सत्ताको मालिक बन्ने हो भने जनमुक्तिः उपाध्यक्ष येङ्देन « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

सत्ताको मालिक बन्ने हो भने जनमुक्तिः उपाध्यक्ष येङ्देन


यलम्वर टाइम्स
१८ भाद्र २०७८, शुक्रबार १२:२४

बिर्तामोड । राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश नं. १ का इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष प्रकाश येङ्देनले सत्ताको मालिक बन्नका लागि जनमुक्ति पार्टी एकमात्र विकल्प भएको बताएका छन् ।

बुधबार प्रदेश नं. १ को कार्यालयमा नवप्रवेशीहरुलाई सदस्यता तथा गोपनीयताको सपथ खुवाउँदै जनमुक्ति पार्टीको विधान नेपालको आदिवासीहरुको हितमा रहेको हुँदा यो विधानलाई कुल्चिएर गएमा पछुतो हुने बताए ।

नेपालमा आदिवासीका कुरा उठाउने प्रशस्तै दल भए पनि नीति र कार्यान्वयनमा पुर्याउने दल नभएको कारण जनमुक्तिको उदय भएको बताउँदै अब सचेत आदिवासी जनजातिमात्र होइन, अन्य जातिले पनि यस पार्टीले उठाएको मुद्दालाई अनुसरण गरे अगाडि बढेको खण्डमा चाँडै सत्ताको मालिक बन्न दुईमत रहने छैन ।

राजनीतिक जीवन भइन्जेल र ज्ञान रहिन्जेल गर्ने हो । चेतना हुँदाहुँदै पनि अरु दलको भर्याङ भइयो भने आउने सन्ततीले धिकार्ने छन्, उपाध्यक्ष येङ्देनले भने ।

अर्का अतिथि पार्टी सचिव गजेन्द्र आङबोहाङले विचारले उठ्दै गरेको पार्टी जनमुक्ति भएको बताए । स्थिर विचारसँगै पूर्ण अधिकार प्राप्तिका लागि समानुपातिक प्रतिनिधित्व एकमात्र समता अधिकारका लागि बाटो भएको हुँदा जनमुक्तिमा समाहित हुनु आजको आवश्यकता भएको बताए ।

उनले जातीय अस्तीत्व र पहिचान एकमात्र आदिवासी जनजातिहरुको अधिकार लिने बाटो भएको हुँदा सबै गोलबन्ध हुन आव्हान पनि गरे ।

प्रदेश उपाध्यक्ष केन्द्र लिङ्देनले वैकल्पिक शक्तिको आधारमा पार्टीलाई उभ्याउन युवाहरुको खाँचो रहेको बताए । सचिव कृष्णकुमार थेवेले ढिलोचाँडो आदिवासी जनजातिको मूल पार्टी जनमुक्ति हुने जोड दिए । जिल्ला सचिव पदम कन्दङ्वाले सञ्चालन गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि जनमुक्तिमा प्रवेश गरेका थिए ।

कार्यक्रममा आदिवासी नेता बैशागु राजवंशी, प्रदेश सदस्य दिलीप राई, भुपाल राना मगर, युवा मोर्चाका तेज योङहाङ, अर्जुनधारा नगर अध्यक्ष राज खालिङ, मानु सामेखाम, जितिहाङ ताप्मादेन लगायतले नवप्रवेशीहरुलाई शुभकामना दिएका थिए ।

नवप्रवेशीमा सन्तोष लिम्बू, हेम राई, याम योङहाङ, रामकुमार राई, सनम सेनेहाङ, महेशलाल सिंह, लक्ष्मण योङहाङ, प्रविण राई, सुरेश मगर, विविक गुरुङ र शुकहाङ लिम्बू रहेका छन् ।