष्पक्ष छानबिन नभए बिद्रोहः जनमुक्ति मञ्च साइप्रस « Yalambar Times
१६ बैशाख २०८१, आईतवार

रुकुम घटना निष्पक्ष छानबिन नभए बिद्रोहः जनमुक्ति मञ्च साइप्रस


यलम्वर टाइम्स
३० जेष्ठ २०७७, शुक्रबार ०६:००

[राज खम्बू]

झापा । गत जेठ १० गते रुकुममा भएको नरसंहारको चौतर्फी विरोध भइरहेको बेला राष्ट्रिय जनमुक्ति पार्टी निकट प्रवास शाखा जनमुक्ति मञ्च साइप्रसले पनि प्रेस विज्ञप्ति प्रकाशित गर्दै निन्दा र भत्सर्ना गरेको छ ।

अन्तरजातीय प्रेम सम्बन्धले निम्त्याएको घटनामा नवराज विक सहित सन्दीप विक, गणेश बुढा, गोविन्द शाही, लोकेन्द्र सुनार र टीकाराम सुनारको दुःखद निधनले मानवमाथिको बज्रपात गरेको ठहर छ ।

२१ औं शताब्दीमा अन्तरजातीय विवाहलाई दर्शाएर नरसंहार ढंगबाट हत्या गरिनु कथित तल्लो जातिमाथिको ठूलो बज्रपात हो ।

जनमुक्ति मञ्च साइप्रसले यस घटनामा निष्पक्ष छानबिनसहित न्यायोचित निर्णय हुन सकेन भने बिद्रोह हुन सक्ने चेतावनी समेत दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, समूहले नै योजनाबद्ध हत्याकाण्ड मच्याएर समाजलाई बबर्तामाथि ढकेल्ने काम गरेको छ ।

सामान्य कर्मकाण्डीय ढंगको छानविन र सजायले मात्र यो घटनाको क्षतिपूर्ति सम्भव हुने छैन भन्ने जनमुक्ति मञ्च साइप्रसको धारणा छ ।

यस्तो घटना र जघन्य अपराधको हकमा थप कठोर कानूनी कारवाही आवश्यक देखिन्छ । सयौं वर्षदेखि निरन्तर थिचोमिचोमा पारिदै आएको दलित समुदायको सामाजिक, राजनीतिक र आर्थिक हैसियत उकास्न राज्यले अझ पनि धेरै कमद चाल्न बाँकी नै रहेको यो चौरजहारी प्रकरणले पुष्टि गरेको पनि हाम्रो ठहर छ ।

जनमुक्ति मञ्च साइप्रसकी अध्यक्ष तारा राईले हस्ताक्षर गरेको विज्ञप्तिमा सरकारलाई भनिएको छ, घटनाको उच्चस्तरीय एवम् निस्पक्ष छानविन गरी दोषिलाई हदैसम्म सजाय, पीडित परिवारलाई उचित सद्भाव र सान्तवनाका लागि जोडदार माग गर्दछ ।

मञ्च यस्तो दर्दनाक पीडा सहन गरेर बस्नु हुने मृतकका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै अकालमा मृत्यवरण गर्नेहरु प्रति पनि श्रद्धाञ्जली अर्पण गरिएको छ ।