दमकमा पार्टी हितविपरीत काम गर्ने नेतालाई ‘रातो कार्ड’ « Yalambar Times
१७ बैशाख २०८१, सोमबार

दमकमा पार्टी हितविपरीत काम गर्ने नेतालाई ‘रातो कार्ड’


यलम्वर टाइम्स
२० माघ २०७८, बिहीबार १०:१२

दमक, २० माघ । नेकपा (माओवादी केन्द्र) दमकले पहिलो पटक संगठनमा मूल्यांकन पद्धतिको सुरुवात गरेको छ ।

केही दिनअघि एक वर्षे कार्ययोजना पारित गर्दै संगठन सुदृढिकरणमा लागेको माओवादीले मूल्यांकन पद्धतिको सुरुवात गरेको छ ।

पार्टी हित विपरीत काम गरेको भन्दै पार्टीका नेता नरहरि दाहाललाई ‘रातो कार्ड’ दिने निर्णय गरेको हो ।

पार्टीको दमक नगर पूर्वअध्यक्ष तथा तत्कालीन कोचिला राज्य समिति सदस्यसमेत भइसकेका दाहाललाई बिहीबार बसेको पार्टी नगर सचिवालय बैठकले ‘रातो कार्ड’दिएको अध्यक्ष रवि बस्नेतले जानकारी दिए ।

दमक–३ स्थित हंसेदुम्से सामुदायिक वनको चुनावमा पार्टीले गरेको गठबन्धनविरुद्ध कोषध्यक्ष पदमा उम्मेदवारी दिएपछि दाहाललाई वाार्षिक कार्ययोजना मूल्यांकनको आधारमा ‘रातो कार्ड’ दिएको अध्यक्ष बस्नेतले बताए ।

यो माओवादी केन्द्र दमकको नयाँ अभ्यास हो । विगतमा मूल्यांकन पद्धति नहुँदा पार्टीमा अराजकता र निरासा बढेको अध्यक्ष बस्नेतको बुझाइ छ । उनलाई स्पष्टिकरण सोध्ने निर्णयसमेत भएको उनले बताए ।

‘उहाँले पार्टीको उम्मेदवारलाई असहयोग गर्नुभयो । उहाँको पार्टी सदस्य किन खारेज नगर्ने भनेर स्पष्टिकरण सोध्ने निर्णय भएको छ,’ अध्यक्ष बस्नेतले भने ।

माओवादी केन्द्र दमकले प्रत्येक महिना र वाार्षिक रूपमा वडाहरूको कामको मूल्यांकन गरी पुरस्कृत गर्ने कार्ययोजना पास गरेको छ ।

पार्टी कमिटीमा आबद्धलाई कार्यप्रगतिका मूल्यांकनसँग सम्बन्धित भएर हरियो, पहेँलो र रातो कार्डको व्यवस्था गर्ने अध्यक्ष बस्नेतले जानकारी दिए ।