अर्जुनधारामा कुन–कुन दलले उम्मेद्वारी दर्ता गराए ? « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

अर्जुनधारामा कुन–कुन दलले उम्मेद्वारी दर्ता गराए ?


यलम्वर टाइम्स
१२ बैशाख २०७९, सोमबार १३:५५

अर्जुनधारा । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले अर्जुनधाराले उत्साहित रुपमा उम्मेद्वारी दर्ता गरेका छन् ।

कसैसँग गठबन्धन नगरी उठेको एमालेलाई उम्मेद्वारी दर्तासम्म पुग्दा उत्साहित देखिन्थ्ये । तर उम्मेद्वारी दर्तासँगै वडा नं. २ मा भने एक जनाको बाघी उम्मेद्वार परेको बताइन्छ ।

उम्मेद्वार दर्ता गर्नुअघि सन्थाल नृत्य र सयौं कार्यकर्ता बीच आयोजित कार्यक्रम र्यालीमा परिणत गर्दै कोणसभा समेत आयोजना गरेका थिए ।

कोणसभामा सञ्चालक कमल गुरागाईले नगर प्रमुख पदका उम्मेद्वार बलदेवसिंह गोम्देन र उपप्रमुख खड्गमाया पराजुलीको नाम उद्घोष गर्दा उपस्थित कार्यकर्ताले तालीले स्वागत गरेका थिए ।

शनिश्चरेको देवकोटा चोकमा आयोजित कार्यक्रममा एमाले झापा जिल्ला इन्चार्ज अग्नी खरेल, माननीय पवित्रा खरेल, प्रदेश सांसद बृख प्रधान, नगर प्रमुख हरिकुमार राना, पार्टी जिल्ला उपाध्यक्ष प्रेमबहादुर गिरी लगायतले विजयको अग्रीम शुभकामना व्यक्त गरेका थिए ।

यसरी नै गठबन्धनभित्रका नेकपा माओवादीले पनि आफ्नो कार्यकर्ता बीच भागमा परेको उपमेयर जितेन योञ्जन र वडा नं. १० का वडाध्यक्ष नारद दुखीलाई लिएर निर्वाचन कार्यालयमा पुगेका थिए ।

पार्टी नेतृ धर्मशिला चापागाई र सरु न्यौपानेको अगुवाईमा पुगेको माओवादीले आफ्नो पक्षमा रहेका उम्मेद्वारहरुको मनोनयन दर्ता गरेका थिए ।

उत्साहित मनका साथ मनोनयन दर्ता गर्न पुगेका महिला नेतृ सरुले भनिन्, ‘गठबन्धनमा तुसारोपन आएन भने हाम्रो जीत निश्चित हुनेछ ।’

यसरी नै गठबन्धनभित्रका राष्ट्रिय जनमुक्ति पार्टीले पनि कार्यकर्ता बीच आफ्नो उम्मेद्वार दर्ता गर्न निर्वाचन आयोगमा पुगेका छन् ।

महिला नेतृ मीना पन्धाक र प्रदेश सचिव कृष्णकुमार थेवेको अगुवाईमा गएको उम्मेद्वारी दर्तामा गठबन्धनबाट वडा नं. १ का वडा सदस्यका उम्मेद्वार अगम येक्तेन, वडा नं. २ का वडा सदस्य मन्धरा दर्जी, वडा नं. ३ का वडा सदस्य टीकामाया गुरुङ र वडा नं. ४ का वडा सदस्य तेजबहादुर योङहाङको मनोनयन दर्ता भएको नगर इन्चार्ज दिलीप राईले जानकारी दिए ।

दर्ता प्रक्रियामा अगाडि बढेको जनमुक्तिका युवा नेता भुपाल रानाले गठबन्धनमा इमान्दारीता कायम भए विजय निश्चित हुने प्रतिक्रिया दिए ।

यसरी नै गठबन्धनका अगुवा नेपाली कांग्रेसले पनि मेयरसहित आफ्ना उम्मेद्वारहरुको मनोनयन दर्ता गरेको छ ।

गठबन्धन अन्तर्गत नेपाली कांग्रेसको भागमा परेको नगर प्रमुख पदको प्रत्यासीमा उम्मेद्वारमा रञ्जीता कार्की रहेकी छिन् भने वडा नं. ७ मा वडाध्यक्षका लागि २ जनाले उम्मेद्वारी दिएका छन् । नेपाली कांग्रेसले भने ७ नं. मिलाएरै लाने प्रतिक्रिया दिए ।

नगर प्रमुखको पदमा एकमात्र महिला उम्मेद्वार परेको हुँदा नेपाली कांग्रेस उत्साहित भएको सचिव इन्दिवर खड्काले प्रतिक्रिया दिए ।

यसरी नै नेकपा एकीकृत समाजवादीले पनि उम्मेद्वार दर्ता गराएको छ । अर्जुनधाराको नगर प्रमुखमा रमा खवास र उपप्रमुखमा प्रेमसागर सापकोटाको उम्मेद्वारी रहेको पार्टी युवा नेता प्रत्युष रानाले बताए ।

यसअघि आईतबार राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेद्वार दर्ता गराएका छन् । पहिलो पटक उत्साहित हुँदै सूर्य खतिवडाको अगुवाईमा उम्मेद्वार दर्ता गराएका हुन् ।