गठबन्धनबाट दुइ दल बाहिरिए « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

गठबन्धनबाट दुइ दल बाहिरिए


यलम्वर टाइम्स
११ बैशाख २०७९, आईतवार १०:३८

बिर्तामोड । सत्ता गठबन्धनको साझेदार दल नेकपा एकीकृत समाजवादी झापामा एक्लै चुनावी मैदानमा उत्रिने भएको छ ।

भागवण्डामा सहमति नजुटेपछि समाजवादी गठबन्धनबाट बाहिरिएको हो । उसले सबै पालिकामा आफ्नो उमेद्वार सार्वजनिक गरेको छ ।

सहमति नहुने देखेर आफूहरु गठबन्धनबाट बाहिरिएको नेकपा समाजवादीका जिल्ला अध्यक्ष वेदराज रेग्मीले बताए ।

उनले अस्ति गरिएको सहमतिभन्दा पछि हटेर आफूहरुलाई अपमान गर्न खोजिएको बताए ।

समाजवादीले चारवटा उपप्रमुख मागेकोमा कांग्रेस र माओवादीले मुस्किलले एउटा उपप्रमुख र चारवटा वडाध्यक्ष मात्र दिन खोजेपछि चित्त नबुझेर आफूहरु छोडेर हिँडेको उनले बताए ।

गठबन्धनमा सहमति नभएपछि नेकपा समाजवादीले १५ पालिकामा उम्मेदवारी दिने तयारी गरेको प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिए ।

उम्मेद्वारको टुंगो नलागेपछि आफूहरुले पनि तयारी शुरु गरेको जसपाका जिल्ला अध्यक्ष दिपेनवाला राईले बताए ।

आफूहरुले एउटा उपमेयर र नौ वटा वडाध्यक्ष दावी गरेकोमा कांग्रेस र माओवादीले ५ वटा वडाध्यक्ष दिन खोजेको राईले बताए ।

कांग्रेस र माओवादीले आन्तरिक सहमति गरेर नेकपा समाजवादी र जसपालाई बाइपास गर्न खोजेको उनीहरुको बुझाई छ ।