अर्जुनधारा नगरपालिकामा चुनावी चर्चा, कसको अवस्था कस्तो छ ? « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

अर्जुनधारा नगरपालिकामा चुनावी चर्चा, कसको अवस्था कस्तो छ ?


यलम्वर टाइम्स
६ बैशाख २०७९, मंगलवार ०८:२९


अर्जुनधारा । ०७४ को मत परिणामलाई मूल्यांकन गर्ने हो भने स्थानीय तह अन्तर्गत अर्जुनधारा क्षेत्रमा नेकपा एमालेको बाहुल्यता भएको देखिन्छ । तर पार्टीभित्रको सत्ता सञ्चालनको भागवन्डा नमिलेपछि विभाजनको बाटोमा दौडिएको नेकपा एमालेलाई यो पटक भने निकै मुस्किल देखिने अनुमान गर्न सकिन्छ । यद्यपी विभाजनको चपेटा व्यहोरिरहेको एमालेले साना राजनैतिक दललाई समेटेर लैजान सक्यो भने पुरानो वर्चश्व पुनः कायम गर्न सक्ने अवस्था पनि छ ।

यता सत्ता साझेदार गठबन्धन दलहरु पनि यसपटक एमालेको वर्चश्वलाई भत्काउने दाउमा देखिन्छन् । संगठन, संरचना र सत्ता बाहिरका ससाना दलहरुलाई मिलाउन सके भत्काउन त्यति कठिन नहुने गठबन्धनभित्रका एक नेताले भने । गठबन्धनकै अर्जुनधारा क्षेत्रको नेपाली कांग्रेस प्रमुख, उपप्रमुख र निर्वाचित वडा र केही जीत नजिक पुगेका वडालाई आफ्नो पक्षमा मिलाएर जाने भएका छन् ।

गठबन्धनभित्रकै नेकपा माओवादी भने अर्जुनधारामा उपप्रमुख र केही वडा आफ्नो पक्षमा भए गठबन्धन अझ मजबुद हुने बताउँदै आएका छन् । उता नेकपा समाजवादी पनि आफ्नो हैसियत राख्ने पक्षमा कडा अभ्यास गर्दै आएको छ । जनता समाजवादी भने त्यति चर्चामा आएको पाइदैन ।

सत्ता गठबन्धन बाहिरका राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (लिङ्देन) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (थापा) पनि अर्जुनधारमा सक्रिय छ । यद्यपी राप्रपा विभाजनले गर्दा राष्ट्रिय जनमुक्ति पार्टी अर्जुनधारामा चौथोे शक्तिको रुपमा आफूहरु भएको दाबी गर्छन् ।

नेकपा एमालेलाई इमान्दारी साना दल मध्ये राष्ट्रिय जनमुक्ति पार्टी, राप्रपा (लिङ्देन) र राप्रपा नेपाल (थापा) ले साथ दिए जीत सजिलै हाँसिल गर्न सकिने अनुमान गर्दै आएका छन् । त्यसैले नेकपा एमालेसँग मिलेर जान एमाले नेताले जनमुक्तिलाई पटक–पटक आग्रह गर्दै आएको छ ।

एमालेको आग्रहलाई जनमुक्ति पार्टीले पनि अस्वीकार गरेको छैन तर पद भने थोरै दिने भनाईले जनमुक्ति पार्टी ससंकित भएको नगर अध्यक्ष राज खम्बूले बताए ।

नगर अध्यक्ष खम्बूका अनुसार जनमुक्तिको बटम लाईन अर्जुनधारा क्षेत्रमा २ वटा बोर्ड सदस्य र ११ वटै वडामा वडा सदस्यको माग गरिएको छ । उक्त माग पूरा गरिदिए जोसँग पनि मिलेर जान सक्ने बताएका छन् ।

यता राप्रपा राजेन्द्र लिङ्देन समूह र कमला थापा समूहले पनि समीकरण भए वडा–वडामा सदस्य पद नछाड्ने भएका छन् । गठबन्धनभित्र नेपाली कांग्रेस पार्टीले कसरी मिलेर जाने भन्ने विषयमा चर्चा चलाइरहँदा राष्ट्रिय जनमुक्ति पार्टीसँग तीन–तीन पटक छलफल गरेको उल्लेख छ । कांग्रेसलाई पनि जनमुक्तिले आफ्नो बटम लाईन बताइदिएको छ ।

अर्जुनधाराको प्रमुखको पदमा नेकपा एमालेका एक मात्र उम्मेद्वार युवा नेता बलदेवसिंह गोम्देनलाई उभ्याएको छ । एकमात्र उम्मेद्वार गोम्देन भएपछि कार्यकर्ताहरु सर्वसाधारणमाझ घरदैलो अभियान गर्दै हिंडेका छन् । नेपाली कांग्रेसले उम्मेद्वारी टुंगो नलगाए पनि शुक्रबार मतदानबाट नगर प्रमुख पदको उम्मेद्वार चुनिसकेका छन् ।

केन्द्रले नाम लिस्ट पठाउनु भनेपछि शुक्रबार तीन जानको नाम अग्रपंक्तिमा आएको थियो । पार्टीको आन्तरिक निर्वाचनमा महिला नेतृ तथा अधिवक्ता रञ्जीता कार्कीले पहिलो मत (४५), दोस्रो तरुण नेता मदन बुढाथोकीले ४० मत र तेस्रोमा पार्टी नगर सभापति हेमराज खरेलले ३५ मत प्राप्त गरेका थिए ।

त्यस्तै चौथो भएका भरत बुढाथोकीले ३२, पाँचौ सरस्वती सिटौलाले २८ मत प्राप्त गरेका थिए । अर्जुनधाराकै साना दलहरुमा मंगोल नेशनल, संघीय लिम्बूवान पार्टी, परिवार दलको चर्चा भने त्यति आएको छैन ।