नेकपा एमाले अर्जुनधाराको प्रथम अधिवेशनमा तीन जनाको प्रतिस्पर्धा « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

नेकपा एमाले अर्जुनधाराको प्रथम अधिवेशनमा तीन जनाको प्रतिस्पर्धा


यलम्वर टाइम्स
१० कार्तिक २०७८, बुधबार १३:३४

अर्जुनधारा । यतिबेला नेकपा एमाले स्थानीय तहको अधिवेशनमा जुटिरहेको छ । झापाका विभिन्न पालिकालाई हाक्नका लागि कतै सहमतिको बाटो खोजिदै छ भने कतै चुनावी भिडन्त हुने सम्भावना रहेका छन् ।

झापाको अर्जुनधारामा पनि यस्तै गरमागर्मी छाएको छ । नेकपा एमाले अर्जुनधारा नगर कमिटीलाई नेतृत्व गर्नका लागि तीन नेताले इच्छा देखाएका छन् ।

यस पटकको अधिवेशनबाट पार्टीलाई अगाडि बढाउनका लागि यसअघि नै अर्जुनधारा नगर कमिटीको नेतृत्व सम्हाली सकेका प्रेमसागर सापकोटाले पुनः अध्यक्ष पद दोहोर्याउने संकेत देखाएका छन् भने वडा नं. १० का वडाध्यक्ष समेत रहेका युवा नेता बलदेवसिंह गोम्देनले अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका छन् ।

त्यस्तै वडा नं. ६ का वडाध्यक्ष भएर नागरिकको काम गर्दै आएका लोकनाथ गौतमले पनि नेतृत्व सम्हाल्ने इच्छा देखाएका छन् ।
पार्टीलाई नेतृत्व प्रदान गर्नका लागि तीन प्रत्यासी रहे पनि सम्भव भएसम्म सर्वसम्मतबाट टुङ्गो लगाइने पार्टी स्रोतले जनाएको छ ।

यस्तै उपाध्यक्षमा तुलसी श्रेष्ठ, चन्द्रकला राई, रेजिना पाण्डे, खगेन्द्र इङ्नाम, दिलबहादुर सारु, लोकमान श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् ।

पार्टीको सचिवमा नारायणप्रसाद पराजुली, लभकुश गौतम, राजेशकुमार आचार्यले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै उपसचिवमा जनकलाल चम्लगाई, देवकुमार राई, कमलादेवी भण्डारी, दिलीप गुरुङ, राजकुमार महतारा, माधवप्रसाद आचार्य, सरीता भण्डारीको उम्मेद्वारी परेको छ ।

सदस्यका लागि भने पत्रकार विशाल नेम्वाङ (चुडामणि)सँगै ६१ जनाको उम्मेद्वारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।