समृद्धि र रुपान्तरणको पक्षमा मेरो उम्मेद्वारीः राना « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

समृद्धि र रुपान्तरणको पक्षमा मेरो उम्मेद्वारीः राना


यलम्वर टाइम्स
२५ आश्विन २०७९, मंगलवार ११:३२

बिर्तामोड । प्रतिनिधिसभा झापा क्षेत्र नं. २ का उम्मेद्वार हरिकुमार रानाले एमालेभित्र आशा, विश्वास, सद्भाव र सम्भावनाको राजनीति नदेखिएपछि समृद्धि र रुपान्तरणका पक्षमा रहेको गठबन्धनको समर्थनमा आफू साझा उम्मेद्वार बनेको बताएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य आम निर्वाचनको प्रचार–प्रसारका लागि गठित २ नं क्षेत्रस्तरीय प्रचार–प्रसार समितिको भेलामा सञ्चारकर्मीसँग बोल्दै उम्मेद्वार रानाले सम्भावनाभन्दा बढी निषेधको राजनीति देखिएको धारणा राखेका हुन् ।

‘राजनीतिमा आशा, विश्वास, सद्भाव र सम्भावना हुन्छ’, रानाले दोहो¥याए, ‘मैले आफ्नो ऊर्जाशिल समय नेकपा एमालेको संगठन बनाउनमै खर्चिएँ । पार्टीले बाटो विराउँदा २०५४ सालमा भएको महाकाली सन्धीदेखि संसद विघटनसम्मका मुद्दामा आफ्नो असहमति राख्दै आएँ । अहिले उक्त पार्टीको गाडीले बाटो बिराएपछि गठबन्धनमार्फत नै समृद्धिका मुद्दा सम्बोधन हुने देखेर म साझा उम्मेद्वार बनेको हुँ ।’

एमालेतर्फ लक्षित गर्दै रानाले काठमाडांै जान हिडेको सवारी साधन बाटो बिराएर धनकुटातर्फ लागेपछि आफूलाई उक्त सवारीमा सयर गर्नु अनुचित लागेको भनाइ राखे ।

के.पी. शर्मा ओलीको निरंकुश ढंगले शासन सञ्चालन गर्ने पद्धतीले देशभरका जनता पीडित बनेको बताउँदै उम्मेद्वार रानाले सोही निरंकुशता र पार्टीभित्रैका कतिपय कार्यकर्तालाई गरेको अपमानजन्य ब्यवहारकै कारण उक्त पार्टीबाट बाहिरिएको भनाइ राखे ।

अब आस्था, विचार र विधिको परिवर्तनका लागि नभई जनताको गाँस, बास, कपास, रोजगारी र समृद्धिका लागि कार्य गर्ने समय आएको बताउँदै उनले समग्र देश र जनताको समृद्धिका लागि लोकतान्त्रिक–बाम गठबन्धनले काम गर्ने देखेर नै आफू यसतर्फ आकर्षित भएको धारणा राखे ।

उनले प्रतिगमन र निरंकुशता परास्त गदै समृद्धिका सपना पुरा गर्न गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन पनि जनतासमक्ष अपिल गरे ।

लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन प्रचार–प्रसार समितिका संयोजक कृष्ण हुमागाईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सहसंयोजक तीर्थ सिग्देलले गरेका थिए ।

गठबन्धन दलका तर्फबाट झापा क्षेत्र नं–२ अन्तर्गत प्रदेश ‘क’ मा नेकपा समाजवादीका पुष्प पोखरेल र २ ‘ख’ मा नेपाली कांग्रेसका खगेन्द्र मैनालीको उम्मेद्वारी रहेको छ ।