कांग्रेसको प्रभुत्व बढ्दै गरेको अर्जुनधारा « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

कांग्रेसको प्रभुत्व बढ्दै गरेको अर्जुनधारा


यलम्वर टाइम्स
९ फाल्गुन २०७८, सोमबार ०८:५३

अर्जुनधारा । नेकपा एमाले विभाजनपछि अर्जुनधारामा राजनीतिक माहोल छुट्टै बनेर आएको छ । विभाजनकै मौका छोपी कांग्रेसले साना दलहरुसँग मिलेर विभिन्न संघसंस्थामा आफ्नो प्रभुत्व देखाउन थालेको देखिन्छ ।

विभाजनकै असर हो, जुकेखाडी सामुदायिक वनमा नेपाली कांग्रेसको नेतृत्व बन्नु । संविधान सभाका सदस्य माननीय प्रेम गिरी बसेको क्षेत्रमा कांग्रेसले जनमुक्तिसँग नजिकिएर एमालेको वर्चश्व रहेको जुकेखाडी सामुदायिक वनमा सहज जीत हासिल गर्यो । त्यसमा समाजवादीको पनि साथ रह्यो ।

यसरी नै अर्जुनधाराकै वडा नं. १ अन्तर्गत हचुमासा सामुदायिक वनमा पनि कांग्रेस नै अग्रसर भएको पाइन्छ । त्यस क्षेत्रमा कांग्रेस, जनमुक्ति लगायतको एकता भएको थियो ।

जुकेखाडी सामुदायिक वन र हचुमासा सामुदायिक वनको अध्यक्षमा कांग्रेसको कहिल्यै पनि दर्बिलो उपस्थिति थिएन । तर एकतापछि दुवै क्षेत्रमा कांग्रेसको वर्चश्व देखापरेको छ । त्यसो त कांग्रेससँगको एकतामा अन्य दलहरु पनि थिए ।

पछिल्लो पटक अर्जुनधारा–७, ८, ९, ६ र ५ लाई समेटिएको शनिश्चरे खानेपानी सरसफाई उपभोक्ता समूहमा पनि कांग्रेसकै वर्चश्व बढेर आएको निर्वाचन प्रक्रियाले देखाएका छ ।

उक्त समिति निर्माणका लागि नेपाली कांग्रेससँग, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माओवादी र समाजवादीको संयुक्त प्यानल रहेको थियो । उता एमालेसँग राप्रपा लगायतका स्वतन्त्र मतहरु थिए ।

दुई पक्षको चुनावी भिडन्तमा नेपाली कांग्रेसको सहज विजय भएको निर्वाचन परिणामले दर्शाएको छ ।

नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका किरण शिवाकोटीले ५६९ ल्याए भने उनका प्रतिद्वन्दी रुद्रबहादुर न्यौपानेले १८९ मत प्राप्त गरे । यो अर्थमा पनि कांग्रेसको वर्चश्व अर्जुनधारामा देखिदै आएको छ ।

खानेपानीका उपाध्यक्षमा किरण वन, सचिवमा राकेश ढकाल, सहसचिव शान्तिदेवी राई, सदस्य देवकला प्रसाई, सरु बुढाथोकी, तुलाराम दाहाल, दिपेन्द्र फुयाँल, राजेन्द्रप्रसाद काफ्ले लगायत विजयी भएका छन् ।

यसरी नै खुदुनाबारी–अर्जुनधारा खानेपानीमा मिलिजुली समिति निर्माण भएको छ । कांग्रेसले अध्यक्षको दाबेदारी गर्न नसक्दा एमालेलाई सजिलो भएको हो ।

खानेपानीको अध्यक्षमा एमालेका विष्णुप्रसाद प्रसाई, उपाध्यक्ष माओवादीका पूजा खड्का, सचिव कांग्रेसका मदन दनुवार, सहसचिवमा समाजवादीका कल्पना लम्साल र कोषाध्यक्षमा राप्रापाका ओमबहादुर ढकाल चुनिएका छन् ।