सरकारलाई कांग्रेसको पहिलो पटक जनस्तरबाट चेतावनी « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

सरकारलाई कांग्रेसको पहिलो पटक जनस्तरबाट चेतावनी


यलम्वर टाइम्स
२ असार २०७७, मंगलवार १०:२५

अर्जुनधारा । कोरोना संक्रमण देखिए यता नेपाली कांग्रेसले राज्य सत्ताबाट सञ्चालित व्यवहारलाई मुल्याङ्कन गर्दै पहिलो पटक जनस्तरबाट ज्ञापनपत्र बुझाउँदै चेतावनी दिएका छन् ।

मुलुकको दोस्रो ठूलो दलको रुपमा स्थापित कांग्रेसले देशभर जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै जनताको जीउ धन सुरक्षामा पहिलो प्राथमिकता दिन सुझाएका छन् ।

मौन ढंगबाट विभिन्न प्ले कार्डसहित ज्ञापनपत्र बुझाउन पुगेको कांग्रेसले १७ बुँदामा आधार बनाइ सुझाव समेत दिएका छन् ।

नेपाली कांग्रेस झापा सभापति उद्धव थापाले तीन पन्नाको बुँदागत मागहरु पढेर सुनाएका थिए ।

उनले झापामा १७७ जना संक्रमित भएको, १०९ जना निको भइ फिर्ता भएको जानकारी गराउँदै पीसीआर परीक्षण केन्द्र र कोराना उपचार अस्पताल झापामा नहुनु दुःख लाग्दो भएको बताए ।

प्रधानमन्त्री ओलीको गृह जिल्ला झापा भएको हुँदा आफ्नै जिल्लामा के कसो हुँदैछ भन्ने कुरासमेत हेक्का नहुनु र सर्वसाधारणलाई सेवा पुग्ने खालको सरकारको अस्पतालको स्तरोन्नति नहुनु यो भन्दा गैर जिम्मेवार अरु के हुन सक्छ र ? सभापति थापाले ज्ञापनपत्र बुझाउँदै प्रश्न गरे ।

उनले मेची अञ्चल अस्पताललाई प्रदेश सरकारले बजेट छुट्याएको भन्ने कुरा बाहिर आएको हुँदा चाडो अस्पताललाई स्तरोन्नति गरि जनताको सेवामा समर्पित हुन समेत सुझाए ।

ज्ञापनपत्रमा भनिएको छ, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको पीसीआर परीक्षण गरि आवश्यक सामग्रीको बन्दोबस्ता मिलाउन स्थानीय, प्रदेश र संघीय सरकारलाई समेत आग्रह गरेका थिए ।

ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानालाई प्रदान गरिएको थियो । रानाले उक्त ज्ञापनपत्र बुझ्दै सम्बन्धित निकायमा पुर्याइने समेत जनाए ।

भौतिक दूरी कायम नगरि मौन उपस्थित भएको भेलामा ‘भ्रष्टाचार सरकार मुर्दावाद’, ‘झापामा कोरोना अस्पताल बनाउँ’, ‘क्वारेन्टिनमा बलात्कार, ओली सरकारको उपहार’, ‘क्वारेन्टिन व्यवस्थित गर’ भन्ने नारा रहेको थियो ।

ज्ञापनपत्र बुझाउँन नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, सुधिरकुमार शिवाकोटी, सरिता प्रसाई लगायतको उपस्थिति रहेको थियो ।