एमसीसी पास गरेर विदेशीको गुलाम नहुन अनुरोध « Yalambar Times
१७ बैशाख २०८१, सोमबार

एमसीसी पास गरेर विदेशीको गुलाम नहुन अनुरोध


यलम्वर टाइम्स
९ फाल्गुन २०७८, सोमबार ०९:२४

काठमाण्डौ । राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषदले माईतीघर मण्डलमा एक कार्यक्रम गर्दै अमेरिकन परियोजना एमसीसीलाई पास गरेर विदेशीको गुलाम नहुन सरकारलाई अनुरोध गरेको छ ।

नेपालको सार्वभौम सत्तामा बाह्य शक्ति खेल्न थाल्यो भने अस्तीत्व नै सखाप हुने र भू–राजनीतिमार्फत विश्व शक्तिशाली राष्ट्रको खेलौना बन्ने हुँदा एमसीसी परियोजनालाई पास गर्न नहुने बताएका छन् ।

कार्यक्रममा कार्यकर्ताले शान्तिपूर्ण ढंगबाट ‘नो एमसीसी’ लेखिएको पोस्टर छातीमा राख्दै करिब १० घण्टा विरोध प्रदर्शन गरेको पार्टी कोषाध्यक्ष मानकुमार राईले जानकारी दिए ।

‘जनता जागौं’ अभियान अन्तर्गत गरिएको विरोध प्रदर्शनमा पार्टी कार्यकारी अध्यक्ष केशव सूर्यवंशीको छातीमा ‘विदेशी हस्तक्षेप बन्द गर’ केन्द्रीय अध्यक्ष केपी पालुङ्वाको छातीमा ‘नो एमसीसी’ को प्ले कार्ड टाँसिएको थियो ।

यस्तै महिला विभाग प्रमुख कमला थापाले ‘राष्ट्र घाती एमसीसी खारेज गर’ भनी लेखिएको प्ले कार्डसहित विरोधमा उत्रेका थिए ।

विरोध प्रदर्शनमा बरिष्ठ उपाध्यक्ष मोहन धिमाल, महासचिवत्रय पदम जवेगु, टोप अस्लामी, रामु परियार, कोषाध्यक्ष मानबहादुर राई, उपाध्यक्ष तथा हिमाली नेता प्रकाश येङदेन, मैना बराइली, डा. हाजी मोहम्मद, मुस्लिम युवा नेता मोजीप अली, गजेन्द्र आङबोहाङ लगायतका नेता कार्यकर्ता उत्रिएका थिए ।

जिल्ला प्रशासनमा ज्ञापनपत्र चढाइने

राष्ट्रिय जनमुक्ति पार्टीले मुलुकका सबै जिल्लाहरुमा ‘जनता जागौं’ अभियान अन्तर्गत फाल्गुन ११ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएका छन् ।

एमसीसी परियोजना लागू नगर्न अनुरोध गर्दै प्रत्येक जिल्लाले ज्ञापनपत्र बुझाउने र कोणसभा गर्ने भएको जनाएका छन् ।
यसै अन्तर्गत जनमुक्ति पार्टी झापाले पनि शान्तिपूर्ण ज्ञापनपत्र बुझाउन लागेको पार्टी अध्यक्ष भावनी विक्रम सेलिङले जानकारी दिए ।

यसरी नै २१ गते प्रदेश १ को राजधानी विराटनगरमा पनि सभा गर्ने भएको बताइएको छ ।

पार्टी कार्यालय सुरुङ्गामा आयोजित बैठकमा प्रदेश १ का अध्यक्ष पर्शुराम मगर, सचिव कृष्णकुमार थेवे लगायतले एमसीसीका विषयमा आफ्नो धारणा राख्दै अमेरिकन परियोजना लागू भए विकासका नाममा विदेशी हस्तक्षेपसँगै उनीहरुको शक्ति प्रदर्शन हुने थलो बन्ने सुझाए ।