एमसीसी लागू भए मौलिक अधिकार र पहिचान गुम्नेः उपाध्यक्ष बलदीप (फोटो फिचरसहित) « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

एमसीसी लागू भए मौलिक अधिकार र पहिचान गुम्नेः उपाध्यक्ष बलदीप (फोटो फिचरसहित)


यलम्वर टाइम्स
११ फाल्गुन २०७८, बुधबार १२:४७

[राजन साम्पाङ]

भद्रपुर । राष्ट्रिय जनमुक्ति पार्टीका उपाध्यक्ष बलदीप राईले अमेरिकी सहयोग परियोजना (एमसीसी) मुलुक र जनताको हित विपरीत भएको सन्देश झापावासीलाई दिएका छन् ।

आत्याधिक आदिवासी जनजाति, भूमिपुत्र मूलबासीको संघन थलो भएको झापामा एमसीसी के हो ? यसले पार्ने असरबारे अवगत नगराइएको अवस्थामा उपाध्यक्ष राईले एमसीसी पारित गरि लागू गरे नेपालको मौलिक अस्तीत्वमा अमेरिकाको राज हुने बताए ।

‘जनता जागौं’ अभियान अन्तर्गत आज बुधबार पार्टीले आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै बौद्धिक व्यक्तित्व समेत रहेका उपाध्यक्ष राईले एमसीसी परियोजना आफैमा विवादास्पद र भू–राजनीतिक खेल मैदान हुने जसले मौलिक अधिकार र पहिचान संरक्षण गुम्ने भएको हुँदा पास नगर्न ठूला दल कांग्रेस र एमालेलाई आग्रह गरे ।

हाम्रो सुझाव स्वीकार्न सकेनन् भने आउदो चुनावमा कांग्रेस र एमालेलाई प्रश्न गर्दै ती दलहरुसँग सावधानी अपनाउनु पर्ने दिन आएको बताए ।

कोणसभामा उपाध्यक्ष राईले देशका ठूला दलका केही नेताहरुको क्षणिक लोभका कारण एमसीसी लागू गराए सार्वभौम सम्पन्न राज्यको कुनै अस्तीत्व नरहने र मुलुक उपनिवेशको सिकार हुने बताए । उनले सहयोगको बहानमा ल्याएको एमसीसी अमेरिकाको विस्तारवाद नीति भएको बताए ।

‘एकले अर्कालाई सहयोग गर्न पाइन्छ तर, सहयोगको बहानमा स्वाधिनतामाथि आँच आउने काम भने गर्नुहुन्न’ उनले अगाडि भने, ‘सहयोग नै गर्नुछ, नेपाललाई समृद्ध नै बनाउनु छ भने यहाँ उत्पादित वस्तुको बजारीकरण गर्ने अवसर दिनुपर्छ ।’

चन्द्रगढी लेखनाथ चोकबाट सुरु गरिएको र्याली महेन्द्रपार्क हुँदै जिल्ला प्रशासन कार्यालय परिषरमा पुगि कोणसभामा परिणत भएको थियो ।

जिल्ला अध्यक्ष भावनी विक्रम सेलिङको सभापतित्वमा भएको कोणसभामा महिला नेतृ मीना पन्धाक, शान्तिदेवी राई, प्रदेश अध्यक्ष पर्शुराम मगर, महिला मोर्चाकी केन्द्रीय सचिव रीना मगर, प्रदेश सदस्य दिलीप राई, जिल्ला सचिव पदम कन्दङ्वा, भुपाल राना, राज खम्बू, मानु साम्मेखाम, भद्रपुरका युवा नेता सन्तोष लिम्बू लगायतका नेताहरुको आतिथ्य रहेको थियो ।

जिल्ला अध्यक्ष सेलिङ, प्रदेश अध्यक्ष पर्शुराम मगर लगायतले प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा एमसीसी परियोजना लागू भए स्वाधिन नेपाल र नेपालीहरुको स्वाभिमानमाथि आँच आउने भएकाले सम्झौता अबिलम्ब खारेज गरियोस् भनिएको छ ।